इन्धन बोकेको रेल रक्सौल नआउँदा पेट्रोलियम पदार्थको अभाव
वीरगन्ज –यस साता अविरल वर्षासँगै आएको बाढीले भारतीय रेल्वे ट्रयाकमा क्षति पुग्दा पेट्रोलियम बोकेको रेल रक्सौल डिपोमा आउन नसकेपछि बजारमा पेट्रोलियम पदार्थको अभाव देखा परेको छ ।
मुलुकको प्रमुख भन्सार नाका वीरगंजबाट नेपाल भित्रिने पेट्रोलियम पदार्थ भारतको रक्सौल डिपोबाट आउने गरेकोमा रक्सौल आउने रेल्वे ट्रयाकलाई बाढीले क्षति पुर्याएपछि यस्तो समस्या देखिएको हो ।
रक्सौलका लागि पेट्रोलियम पदार्थ बोकेर आउने बरौनी रुटको सितामढी नजिक करीब ३५ मिटर रेल्वे ट्रयाक बाढीले बगाएको रक्सौल स्थित भारतीय आयल निगमका अधिकारीहरुले बताएका छन् ।
रक्सौलस्थित भारतीय आयल निगमको डिपोमा अझै एक साता लाई पुग्ने डिजल सञ्चीत भएपनि रेल्वे ट्रयाक नबनेमा अन्य पेट्रोलियम पदार्थको अभाव हुने देखिएको नेपाल आयल निगमको क्षेत्रिय कार्यालय वीरगंजका कार्यालय प्रमुख उपेन्द्र नेपालले बताए ।
प्राकृतिक विपत्तिका कारण यस्तो समस्या देखिएकोले मौसम सफा हुनेवित्तिकै रेल्वे ट्रयाक सुधारको काम गरिने भारतीय पक्षले जानकारी दिएको नेपालले बताए ।
अहिले पानी पर्न रोकिएको भएपनि रक्सौल आउने रुटको विभिन्न स्थानमा रेल्वे ट्रयाक बगाएको र केहि स्टेशनमा पानी जमी नै रहेकोले समस्या भएको हो ।
रक्सौल डिपोमा सञ्चीत पेट्रोलियम पदार्थमा कमि भएपछि त्यसको असर वीरगंज र आसपासमा समेत देखिएको छ । उपभोक्ताहरु पेट्रोल पम्पमा पुगेर पनि पेट्रोल छैन भन्ने सुचना पढेर फर्कन बाध्य भएका छन् ।
रक्सौल डिपोमा ३५ हजार किलो लिटर डिजल र २४ सय किलोलिटर पेट्रोल भण्डारण क्षमता छ । सोहि डिपोमा पेट्रोलियम पदार्थको कमि हुँदा तुलनात्मक रुपमा आयातको तथ्यांकमा कमी आएको वीरगंज भन्सारका प्रमुख सेवन्तक पोखरेलले बताए ।
भदौ १ गते पेट्रोल १३ सय ६० किलोलिटर, डिजल १६ सय ९४ किलोलिटर, मट्टितेल शुन्य, हवाई ईन्धन ४० किलोलिटर, एलपि ग्यास ७ लाख २७ हजार १ सय ३० किलोग्राम आएकोमा भदौ २ गते पेट्रोल ३ सय ४८ किलोलिटर, डिजल १३ सय ३६ किलोलिटर, मट्टितेल ७६ किलोलिटर, हवाई ईन्धन ३ सय ६० किलोलिटर, एलपि ग्यास २ लाख ७२ हजार ५ सय १० किलोग्राम आयात भएको वीरगंज भन्सारको तथ्यांकले बताएको छ ।
भारतीय आयल निगमको डिपोमा अझैपनि एक साता सम्मको लागि पुग्ने डिजलको सञ्चिति भएपनि पेट्रोलियम पदार्थ बोेकेको रेल रक्सौल आउन नसकेमा अन्य पेट्रोलियम पदार्थको नेपाली बजारमा अभाव हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु