बाटोको विषयमा साँखुका स्थानीयले माधव नेपालकै अगाडि लगाए मुर्दावादको नारा (भिडियो)
काठमाडौँ । बाटोको बिषयलाई लिएर पूर्वप्रधानमन्त्री माधव नेपालकै अगाडि काठमाडौं साँखुका स्थानीयले मुर्दावादको नारा लगाएका छन् । सोमबार शंखरापुर नगरपालिकाको बजेट अधिवेशनमा सम्बोधन गर्न पुगेका नेता नेपाललाई दुई पटकसम्म चुनाव जितेर पनि किन केही नगरेको भन्दै स्थानीयले प्रश्न गरेका थिए ।
कार्यक्रम सकेर काठमाडौं फर्किने तरखरमा रहेका नेता नेपाललाई बाटो छेकेर उनीहरुले सो क्षेत्रको बाटो कहिले सुधार हुन्छ भन्दै प्रश्न गरेका थिए ।
स्थानीले प्रश्न गरेपछि यसबारेमा पछि छलफल गरौँला भन्दै उनी पन्छिन खोजेका थिए । स्थानीयले तत्काल जवाफ दिनुपर्ने माग गरेपछि उनी गाडीमा चढेका थिए ।
सडक निर्माणको काम अलपत्र भएको भन्दै उनीहरुले नेता नेपालकै अगाडि मुर्दावादको नारा लगाएका हुन् । नारा लगाएपछि सुरक्षाकर्मीले उनीहरुलाई हटाएका थिए ।
२ बर्षमा सक्नेगरी २०७२ सालदेखि बौद्ध–जोरपाटी–साँखु सडक विस्तारको काम सुरु भएपनि अझैँ पूरा भएको छैन । बाटो बिस्तारका क्रममा सडक सुधार तथा कालोपत्रेको काम नहुँदा स्थानीयले सास्ती बेहोर्दै आएका छन् ।
हेर्नुहोस् भिडियो