शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा

शुक्रबार, १२ असार २०८३, १५ : ०८
शुक्रबार, १२ असार २०८३

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका रुपन्देहीका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन्।

शुक्रबार जारी संयुक्त घोषणापत्रमार्फत उनीहरूले पार्टी तथा पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जनाएका हुन्।

घोषणापत्रमा लामो राजनीतिक संघर्ष, त्याग र योगदानका बाबजुद अपेक्षित उपलब्धि हासिल हुन नसकेको, कम्युनिष्ट आन्दोलन विभाजित र कमजोर बन्दै गएको तथा पार्टी नेतृत्वले सही राजनीतिक दिशा दिन नसकेको निष्कर्षसहित आफूहरू जिम्मेवारी त्याग्न बाध्य भएको उल्लेख गरिएको छ।

उनीहरूले वर्तमान अवस्थामा समाजवादको लक्ष्य कमजोर बन्दै गएको, राष्ट्रिय स्वाधीनता संकटमा परेको तथा कम्युनिष्ट आन्दोलन विखण्डित अवस्थामा पुगेको उल्लेख गर्दै आन्दोलनको रूपान्तरण, एकता, पुनर्गठन र सुदृढीकरण आवश्यक रहे पनि नेतृत्वबाट त्यसअनुसार पहल हुन नसकेको आरोप लगाएका छन्।

पार्टी छाड्नेमा केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर ज्ञवाली र मदन थारू रहेका छन्। त्यसैगरी जिल्ला सचिवालय सदस्य, जिल्ला सदस्य तथा पालिका तहका विभिन्न पदाधिकारीसहित ३३ जनाले संयुक्त रूपमा घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

केन्द्रीय सदस्य शरद ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने तथा निष्क्रिय बनाउने प्रवृत्ति बढ्दै गएको आरोप लगाए। उनले उमा भुजेलमाथि गरिएको कारबाही र बसन्त श्रेष्ठको जिम्मेवारी खोसिएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै फरक विचार राखेकै कारण यस्ता कदम चालिएको रातोपाटीलाई बताए।

ओलीले पार्टी परित्याग गरे पनि आफूहरू कम्युनिष्ट आन्दोलनबाट अलग नभएको स्पष्ट पार्दै नयाँ ढंगबाट पार्टी पुनर्गठन र वैचारिक अभियानमा जुट्ने बताए।

घोषणापत्रमा आगामी दिनमा कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन तथा वैकल्पिक राजनीतिक धार निर्माणका लागि सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप