सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यूः भारतसँग आउजाउ गर्न चार नाका मात्रै, ज्यानै लिने मदिरामा युरिया मल, फोहोर प्लास्टिक, चप्पल र मोजा

आइतबार, ०२ चैत २०७६, ०८ : ०६
आइतबार, ०२ चैत २०७६

आज मिति २०७६ साल चैत २ गते देशका ठूला राष्ट्रिय दैनिकहरुले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयलाई विशेष प्राथमिकता दिएका छन् । साथै, अन्य विभिन्न सन्दर्भलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । 

कान्तिपुर दैनिकले ‘आउजाउ गर्न चार नाका मात्रै’ शीर्षकमा भारतले कोभिड–१९ संक्रमणको जोखिम घटाउन भन्दै नेपालसँगका प्रमुख चारबाहेकका नाका बन्द गरेको समाचार प्रकाशित गरेको छ । 

भारतको गृह मन्त्रालयले शुक्रबार दुई देशका नागरिक ओहोरदोहोरका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (वनबासा) र काँकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो । 

यो व्यवस्था आइतबारदेखि लागू हुनेछ । कार्गी (सामान) ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट यथावत् रहनेछ ।

यता, नयाँ पत्रिका दैनिकले ‘चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान’ शीर्षकमा कोरोना भाइरस फैलिरहेको देशबाट नेपालमा उडान भइरहेको सन्दर्भलाई समाचार प्राथमिकता दिएर प्रकाशित गरेको छ । 

चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई हजार यात्रु बाहिर गइरहेका छन् । 

बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन् । शुक्रबार नेपाल आएकामध्ये सात सय विदेशी हुन् । विदेशीमध्ये पनि तीन सय भारतीय हुन् । त्यस्तै, शनिबार तीन सय भारतीयसहित चार सय ५० विदेशी नेपाल आएका छन् । चीन, दक्षिण कोरिया, भारत, हङकङ, ओमान, मलेसिया, थाइल्यान्ड, जापान, साउदी अरब, कतार, युएईदेखि टर्कीबाट विमान आवतजावत गरिरहेका छन् । 

शनिबार मात्रै चीनको कुन्मिङबाट चाइना इस्टर्न तथा गोन्जाउबाट चाइना साउदर्न, हङकङबाट नेपाल एयरलाइन्स, सोलबाट कोरियन एयरलाइन्स, जापानको ओसाकाबाट नेपाल एयरलाइन्स, सिंगापुरबाट सिल्क एयर, बैंककबाट थाई एयर, क्वालालम्पुरबाट मालिन्दो तथा मलेसिया एयरलाइन्स, दोहाबाट कतार एयर, सारजाहबाट एयर अरेबिया, दुबईबाट फ्लाई दुबई, आबुधाबीबाट इत्तिहाद, मस्कटबाट ओमान एयर, कुवेतबाट जजिरा एयर, इस्तानबुलबाट टर्किस एयरलाइन्सले काठमाडौं उडान गरेका थिए । 

सीधै उडानमा रोक लगाउनेभन्दा पनि पर्यटक भिसामा कडाइ गराएर आवागमन रोक्ने नीति लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् ।

नागरिक दैनिकले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेकाहरुको अप्ठेरोको विषयलाई प्राथमिकता दिएको छ । 

काठमाडौं ( नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो।

चार वर्षअघि भएको १३औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले पूर्वप्रतिबद्धता अनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै निकटहरू नै असन्तुष्ट छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टी्भित्र र बाहिर प्रश्न उठिरहेको छ। १३औं महाधिवेशनअघि जस्तो पार्टी्भित्र र बाहिरको वातावरण देउवा अनुकूल नरहेको भन्दै उनलाई आफ्नै निकटले पुनः सभापतिको प्रत्यासी नबन्न सुझाउन थालेका छन्।

पौडेलका लागि असन्तुष्ट पक्षबाट नेतृत्वका अन्य आकांक्षीलाई मनाएर मैदानमा एक्लो प्रत्यासी बन्ने वातावरण सिर्जना गर्नु निकै अप्ठेरो छ। सभापति देउवाले एकपछि अर्को गर्दै पेल्दै जाँदा संस्थापन इतर पक्षलाई मिल्न दबाब परेको पौडेल निकट नेताहरूको बुझाइ छ। ‘संस्थापन इतर नमिल्दा फेरि पनि देउवा नै सभापति बन्ने सम्भावना बढ्छ,’ पौडेल पक्षका एक नेताले भने, ‘दोस्रो तहका आकांक्षीले एकले अर्कालाई स्वीकार गर्ने अवस्था नभएकाले अन्तिममा सबै असन्तुष्ट पौडेलसँग गोलबद्ध हुने अवस्था आउँछ।’

नेता पौडेलसँग पनि सुमधुर सम्बन्ध नहुँदा सिटौला संस्थापनतिर लाग्ने वा इतर समूहमा सक्रिय हुने भन्नेमा दुविधामा रहेको स्रोतको दाबी छ। केन्द्रीय सदस्य गगनकुमार थापा, प्रदीप पौडेलसहितका नेताहरू देउवाबाट पार्टी चल्न नसक्ने भन्दै सिटौला, पौडेल, शशांक, सिंह, शेखर, महत, अर्जुननरसिंह केसीलाई एकै ठाउँमा उभ्याउन सक्रिय छन्। तर, सिटौला निकट नै मानिने शिव हुमागाईं, भिमसेनदास प्रधानसहितका नेता विपक्षमा छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामपछि सिटौला निकट नेताहरूले सभापति देउवालाई हेर्ने दृष्टिकोणमा फरक आएको हो। संसदीय दलको नेता चयनका लागि भएको मतदानमा सिटौला निकट सांसदको मत विभाजित भएको नेताहरू बताउँछन्।

त्यसैगरी, अन्नपूर्ण पोस्ट्ले जनकपुरमा मदिरा सेवनले ज्यान गुमाएकाहरुको विषयलाई ‘मदिराले खान्छ मान्छे’ शीर्षकमा समाचार लेखेको छ । 

 मान्छेले मदिरा खान्छन्। प्रदेश–२ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ। अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तीमा हजार लिटर मदिरा उत्पादन हुन्छ।

युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ। मदिरा खाएर ठूलो संख्यामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन।

विषाक्त मदिरा पिउँदा विगत केही वर्षमा धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृत्यु भएको छ। अखाद्य पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको ज्यान मात्रै गएको छैन, सामाजिक(आर्थिक हैसियत पनि सखाप भएका उदाहरण छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप