शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सडक स्तरोन्नति गर्न सहमति

शनिबार, १३ असार २०८३, ०३ : ३७
शनिबार, १३ असार २०८३

सारांश

  • कालीकोट र दैलेख जोड्ने सडक स्तरोन्नति गर्न जनप्रतिनिधिबीच सहमति भएको छ ।
  • सडक स्तरोन्नति तथा पूर्वाधार विकासमा दुई जिल्लाबीच सहकार्य गरिनेछ ।
  • सीमा क्षेत्रमा स्वागतद्वार निर्माण र पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ ।

कालिकोट । कालिकोट र दैलेख जिल्ला जोड्ने सडक स्तरोन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन् । दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु–डाँडीमाडी हुँदै कालिकोटको ब्याउली–पान्तडी सडकको स्तरोन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनिधिसभाका सांसद र सरोकारवालाले सहमति गरेका हुन् ।

कालिकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबार माथिल्लो डुङ्गेश्वरमा सम्पन्न बैठकले सडक पूर्वाधार विकासका लागि दुई जिल्लाबिच सहकार्य गर्ने सहमति गरेका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त बैठक दैलेखको माथिल्लो डुङ्गेश्वर शुक्रबार सम्पन्न भएको र सडक पूर्वाधार विकासका लागि दुवै गाउँपालिकाबिच सहमति भएको कालिकोट शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । ‘बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सडकलाई छिटोभन्दा छिटो स्तरोन्नति गर्ने सहमति भएको छ,’ उनले भने, “प्रादेशिक सडकको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय गरेका छौँ ।”

सडकले पूर्णता पाएमा कालिकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगन्जसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने सांसद लक्ष्मीप्रसाद पोखरेल जानकारी दिए । “प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सडक डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ,”उनले भने, “यो मार्ग बनेमा कालिकोट र दैलेखबासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गनतव्य रारा ताल र सुर्खेत–नेपालगञ्जको यात्रा सहज हुनेछ ।”

दुई पालिका र जिल्लाबिचको आपसी सम्बन्ध, भ्रातृत्व र पर्यटन प्रवर्द्धनलाई थप मजबुत बनाउन कालिकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिकस्थल भोटेगढीमा आधुनिक स्वागतद्वार (गेट) निर्माण गर्ने भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीले जानकारी दिइन् ।

“गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने गर्ने छन्,” उनले भनिन्, “दुई जिल्लाको आपसीहितका लागि आगामी दिनमा निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप