शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकर्ताले फुकाए ‘गुनासाका पोका’, नेताहरु बने ‘नाजवाफ’

शनिबार, ०४ जेठ २०७६, ११ : ११
शनिबार, ०४ जेठ २०७६

काठमाडौँ– राष्ट्रिय जागरण अभियानमा खटेका काँग्रेस केन्द्रीय प्रतिनिधिलाई कार्यकर्ताहरुले नेतृत्वको कार्यशैली, सङ्गठन निर्माण र नेता कार्यकर्ताबीचको सम्बन्धका बारेमा चर्को आलोचना गर्दै गुनासाका पोका खोलेका छन् । जसअनुसार खटाइएका प्रतिनिधिहरुलाई जिल्ला कार्यसमितिको आयोजनामा पुराना र अग्रज नेताहरुसँग पार्टीको समग्र सन्दर्भमा छलफलमा गरी महत्त्वपूर्ण सुझाव सङ्कलन गर्न, जनता काँग्रेसबाट के चाहन्छन् ? जस्ता प्रश्नको जवाफसहित लिखित प्रतिवेदन बुझाउन भनिएको छ ।

यसका लागि खटिएका नेताहरुलाई कार्यकर्ताले पार्टीभित्रको गुटगत खिचातानी अन्त्य गरेर कार्यकर्ता जागृत पार्न नेताहरु नै असफल भएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् साथै उनीहरुले पार्टी सञ्चालन र प्रमुख प्रतिपक्षीको भूमिकाप्रति पनि असन्तृष्टि पोखेको प्रतिनिधिहरु बताउँछन् । 

काँग्रेस देशव्यापी रूपमा राष्ट्रिय जागरण अभियानमा छ । गत वैशाख २५ गतेबाट सुरु पहिलो चरणको अभियान जेठ २५ गतेसम्म जारी रहनेछ । 

सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि ल्याएको नीति तथा कार्यक्रम र प्रि–बजेटमाथिको छलफलका कारण पार्टीको केन्द्रीय तहमा रहेका सांसद भने सक्रिय रूपमा अभियानमा संलग्न हुन नसकेको बताइएको छ । 

जागरण अभियानमा रहेका केही नेताहरुसँग रातोपाटीले कार्यकर्ताका सुझाव कस्ता कस्ता पाउनुभयो भनेर प्रतिक्रिया लिएको छ । प्रस्तुत छ उनीहरुको भनाइ जस्ताको त्यस्तै :

नेतृत्वमा जागरण खोजे : शेखर कोइराला 
कार्यकर्ताले जागरण हामीलाई होइन, नेताहरुलाई जरुरी छ भनेका छन् । तपाईंहरु जागृत हुनुहोस् । तापईहरुमा जागरण देखिएन, जागर देखिएन । तापाईंहरु जागृत भए हामी आफै जागृत हुन्छौँ भन्ने कार्याकर्ताको भनाइ रह्यो ।

नेताहरुको भागबण्डाको लडाइँका कारण पार्टीका सबै संरचना लथालिङ्ग भएको भन्दै उनीहरुले यस्तो किन गरिराख्नुभएको छ भनेर प्रश्न गरेका छन् । त्यस्तै पार्टी अनुशासनमा नचलेको, विभिन्न भ्रष्टाचारका काण्डहरुमा काँग्रेस नेतृत्व पनि मुछिएकोे भन्नेमा कार्यकर्ताको गुनासो रहनुका साथै काँग्रेसको धारण के हो भनेर सोधेका छन् । उनीहरुले सबै तहमा छिटोभन्दा छिटो सङ्घीय संरचनाअनुसार अधिवेशन गर्नुपर्ने माग उठाएका छन् । पार्टीलाई गतिशील बनाउन महाधिवेशन  गर्न ढिलो हुनुहुँदैन भन्ने धेरैको सुझाव छ । 

कार्यकर्ता निराश र अलमल अवस्थामा : गगन थापा 
पार्टीका गतिविधि निकै सुस्ताएका बेलामा जागरण अभियान केन्द्रीय नेता पार्टीको तत्लो तहमा जाने आधार बनेको छ । सोहीअनुसार कार्यक्रम पनि भइराखेको छ । त्यसले केही उत्साह पनि ल्याएको छ तर सँगसँगै पार्टीको साङ्गठानिक संरचना लथालिङ छ ।

पहिलो कुरा हामी अहिलेसम्म पनि सङ्घात्मक ढाँचाको संरचना बनाउनेतर्फ काम गरिराखेका छैनौँ । यसले कार्यकर्ता धेरै निराश र अलमलको अवस्थामा छन् । जागरण अभियान सुरु भयो तर हाम्रो साङ्गठानिक संरचना नै छैन । साङ्गठनिक संरचना नभएकोप्रति ठूलो गुनासो छ ।

म कुनै गाउँपालिकाको कार्यक्रममा गएँ । त्यहाँ काँग्रेसको कमिटी छ । नियमित बैठक बस्छ । त्यसले आफ्ना कार्यक्रम बनाउँछ भने न मैले गएर साथीहरुलाई उत्साहित गरेर आएको कुरा ठिक छ । म फर्किएपछि कमिटी कहाँ बस्छ त ? कमिटी नै छैन । समस्या यही छ ।
दोस्रो पार्टीको नेतृत्वले जसरी प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गदियोस् भन्ने छ । त्यो अझै सशक्त भएन भन्ने एक खालको गुनासो पाइन्छ । तर पछिल्लो समयमा त पहिलोको भन्दा अलि सुधार भएको छ । योभन्दा पनि अझै बढी सशक्त रूपमा प्रस्तुत हो भन्ने साथीहरुको निकै अपेक्षा छ । 

तेस्रो हामीले कहीले, कहाँ मुख थुन्ने कोसिस गर्छौं । मुख थुन्ने कोसिस गर्नुे भनेको पार्टीभित्र नेतृत्वको आलोचना नहोस् भन्ने हो । विचार बहस नहोस् भन्ने हो । अहिले वक्ता कम राख्ने, थोरैलाई मात्र बोल्न दिने भनिएको छ ।

यी कुराहरुको आफ्नो ठाउँमा महत्त्व छ तर मैले के पाएँ भने जहाँ साथीहरुलाई बोल्नलाई खुला वातावरण दिएको छ, त्यो ठाउँमा साथीहरुले जमेर कुरा राख्नुभएको छ । नेपाली काँग्रेसमा पार्टीभित्रको सुधारको कुरा उठाउनु नै पर्छ । सरकारसँग लड्ने र पार्टीभित्र सुधार चाहिन्छ भन्ने छँदैछ । त्यो कुरा हिजो हामीले गरेका गल्तीबाट सुरु हुन्छ । त्यसलाई रोक्न हुन्न भन्ने आवाज उठेको छ । 
यो सँगसँगै पार्टी नेतृत्वप्रति पनि व्यापक गुनासो छ । हाम्रो कार्यशैली, पार्टी संरचना भएन भन्ने गुनासो धेरै छ । त्यसकारण काँग्रेस आफूले गरेका कामको पनि निर्मम समीक्ष हुनुपर्छ । 

हामी नै नाजवाफ भयौँ : डा. चन्द्र भण्डारी
कार्यकार्ता सबैभन्दा पहिला पार्टी सङ्गठन चुस्त दुरुस्त बनाऊ तब मात्र तिमीहरुले भनेका कुरा कार्यान्वयन हुनसक्छन् भन्छन् । दोस्रो नेताहरुले सरकारले गरेको कमी कमजोरीलाई जोडतोडका साथ उठाउन नसेको भनेका छन् । तिमीहरु आफू सदनमा बोल्न नसक्ने अनि हामीलाई के भन्न यहाँ आइरहेको छौ भनेर प्रश्न गर्दा हामी आफै नाजवाफ बन्नुपरेको छ । 

तेस्रो कुरा, देशमा यति ठूलो भ्रष्टाचार भएको छ । विदेशीलाई खुलमखुल्ला नागरिकता वितरण गरिँदै छ । देश समाप्त हुने खतरा बढ्दैछ । तिमी के हेरेर बसिरहेका छौ ? काँग्रेसको दायित्व के हो ? काँग्रेसको इतिहास के हो ? के तिमीले सम्झेको छौ । अब तिमी गर्ने सक्दैनौँ भने पुरानो नेतृत्वलाई परिवर्तन गर, नयाँ नेतृत्व ल्याएर आऊ । कार्यकर्ता यही मुख्य कुरा भनिरहेका छन् । प्रदेश र स्थानीय तहको संरचना बनाउने कार्य किन रोकिएको छ ? हतियारबिनाको लडाकुका भेषमा किन जागरण भन्दै आएको पनि भनिरहेका छन् । स्थानी र प्रदेशमा पार्टी संरचना भएको भए पो जागरण प्रभावकारी हुने थियो नि ? आफ्ना कमी कमजोरी र विरोधलाई छल्नका निम्ति त यो जागरण अभियान सुरु गरिएको होइन भनेर प्रश्न गर्छन् तर हामी नाजवाफ छौँ ।

प्रशिक्षण, सम्मेलन र गोष्ठीको माग : एनपी साउद


सबै कार्यकर्ताको एउटै चाहना देखिन्छ । पार्टीमा देखिएको अन्तरविरोध अन्त्य गरियोस्  भन्ने छ । प्रमुख नेताहरुबीच एकताको सन्देश दिनुहोस् । तल हामी त्यहीअनुसार अगाडि बढ्छौँ भनिरहनु भएको छ । पार्टी प्रतिपक्षीका रूपमा रहेको छ, प्रभावकारी रूपमा जनपक्षीय कार्यक्रम ल्याउनुपर्यो भन्ने छ ।

पार्टी निकै सुस्त छ । नेतृत्व गतिशील हुनुपर्यो कार्यकर्तालाई प्रशिक्षण, सम्मेलन र गोष्ठीहरु प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने कार्यकर्ताको मुख्य माग हो । भ्रातृ संस्थाहरुलाई अध्यावधिक गर्नुपर्ने कुराहरु बढी आएका छन् । यी कुरामा सुधार गनुपर्ने सुझाव आएको छ । जागरण अभियानलाई संरचना नहुँदा कुनै असर परेको छैन । गएको निर्वाचनमा हामीले यही संरचनाअनुसार निर्वाचनमा गएकाले त्यस्तो जगारणलाई असहजता देखिएको पाइँदैन ।
 
नेता–कार्यकर्ता सम्बन्ध जीवन्त बाउन माग : डा. डिला सङ्ग्रौला (पन्त)


सरकारले केही गर्न सकिराखेको छैन, तपाईंहरु पार्टीभित्र एकताका लागि लाग्नुहोस् । पार्टी सङ्गठन सुदृढ बनाउनुहोस्, विचारको नयाँ विजारोपण हुनुपर्यो कार्यकर्ता र नेताबीचको सम्बन्ध जीवन्त बाउनुपर्यो भन्ने कुरामा सुझाव दिइरहेका छन् । म कर्णालीका विभिन्न जिल्लामा पुगेर आएँ । साशनसत्ता फेरिए पनि आफ्नो जीवनमा परिवर्तन हुन नसकेको कुरा पनि राखे । 
कर्णालीका लागि काँग्रेसले विशेष नीति र कार्यक्रम अघि सार्नुपर्ने भनेर बनेका छन् । त्यो कुरा म पार्टी नेतृत्व कहाँ पनि राख्छु ।
 
परिश्रम गर्नेलाई हेरियोस् : रामहरि खतिवडा


जागरण अभियानमा काँग्रेस कार्यकर्ताको मात्र कुरा छैन, हामीले सबैसँग भेटघाट गरिरहेका छौँ । यतिबेला उनीहरुले लोकतन्त्रमा काँग्रेस हार्दा नेपाली जनताका धेरै मुद्दा हार्दा रहेछन् भन्ने लागेको छ । 
२०६४ सालमा काँग्रेस हार्यो संविधान सभाबाट संविधानले पनि हार्यो । ७० मा काँग्रेस जित्यो संविधान जित्यो, मुलुकको सङ्घीय संरचनालाई कार्यान्वयनको बाटोमा लग्यो । अहिले काँग्रेस हार्दा केही अधिकार कुण्ठित हुँदै छन् भनेर चिन्ता व्यक्त गर्नुहुन्छ । त्यो सँगसँगै काँग्रेस बलियो बनाउन नेतृत्व तहमा गुटउपगुट राजनीति छोड्नुपर्यो भनेर सुझाव दिनुभएको छ । साथी के भन्छन् भने हिजो के भयो भन्नेतिर नजानुहोस्, काँग्रेसलाई कसैले हराउन सक्दैन । काँग्रेसले आफ्ना मान्छेलाई चिन्न सकेन । पहिले काँग्रेसभित्रका आफ्ना मान्छे चिन्नतिर लाग्नुहोस्, हामीलाई केही चाहिँदैन सम्मानपूर्ण व्यवहार देखाउनुहोस् । गाउँदेखि केन्द्रसम्म पार्टीका लागि दुःख गरेकाको सम्मान हुने वातावरण बनाउनुहोस् । त्यसपछि सबै ठीक हुन्छ भनेर सुनाउनु हुन्छ । नेताहरु नीतिको भन्दा नेताका, नेताका भन्दा नाताका हेर्नतिर लागे । त्यसले गर्दा पार्टीमा बदमासी बढ्यो भन्ने उनीहरुको चिन्ता छ । नेताको वरिपरि परिक्रम गर्नेभन्दा पार्टीमा परिश्रम गर्नेलाई हेरियोस् भन्ने सुझाव छ । 

नेता कोइराला, भण्डारी, साउद, खतिवाडा क्रमशः सिन्धुपाल्चोक, कालिकोट, बाँके, भोजपुरमा आगरण अभियानको नेतृत्व गरिरहेका छन् । यस्तै सांसदसमेत रहेको थापा र सङ्ग्रौला जागरण अभियानकै क्रममा एक चरणको विभन्न जिल्ला दौडाहा सकेर फेरि निस्किँदै छन् ।

‘संरचनाबिनाको जागरणले प्रतिफल दिँदैन’
दोस्रो चरणको जागरण अभियान साङ्गठनिक संरचना निर्माण गरेर मात्र गर्नुपर्नेमा नेताहरुको जोड छ । 

नेता थापाले भने ‘हामी पहिलो चरणको कार्यक्रम सकिएपछि मेरोे आग्रह छ । अरू सबै कुरालाई स्थिगित गरेर हामीले साङ्गठनिक संरचनाको विषय टुङ्ग्याउनुपर्छ । यसमा पनि के गर्ने भन्ने होला । कि हामीले महाधिवेशन गर्नु पर्यो, महाधिवेशनतिर लागौँ । होइन महाधिवेशन यो वर्ष नगरेर अर्को वर्ष गर्ने हो भने पार्टीको  विधानमा नयाँ व्यवस्था गरेको अन्तरिक व्यवस्थाअनुसार संरचना बनाइहाल्नु पर्यो ।’

जिल्ला सभापतिहरु पनि संयोजकका हैसियतमा  रहेको भन्दै यसलाई ढिलो गरिए जागरण कुनै अर्थ नरहने थापाको भनाइ छ ।

‘गाउँपलिका वा नगरपालिकामा सहमतिमा कमिटी बन्यो भने ठीक छ, होइन भने निर्वाचन हुन्छ । जिल्ला सभापति छ भनिएको छ । अहिलेका जिल्ला सभापति त संयोजक मात्र हुन् । दुईवटा निर्वाचन क्षेत्रमा एक जनाले संयोजन मात्र गरेको छ । कमिटी खोई ?,’ नेतृत्वलाई उनको प्रश्न थियो ।

प्रदेश कमिटी नहुँदा प्रदेशको बजेटबारे काँग्रेस बेखबर बनेकोे थापाले बताए ।

‘यत्रो कार्यक्रम बजेट प्रदेश सरकारमा जान्छ तर काँग्रेसको ७ वटै प्रदेशमा केन्द्रमा सङ्घीय कमिटी भएजस्तो काँग्रेसको कमिटी हुनुपरेन ? प्रदेशमा काँगे्रस भएपछि पो अहिले बजेट बनाउँदै गरेको प्रदेश सरकारलाई यो चाहियो भन्ला, यो गलत गरियो भन्ला,’ उनले भने, ‘संसदीय ठाउँमा साथीहरु लडिराख्नुभएको छ । त्यो आफ्नो ठाउँमा राम्रो होला । मुख्य कुरा त पार्टीको सङ्गठन हो नि त ?’ 
पार्टी नेतृत्वले भ्रातृ संस्थाहरुको अवस्था लथालिङ्ग बनाएकाले जागरण अभियानबाट राम्रो प्रतिफल आउन नसक्ने उनले दाबी गरे ।

नेता थापाले भने, ‘भ्रातृ संस्थाहरुको बिजोक छ । नेपाल विद्यार्थी सङ्घको निर्वाचन हुँदैथियो । केन्द्रमा हामीले भङ्ग गरिदियौँ, सकियो । सङ्गठनमा लागेका साथीहरु पनि पूरै निराश छन् । उनीहरु हामीसँग  व्यापक रिसाएका छन् । यो सबै कुरा पनि नगर्ने यो छेउवा जागरण अभियान गर्ने कुराले आशातित प्रतिफल दिँदैन ।’ 

काँग्रेसले दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसूची सार्वजनिक गरेको छ । दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप