केन्द्रीय संस्करण

मुक्तिनाथ क्षेत्रमा थपिँदै होटल, मोदीको भ्रमणपछि पर्यटकको आकर्षण

person explore access_timeसाउन ३०, २०७६ chat_bubble_outline0

पोखरा । न सवारीको सहज सुविधा । न भौगोलिक बनावट नै सजिलो । न बसोबासको सुविधा । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रानीपौवा मुस्ताङमा ४०÷५० वर्षअघिको अवस्था यस्तो थियो । 

बसोबासको लागि होटल नै थिएन । धर्मशाला मात्रै थिए । धर्मप्रति आस्था राखेर मन्दिर पुग्नेहरु धर्मशालमै बस्थे । धर्मशाला आसपासमा भेडा, बाख्रा राख्ने गोठहरु मात्र थिए । अहिले जस्तो बस्ती थिएन । धर्मशाला अहिले २ सय वर्ष बढी पुरानो भइसक्यो ।

आजकाल मुक्तिनाथ क्षेत्रको मुहार फेरिएको छ । मुक्तिनाथ पुग्ने जो कोही सवारीमा सहज रुपमा पुग्न सक्छन् । सुविधायुक्त होटलमा बस्न सक्छन् । 

मुक्तिक्षेत्रमा २०३२÷०३३ बाट मात्रै होटल सञ्चालनमा आउन थालेको स्थानीय होटल व्यवसायी सुरज गुरुङ बताउँछन् । अहिले सोही क्षेत्रमा २२ होटल सञ्चालनमा छन् । मुक्तिनाथ पुग्ने कसैलाई सुविधाजनक बसोबासको अभाव हुन्न । मुक्तिनाथ दर्शन गर्न पुग्ने २ हजार नेपाली । १ हजार विदेशी पर्यटकलाई बसाउँन सक्ने क्षमता राख्छ मुक्ति क्षेत्र । सरदरमा १५ सय स्वदेशी तथा विदेशी पर्यटक अट्न सक्छन् एकदिनमा । नयाँ सिजनमा मात्रै ४ होटल सञ्चालनमा आउँने तयारीमा छन् । 

अहिले मुक्तिक्षेत्रमा होटल सञ्चालन गर्नेको संख्या बढ्दो छ । ५, ६ वर्ष यता होेटल सञ्चालन गर्नेको संख्या बढेको स्थानीय होटल व्यवसायी सुरज गुरुङले जानकारी दिए । सन् २०१५ मा जम्मा १५ होटल मात्र थिए मुक्ति क्षेत्रमा । अहिले २२ पुगिसक्यो । गुरुङका अनुसार होटल व्यवसाय सञ्चालनमा आकर्षण बढेरै होटलका संख्या बढेका हुन् । ‘होटल व्यवसाय सञ्चालनमा आर्कषण बढ्दो छ,’ उनले भने, ‘सन् ०१५ सम्म १५ वटा मात्र होटल थिए । अहिले ७ वटा बढि सक्यो । होटलमा आकर्षण बढेरै त थपिएका हुन् ।’

सुुरज आफैं पनि होटल व्यवसायमा आकर्षित भएरै गाउँ फर्किएका हुन् । गाउँ छोडेको २० वर्षपछि मात्रै उनी गाउँ फर्किएका थिए । जापानमा ३ वर्ष बसेर नेपाल फर्किएका उनले सुरुमा काठमाडौंमै रेष्टुरेन्ट चलाए । २०१५ मा मात्रै उनले मुक्तिक्षेत्रमा ‘होटल ग्रान्ड साम्बाला’ खोलेका थिए । 

मोदी आएपछि हाइलाइट भयो
सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले मुक्तिनाथ क्षेत्रमा पाइला टेके । भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ भ्रमण गरेको खबर एकाएक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्राथमिकतामा पर्यो । 
त्यस यता मुक्तिनाथ दर्शन गर्ने भारतीय पर्यटकको संख्या पनि बढ्दो छ । यसमा व्यवसायी गुरुङ पनि एकै मत राख्छन् । ‘मोदी आउँदा बढी नै हाइलाइट भयो,’ उनले भने, ‘थाहा नभएकालाई पनि थाहा भयो । मोदीले गर्दा मुक्तिनाथ आउँने पर्यटक पनि बढेका छन् ।’

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मुस्ताङको पछिल्लो तथ्यांक अनुसार प्रतिवर्ष नेपाल आउँने सार्क मुलुकका ५५ प्रतिशत पर्यटकमध्ये १५ देखि २० प्रतिशत भारतीय नै छन् । एक्याप जोमसोमका पर्यटन सहायक युङद्रुङ छेवाङका अनुसार प्रतिवर्ष मुक्तिनाथ, लोमान्थाङ र थोरङपाससम्मको डेस्टिनेसन बनाएर वार्षीक कम्तिमा पनि ६० हजार पर्यटक मुस्ताङ आउँने गर्छन् । ‘ठ्याक्कै यकिन तथ्यांक त हामीले राख्न सेकेका छैनौं,’ उनले भने, ‘यति नै भन्दा पनि कम्तिमा ६० हजार विदेशी पर्यटक मुस्ताङ आउनु हुन्छ । त्यसमा इन्डियन पर्यटक मिनिमम १५ देखि २० प्रसेन्ट छ । भारतीय पर्यटकको डेस्टिनेसन चाँहि मुक्तिनाथ मन्दिरसम्म मात्रै छ ।’

होटलका चुनौति
जनवरीदेखि फेबु्रअरि (हिउँ पर्ने सिजन)मा प्रायजसो मुक्तिक्षेत्रका होटल बन्द हुन्छन् । अत्यधिक हिउँ पर्ने हुँदा होटल बन्द हुने व्यवसायी सुरज गुरुङ बताउँछन् । यदाकदा परिवारले चलाउँने होटल बाहेक अरु होटल ठप्पै हुन्छन् । उसो त पर्यटकको पनि आवगमन निकै कम हुने गर्छ यसबेला । 

चिसो ठाउँ भएकाले पनि कामदार पाउँन गाह्रो हुने गर्छ । व्यवसायी गुरुङका अनुसार कामदारै पाए पनि धेरै समय टिकाउन गाह्रो छ । ‘दुगर्म ठाउँ, चिसो,’ उनले भने, ‘त्यसमाथि काम पनि सिजनल हुन्छ । बढीमा २, ३ सिजन भन्दा बढी कामदार टिक्न सक्दैनन् ।’ बिदामा घरपरिवार भेटन् जान पनि टाढा र महँगो पर्ने हुँदा एक सिजनभन्दा बढी कामदार बस्न नसक्ने समस्या रहेको उनले सुनाए । 

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाका अनुसार मुक्ति क्षेत्रमा होटलको संख्या बढ्नु राम्रो कुरा हो । नेपाल सरकारको भ्रमण वर्षलाई पनि यस्ले थप टेवा पु¥याउँने उनले सुनाए । ‘पर्यटन प्रवद्र्धनका लागि सेवा र आतिथ्यता नीजि क्षेत्रले पु¥याउँने हो,’ उनले भने, ‘सुरक्षा र प्रशासनिक सुविधा दिने काम चाहिँ सरकारले गर्नुपर्छ ।’ मुस्ताङ धार्मिक र एड्भचर्स टुरका लागि पनि डेस्टिनेसन भएको हुँदा त्यही अनुसार सुविधा पनि बढ्दै जानुपर्ने उनले सुनाए । 

मुक्ति क्षेत्रदेखि मन्दिरसम्म पुग्न घोडाको सुविधा पनि छ । घोडा चढ्न नसक्नेका लागि स्ट्रेचर । स्ट्रेचरमा मन्दिर पुगेको २५ सय शुल्क लाग्छ । घोडमा ३ सय । 

१९ गाउँले ६, ६ महिनामा समिति छनौट गरि मन्दिरसम्म घोडा चलाउँछन् । सिजनमा ७० देखि ८० घोडा चल्ने मुक्तिक्षेत्रमा अफ सिजनमा भने १० देखि १५ घोडा मात्र चल्छन् । 

मुक्ति क्षेत्रमा १० वर्षयता जग्गा किनबेच पनि खुला गरिएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...