शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुलिसमाथि थ्रीस्टारको कठिन जित

सोमबार, ०७ पुस २०७६, १८ : २५
सोमबार, ०७ पुस २०७६

काठमाडौं । थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा कठिन जित निकालेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्रीस्टारले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो । लिगमा थ्रीस्टारको यो पहिलो जित हो ।

थ्रीस्टारको जितमा सुशील राईले निर्णायक गोल गरे । सुशीलले शुसन श्रेष्ठको पासमा वान टच गोल गरेका थिए । सुशीलको लिगमा यो डेब्यु गोल हो । मोरङ लेटाङका २३ बर्षीय राई दुई बर्षअघि थ्रीस्टारमा अनुबन्ध भएका थिए ।

दशरथ रंगशालामा लिगपहिलो गोल गरेपछि म्यान अफ दी म्याच भएका सुशीलले निकै खुशी लागेको बताए । ‘थ्रीस्टार जस्तो टोलीलाई जिताउन पाउँदा खुशी छु । मेरो गोलले पुलिस हार्दाको क्षणालाई बिर्सन सक्दिन,’ सुशीलले भने । सुशील म्यान अफ दी म्याच पनि भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । थ्रीस्टारको तुलनामा सुधारिएको प्रदर्शन गरेको पुलिसको फिनिसिङ लाइन कमजोर बनेको थियो । पुलिसले लगातार गोल गर्ने अवसर बनाएपनि सफल बन्न सकेन ।

जितसँगै थ्रीस्टारले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा थ्रीस्टार जाउलाखेल युथ क्लबसँग गोल रहित बराबरीमा रोकिएको थियो । पुलिसले भने लिगमा पहिलो हार खेपेको हो । यसअघि पहिलो खेलमा पुलिस हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप