शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी प्यालेसमा तिज मनाउन दिन काँग्रेस सांसदको माग

आइतबार, ०१ भदौ २०७६, १३ : २१
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले सरकारले पार्टी प्यालेसमा तीज मनाउन प्रतिबन्ध लगाएको भन्दै विरोध गरेकी छिन् । आइतबारको संसदको सून्य समयमा बोल्दै सांसद शाहीले बिहेमा तडकभडक रोक्न ५१ जना भन्दा बढी जन्ती लान नहुने भनेकोमा त्यसमा सरकारको नजर नपुगेको बताउँदै महिलाले सकिनसकी बचाएको पैसाले बर्षदिनको चाड तीज मनाउन पार्टी प्यालेसमा प्रतिबन्द्ध लगाएको भन्दै आलोचना गरिन् । 

उनले भनिन्– ‘के महिलाले एकदिन तीज मनाउँदैमा यो देशको भष्टाचार नियन्त्रण हुने हो र ? बरु यो सरकार आफै भष्टा«चारमा चुर्लुम्म डुबेको छ । पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्द्ध फुकुवा गर्न सभामुख मार्फत म सरकारलाई आग्रह गर्दछु ।’ 

यस्तै सांसद राजन केसीले काठमाडौ क्षेत्र नं.१० को सडकको गुणस्तर बारे भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण गराए ।  यता, अर्का सांसद रामबहादुर बिष्टले अछाम जिल्लाको कमलबजार नगरपालिकामा  एउटा अस्पताल रहेको तर जिर्ण हुँदा पनि ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराए । 

उनले भने– ‘कर्मचारी थोरै छन्, दरबन्दी कम छ । औषधी कम छ । बिरामी बोकेर ल्याँउदा उपचार गर्ने सामान नहुदा अन्यत्रै रिफर हुने गरेको छ । त्यहाँ अस्पताल बनाउन पहल गरियोस ।’ यस्तै सांसद रामदीप मानन्धरले राजधानी काठमाडौं स्वच्छ र साँस्कृतिक शहर भएपनि अहिले अस्तब्यस्त ध्यस्त भएको बताए । उनले बागमतिको कोरिडोर, ट्राफिक बत्ति, ठेक्का लगाएको सडक अस्तब्यस्त रहेको बताउँदै सरकारले राजधानीको सडकसमेत मर्मत व्यवस्था गर्न  सक्दैन भन्दैै सरकारको यसमा ध्यानाकर्षण जनाए । 

यस्तै सांसद लक्ष्मणलाल कर्णले पर्साको ठोरी गाउँपालिकामा राम्रो अस्पताल रहेको तर डाक्टरको अभाव भएको बताए । उनले अस्पतालमा स्वास्थ्यकर्मी भएपनि सर्पदंशको उपचार हुन नसकेको बताए । उनले भने– ‘त्यहाँ अहिले सर्पको विगबिगी छ, एकजना महिलाको मृत्यु भयो । मैले आफैले पनि सपलाई भेटेँ तर मसँग साथीहरु भएकोले उनीहरुले त्यसलाई मारे ।’ उनले सर्पदंशको उपचारका लागि एमबिबिएस डाक्टर उपलब्ध गराउन आग्रह गरे । 

यता, सांसद विमला नेपालीले देशका विभिन्न ठाउँमा जातका आधारमा मानिसहरुको हत्या भएको बताइन् । उनले सरकार दलित आयोग गठन गर्नुपर्नेमा बेखर भएर बसेको भन्दै सरकार दलित बिरोधी सरकारको रुपमा रहेको उल्लेख गरिन् । 

सांसद भीमसेनदास प्रधानले पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापकहरु नियुक्ति रोकिएको बताउदैं त्यसलाई प्रधानमन्त्री आफैले रोेकेको बताए । उनले नियुक्ति गर्न सर्वोच्च अदालतले आदेश दिदा पनि किन रोकेको भन्दै सम्बन्धित मन्त्रीलाई जवाफ दिन आग्रह गरे । 

यस्तै सांसद महेश बस्नेतले भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल र ताथली एरियामा खेलकुद परिसर निर्माण गर्ने घोषणा गरेको बताउँदै त्यसका लागि हजार रोपनी जग्गा उपलब्ध गराउन शहरी विकास मन्त्रालयले नयाँ शहरका लागि डिपिआरको प्रक्रिया अघि बढाएको उल्लेख गरे । उनले त्यो एरियामा ५० हजार क्षमताको रंगशाला, स्विमिङ, पुल, कवर्ड हल बनाउने कुरामा जनताले सहमति जनाएको बताउदै खेलकुद मन्त्रालयलाई यो प्रक्रिया छिटो पु¥याउन आग्रह गरे । उनले भक्तपुरमा रंगशाला निर्माणका लागि कसैले पनि विरोध नगरेको दावी गरे । 

यता सांसद महेश्वरराज गहतराजले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय प्रकरणमा रवि लामिछानेको पक्राउपछि अस्वभाविक हुल हुज्जत भएको उल्लेख गरे । उनले के निहँु पाउँ, कनिका बुकाँउ उखानको चरितार्थ भएको बताउदै प्रहरीले पक्राउ गर्ने र अदालतले फैसला गर्ने प्रक्रियाको ठाडो उल्लंघन भएको बताए । उनले भने– ‘गैरकानुनी र अस्वभाविक हुल हुज्जत गर्ने काम भएको छ, म त्यसको निन्दा र भत्सर्ना गर्दछु । मेरो मन परेको मान्छे सुनपानीको चोखो हुन्छ भन्ने मानसिकता बढेको छ । यसबारे सरकार गंभिर हुनुपर्छ ।’ 

सांसद मानबहादुर विश्वकर्माले लोकसेवा आयोगले संविधानको भावना विपरित निकालेको असमावेशी विज्ञापन विरुद्ध अर्को विज्ञापन पुन प्रकाशनको माग गर्दै भएको आन्दोलनमा पुलस दमन भएको बताए । उनले दलित, जनजाती, थारु, मुस्लिम, अपाङ्गको साझा आन्दोलनमा पुतलीसडकमा भएको आन्दोलनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बराम समेत १ दर्जन भन्दा बढीलाई घाइते बनाएको उल्लेख गरे । उनले १ दर्जन बढीलाई गिरफ्तार गरेको र तत्काल रिहाईको माग गरे । सांसद विश्वकर्माले हिंसा र बल प्रयोग रोकेर संविधान अनुसार माग पूरा गर्न आग्रह गरे ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप