आतङ्कवादीको अरोप लागेका पत्रकारलाई धरौटीमा रिहा गर्न आदेश
लागोस-आतङ्कवादको आरोपमा हिरासतमा रहँदै आएका नाइजेरियाली पत्रकार जोन्स अविरीलाई शसर्त धरौटीमा रिहा गर्न आदेश भएको मङ्गलबार अदालतका अधिकारीले बताएका छन् ।
नाइजेरियाको चर्चित साप्ताहिक पत्रिकाको सम्पादक तथा प्रकाशक पत्रकार अविरीले धरौटीको शर्त पूरा नगर्दासम्म हिरासत मा नै राख्न पनि अदालतले भनेको छ ।
न्यायाधीस इजिओमा ओयुक्वाको एकल इजलासले सोमबार पत्रकार अविरीविरूद्धको मुद्दामाथि सुनुवाईपछि फैसला दिएकोे हो ।
अबिरीले स्थानीय तेल कम्पनीहरूलाई पत्राचार गरी उनीहरूलाई आक्रमण गर्ने धम्की दिएको आरोप लागेको थियो । जसको उनले निरन्तर खण्डन गरिरहेका छन् । अविरीले नाइजर डेल्टामा रहेका स्थानीयलाई तेल कम्पनी तथा सरकारले वेवास्था गरेकोमा निरन्तर लेखेका कारण आफूलाई नियन्त्रणमा लिएको दावी गरेका छन् ।
अदालतले अविरीलाई दुई लाख ८२ हजार अमेरिकी डलर बराबरको धरौटी सुनाउँदै यसका लागि ग्यारेन्टी बस्ने जमिनदार उपस्थित गराई धरौटी जम्मा गर्ने शर्तमा रिहा गर्न आदेश दिएको हो । धरौटीका लागि जमिनदारलाई सरकारी अधिकारी समक्ष नल्याउँदासम्म उनले हिरासतमा नै बस्नुपर्ने हुनेछ । -एएफपी