शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शास्वतधामः नवलपरासीको मुख्य आकर्षण

आइतबार, ११ भदौ २०७४, १३ : १६
आइतबार, ११ भदौ २०७४

परासी–धार्मिक एवं ऐतिहासिक महत्व बोकेको नवलपरासी जिल्लामा रहेका विभिन्न धार्मिक स्थलहरुमध्ये शास्वत धाम जति अरुको चर्चा हुन सकेको छैन । जिल्लामा रामग्राम स्तुप, त्रिवेणी धाम, मदारबाबा, पण्डितपुर मुख्य धार्मिक एतिहासिक स्थल भएपनि आवश्यक पुर्वाधार विकास र संरक्षण अभावमा ति स्थान ओझेलमा परेका छन् ।
५ महिना अघिमात्र निर्माण गरिएको शास्वत धाम पछिल्लो समय मुख्य आकर्षणको रुपमा चिनिएको छ । जसको सौन्दर्यता र महत्वका कारण विदेशमा समेत चिरपरिचित बन्दै गएको छ । सनातन धर्मको प्रवद्र्धन गर्ने उद्देश्यले नवलपरासीमा सिंगारिएको शास्वत धाममा दिनहुँ ५ हजार पर्यटकहरु भ्रमण अवलोकन गर्ने गरेका छन् । शास्वत धामको महत्व बुभ्mन र भ्रमण अवलोकन गर्न नेपाल भारतसहित विभिन्न देशका पर्यटकहरु आउने गरेका छन् । नेपालकै गौरवको रुपमा रहेको शास्वत धाममा दिनहुँ पर्यटक तथा भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।
धामको औपचारिक उद्दघाटन गत फागुन २४ गते, राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उद्दघाटन भएको ५ महिना बित्दा अहिलेसम्म ७ लाख भन्दा बढि पर्यटकहरुले धामको भ्रमण तथा अवलोकन गरिसकेका छन् । मासिक डेढ लाख पर्यटकहरु यस धाममा आउने गरेका छन् । शुक्रबार र शनिवार पर्यटकहरुको संख्या ७ देखि ८ हजारसम्म पुग्ने गरेको व्यवस्थापन पक्षका चौधरी गु्रपका सहायक प्रबन्धक रामचन्द्र धितालले बताए ।  
शाश्वत धाममको आकर्षण  
नवलपरासीको देवचुली नगरपालिका २ स्थित दुम्कौलीमा चौधरी गु्रपद्धारा ८० विगाहा क्षेत्रफलमा स्थापित सिजी ईण्डस्ट्रियल पार्क परिसरभित्र ७ विगाहा क्षेत्रफलमा शास्वत धाम निर्माण गरिएको छ । चौधरी फाउण्डेशले सन् २००३ सालमा सुभारम्भ गरेको यो धाम निर्माण गर्न १४ वर्ष लागेको थियो । ७ विगाहा क्षेत्रफलमा फैलिएको उक्त धामको मध्य भागमा खजुरावान शैलीमा बुट्टेदार तथा अत्यन्तै मनमोहक मन्दिर ‘अम्केश्वर शिव मन्दिर‘ को निर्माण गरिएको छ जुन नेपालकै नमुना र यस धामको मुख्य आकर्षण रहेको बताइएको छ । खजुरावान शैली दक्षिण भारतको प्रचलित शैली हो ।
मुख्य आकर्षणको रुपमा रहेको अम्केश्वर मन्दिरलाई चारैतिरबाट सर्वतिर्थ सरोबर तालले घरिएको छ । तालमा बद्रीनाथ, केदारनाथ, पशुपति, मुक्तिनाथ, हरिद्धारको जल मिसाई तालको महत्वलाई बुलन्द गरिएको छ । धाममा १२ राशी र २७ नक्षत्रको प्रतिनिधित्व गर्ने गरि वरपिपल, अशोक र सल्ला लगायतका रुखहरु लगाइएको छ । अम्केश्वर मन्दिरको सुन्दरता बढाउन विभिन्न प्रसिद्ध मठमन्दिरहरुको नक्सामा ढाल्दै मन्दिरमा हस्तकलात्म बुट्टाहरु भरिएको छ जुन बुट्टा सिमेन्टेड भएपनि झट्ट हेर्दा काठबाट बनेको जस्तो अनुभव हुन्छ । मन्दिरभित्र विभिन्न १६ देवीदेवताको आकर्षक मुर्तिहरु राखिएका छन् । मन्दिरको तल धार्मिक संग्राहालय बनाइएको छ जसले पर्यटकहरुलाई झनै लोभ्याउने गरेको छ । मन्दिरसँग जोडिएको तालको चारै कुनामा पानीको फोहोरा र विभिन्न कलरको लाईट जोडिएको छ जसले रातीमा मन्दिरको झनै सुन्दरता बढाउने काम गरेको सहायक प्रबन्धक धितालले बताए ।
देवचुली र वरचुली पहाडको काखमा रहेकाले पनि यस धाममा प्राकृति सौन्दर्य थपिदो आकर्षण बढेको छ । पर्यटक र भक्तजनहरुलाई आकर्षण गर्न धाममा अम्केश्वर मन्दिर अलावा अखण्ड अग्नीकुण्ड, काली कुण्ड, बुद्ध कुण्ड, यज्ञ कुण्ड, शक्तिघाट, हनुमान मन्दिर, धार्मिक संगाहालय, धार्मिक प्रदर्शनी, डिजिटल धार्मिक पुस्तकालय, गुरुकुल आश्रम, हेरिटेज बिल्डिङ्ग हल, गौशाला, धर्मशाला, शुद्ध साकाहारी भोजनालय र सुन्दर व्यस्थित पार्क समेतको निर्माण गरिएको छ । 
संस्कार विश्वविद्यालयको रुपमा लैजाने उद्देश्यले धाम भित्र निर्माण गरिएको गुरुकुल विद्याश्रममा यतिबेला ४३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यि विद्यार्थीहरुलाई कक्षा आठसम्मको धार्मिक शिक्षा प्रदान गरिदै आइएको छ । धाममा विभिन्न क्षेत्रका भक्तजनहरु विशेष पुजा, ब्रतबन्ध, श्राद्ध, काजक्रिया लगायत कामुकाण्ड समेत गर्न आउने धामका जिएम अशोक घर्तीले बताए ।
आधुनिक प्रविधि प्रयोग गरि सनातन धर्मको प्रवद्र्धन गर्न निर्माण गरिएको धार्मिक सौन्दर्यको अनुपम नमुनाको रुपमा शास्वत धाम छ । शास्वत धामको आकर्षण र महत्वले देशविदेशका पर्यटकहरुलाई तान्ने गरेको छ । धाममा आउने पर्यटकले चिनारीको रुपमा यहाँका विभिन्न धार्मिक बस्तुहरु खरिद गरेर लैजाने गरेको पर्यटकहरु बताँउछन् । 
कसरी बन्यो शाश्वधाम ?
सन २००२ सालमा नेपाल भ्रमणमा आएका जगतगुरु एवं शंकराचार्य जयेन्द्र शरस्वतीले चौधरी ग्रुपका संस्थापक स्वः लुनकरण चौधरीलाई मानिसमा साकारात्मक धारणाको विकास गराउन र ऋषि पण्डित उत्पादन गर्ने गरि गुरुकुल सहितको विद्याश्रम रहने धाम निर्माण गर्न सुझाव दिदै आशिर्वाद दिएका थिए । बुवाको सपना पुरा गर्न चौधरी फाउण्डेशका अध्यक्ष एवं विश्व अर्बपतिको सुचीमा रहेको ठुलो उद्योगी व्यवसायी बिनोद चौधरीले पुर्विय सनातन धर्मको संरक्षण, प्रवद्धन तथा अध्ययन अनुसन्धानका लागि नाफा नकमाउने उद्देश्यले यस धामको स्थापना गरेको बताइएको छ । धामको निर्माण गर्दा धाममा चाहिने विभिन्न मठमन्दिर, विषयबस्तुको बारेमा गुरुजगत सरस्वती र आर्ट अफ लिभिङ्गका संस्थापक, रबि शंकर सहित विभिन्न संन्त साधुहरुले सल्लाह सुझाव दिदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप