मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

कमरेडहरू ! पुँजीवादलाई गाली गरेर आउँदैन साम्यवाद

सोमबार, ३१ वैशाख २०८१, ०६ : ५८
सोमबार, ३१ वैशाख २०८१

सारांशमा आधुनिक तथा सन्तुलित पुँजीवाद भनेको ई लोकतन्त्र, निजी स्वामित्व, प्रतिस्पर्धामा आधारित उद्यमशील अर्थ–व्यवस्था, आधारभूत मानवअधिकार र कानुनी राज्यको समष्टि हो । तर उनीहरूले आफूलाई पुँजीवादी नभनेर खुला बजार वा अर्थ व्यवस्थासहितको प्रजातान्त्रिक मुलुक भन्छन् । 

कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद भनेको माक्र्सवादी दृष्टिकोण अनुसार द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्वका साथै कम्युनिस्ट पार्टीको एकदलीय शासन प्रणाली, निजी स्वामित्वको अन्त्य र सामाजिक स्वामित्वमा आधारित समाज व्यवस्था हो ।

समाजवादको चरम अवस्थामा समाज साम्यवादमा रूपान्तरण हुन्छ । जहाँ वर्ग र राज्य दुवैको विलोपीकरण हुन्छ । सबै मानिस आर्थिक रूपमा समान हुन्छन् । अर्थात् साम्यवाद भनेको मानव समाजको अलौकिक स्वर्ग हो । 

कमरेड भन्ने शब्द स्पेनिस भाषा ‘कामाराडा’बाट आएको हो । जसको शाब्दिक अर्थ ‘च्याम्बर मेट’ अर्थात् कोठामा सँगै बस्ने साथी भन्ने हुन्छ; च्याम्बरले सदन, सभा, मण्डल आदिको अर्थ पनि दिन्छ । कमरेड शब्दको व्यापक प्रचार फ्रान्सेली क्रान्तिबाट भयो । समाजवादी र मजदुर वर्गबिच एकअर्कालाई सम्बोधन गर्ने प्रिय शब्द बन्यो, कमरेड । तर यसको विश्वव्यापीकरण भने रुसी अक्टोबर क्रान्तिले ग¥यो । यसरी कमरेड शब्द कम्युनिस्टलाई सम्बोधन गर्ने विशेषणवाचक शब्द बन्यो । 

दोस्रो विश्वयुद्धपछि शोभियत रुसको सहयोगमा तीव्र रूपमा पूर्वी युरोपका धेरै मुलुकमा कमरेडहरूले भन्ने गरेको समाजवादी क्रान्ति सम्पन्न भयो ।

सारभूत रूपमा पुँजीवाद, साम्यवाद र कमरेड शब्दको परिचय यति नै हो, मानव समाजको विकास आदिम साम्यवाद, दासयुग, सामन्तवाद हँुदै पुँजीवादमा आएको हो । पुँजीवादको प्रारम्भिक अवस्थामा कार्ल माक्र्सले अब मानव समाज समाजवाद हँुदै साम्यवादमा रूपान्तरण हुनेछ भन्ने अवधारणा प्रस्तुत गरे । माक्र्सको यही अवधारणपश्चात् विश्व–व्यवस्था पुँजीवादी र समाजवादी ध्रुवमा विभाजित भयो । परिणामस्वरूप यी दुई परस्पर विरोधी अवधारणाका बिचमा अस्वस्थ प्रतिद्वन्द्विता र प्रतिस्पर्धा सुरु भयो । 

दोस्रो विश्वयुद्धपछि शोभियत रुसको सहयोगमा तीव्र रूपमा पूर्वी युरोपका धेरै मुलुकमा कमरेडहरूले भन्ने गरेको समाजवादी क्रान्ति सम्पन्न भयो । समयको यही अन्तरालभित्र ४६ वटा मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व लागु गर्ने नाममा एक दलीय शासन व्यवस्था स्थापना भयो, तर ती सरकारले व्यवहारमा नवसामन्तभन्दा कठोर र निरङ्कुश शासन सञ्चालन गरे । परिणामस्वरूप सन् १९७० को दशकदेखि ती अतिवादी कम्युनिस्ट सरकारको पतन सुरु भयो । 

९० को दशकमा आइपुग्दा सोभियत रुसबाट समेत कम्युनिस्ट शासनको अन्त्य मात्र भएन, मुलुक समेत टुक्रा–टुक्रा हुन पुग्यो । तथापि कमरेडहरू अतिवादबाट मुक्त भई आत्मसमीक्षा गर्दैनन्, फेरि पनि पुँजीवादको घुसपैठबाट यो सब भएको भनी आरोप लगाउँछन् । हाल विश्वमा चीन, उत्तरकोरिया, क्युबा, लाओस र भियतनाम गरी पाँचवटा देशमा मात्र कम्युनिस्ट व्यवस्था छ, तर पनि कमरेडहरूले विश्वभरि साम्यवाद स्थापना गर्ने डङ्का पिटिरहेकै छन् । पत्याउनेको संख्या घट्दो क्रममा भए पनि ठुलै छ । 

समाजवादलाई पुनर्जीवित गर्न विश्वका कुनै पनि मुलुकमा सकिएको छैन । किनकि उनीहरूले असान्दर्भिक बन्दै गएको शास्त्रीय माक्र्सवादलाई आधुनिक विश्व परिवेशअनुरूप परिमार्जन र विकास गर्न सकेनन् । अन्ततः सिद्धान्त मन्त्रको रूपमा परिणत हँुदै गएको छ । केवल जप्ने प्रयोजनका लागि मात्र । 

पुँजीवादी मुलुकले पनि ठुल्ठुला आर्थिक सङ्कटको सामना गर्दै आएका छन्— सन् १७७२ को बोस्टन टी पार्टी सङ्कट; सन् १९२९–३९ को आर्थिक महामन्दी; सन् १९७३ को ओपेक तेल सङ्कट; सन् १९९७ को एसियाको वित्तीय सङ्कट; सन् २००७–८ को सबप्राइम मोर्टगेज सङ्कट आदि । 

पुँजीवादी मुलुकहरू सिङ्गापुर र नार्डिक मुलुकहरूको उदाहरण दिनुको सट्टा उत्तरकोरिया र क्युबाको उदाहरण दिने साहस भने कमरेडहरूले गर्दैनन् ।

यद्यपि पुँजीवादले जति जति सङ्कटको सामना गर्दै आयो, उतिउति आफूलाई हराभरा गर्दै लगेको छ । जसको मूल कारण अर्थशास्त्री जोसेफ सुम्पिटरले भनेजस्तै पुँजीवादले पुराना कुराको विघटन गर्दै नवप्रवद्र्धनका आधारमा नयाँ ढङ्गले आफूलाई सिर्जनात्मक विकास गर्दै आयो । त्यसैले पुँजीवादलाई दीर्घजीवन प्राप्त भयो । अर्थशास्त्री अमत्र्य सेनका अनुसार विकासका लागि स्वतन्त्रता अनिवार्य छ । यी तथ्यले के साबित गर्छ भने राज्य र बजारबिचको सन्तुलनमा सञ्चालन भएको अर्थव्यवस्था सबभन्दा उद्यमशील हुन्छ । जसका लागि स्वतन्त्रता, समानता र नवप्रवद्र्धनको संयोजन अनिवार्य हुन्छ । तथापि संसारका अधिकांश समस्याको मूल कारण पुँजीवाद भएको ठोकुवा कमरेडहरू आँखा चिम्लेर गर्छन् । भाषण र दस्तावेजमा सिङ्गापुर, डेनमार्क, स्विट्जरल्यान्ड, नर्वे, स्विडेनले जस्तो विकास गर्नुपर्छ भन्छन् । सत्तारोहण भएका बेला उदारवादको पक्षपोषण गर्छन्, पार्टीलाई भने उत्तरकोरिया र क्युबाको जस्तो सर्वहारा वर्गको अधिनायकत्व लागु गर्ने स्कुलिङका साथ एकदलीय कम्युनिस्ट पार्टीको तानाशाही शासन व्यवस्था स्थापना गर्नेतर्फ हिँडाउने दुष्प्रयास गर्छन् । कति ठुलो विरोधाभास छ कमरेडहरूमा । 

पुँजीवादी मुलुकहरू सिङ्गापुर र नार्डिक मुलुकहरूको उदाहरण दिनुको सट्टा उत्तरकोरिया र क्युबाको उदाहरण दिने साहस भने कमरेडहरूले गर्दैनन् । साम्यवादको काल्पनिक कोरा तर सुन्दर सिद्धान्त र नारासँग पुँजीवादको अन्तर्विरोधपूर्ण र जटिल यथार्थता वा व्यवहारसँग तुलना गर्छन् । 

तुलना सिद्धान्त र व्यवहारका बिचमा गर्न उपयुक्त हँुदैन । सिद्धान्तको तुलना सिद्धान्तसँग र व्यवहारको तुलना व्यवहारसँग गर्नुपर्छ । उनीहरू पुँजीवादी व्यवस्थामा आएको सङ्कट पनि पुँजीवादका कारण आएको र समाजवादको पतन पनि पुँजीवादको घुसपैठका कारणले भएको दाबी गर्छन् । पुँजीवादी विकासका मोडल वा खाका अनगिन्ती छन् । समाजवादी विकासका मोडल भने लगभग एकै किसिमका छन्— पार्टी नियन्त्रित शासन व्यवस्था र राज्य नियन्त्रित अर्थव्यवस्था । 

पुँजीवादी विकासका लागि भएका वासिङ्टन सहमति, सेन्टियागो सहमतिजस्ता चर्चित विश्वव्यापी मोडलका अलावा सिङ्गापुर मोडल स्कानेडिभियन देशका मोडल उदाहरणीय छन् । फेरि पनि साम्यवादका पक्षधर कमरेडहरू भन्दै छन्— फासीवाद पुँजीवादको अर्को रूप हो । पुँजीवादले सधैँ युद्ध निम्त्याउँछ । साम्राज्यवाद पुँजीवादको मरणासन्न अवस्था हो । गरिबी र आर्थिक असमानता, जलवायु परिवर्तन र वित्तीय सङ्कटको प्रमुख कारण पुँजीवाद हो । पुँजीवाद धनीहरूले गरिबमाथि शासन गर्ने व्यवस्था हो । यसले लोभको सिर्जना गर्दै एकाधिकार निम्त्याउँछ । बृहत् उत्पादन पुँजीवादको विशेषता हो भन्नेजस्ता आरोप लगाउँछन्, तर सफल साम्यवादको उदाहरण दिन सक्दैनन् । 

परम्परागत पुँजीवाद वास्तवमै शोषणमा आधारित थियो । त्यो समयमा कमरेडहरूको आरोपमा केही सत्यता थियो । आज पनि दुनियाँमा केही त्यस्ता मुलुक रहेका छन्, तर आजको विश्व प्रणाली र नवप्रवद्र्धनको युगमा सिङ्गापुर, दक्षिणकोरिया तथा नार्डिक मुलुकको जस्तै सन्तुलित तथा नियन्त्रित बजार अर्थव्यवस्था सहितको ‘ई डेमोक्रेसी’ अपनाउनुको विकल्प छैन । त्यसकारण कमरेडहरू पुरानो डेट एक्स्पायर चस्मा बदल । 

स्वभावैले हरेक शासन व्यवस्था अपरिचितहरू बिचको एकता हो । तसर्थ कमरेडहरू निरन्तर पुँजीवादलाई गाली गर्नुभन्दा सिर्जनात्मक माक्र्सवादको विकास गर्नतर्फ लाग्न उपयुक्त हुन्छ । 

आजको युग उत्तरआधुनिक युग हो । शास्त्रीय माक्र्सवादको सिर्जनात्मक विकास आजको आवश्यकता हो । जसका लागि कम्तीमा शास्त्रीय माक्र्सवादले बहुदलीयता, आवधिक निर्वाचन, कानुनी राज्य, आधारभूत मानवअधिकार, स्वतन्त्रता, समानता, निजी स्वामित्वको सुनिश्चितता, शक्तिपृथकीकरण, न्यायिक स्वतन्त्रता, मिश्रित अर्थतन्त्रजस्ता विषयलाई स्वीकार गर्दै व्यवहारमा लागु गर्नुपर्छ । 

नेपालको सन्दर्भमा भन्ने हो भने भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा संविधानमा लेखिएको समाजवादप्रति प्रतिबद्ध रहने, समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने प्रावधानप्रति सम्मेलनमा सहभागीले गम्भीर आशङ्का गरेको विषय समेत बाहिरिन पुग्यो । लगानीकर्ताले लगानीको संरक्षण, सहज प्रक्रिया, आर्थिक स्थायित्वको प्रत्याभूति र नाफा लैजाने प्रावधानको सुनिश्चितता तथा लगानीमैत्रीको वातावरणको माग गरे । सायद यही आशङ्कालाई निवारण गर्न सरकारले हतारमा लगानीसम्बन्धी नौवटा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्नुप¥यो । एक समयमा लोकप्रियता हासिल गर्न प्रयोग गरिएको शब्द परिवर्तित समयमा लगभग गलपासोजस्तो बन्न पुग्यो । चीनको सहयोगमा नेपाल–चीन जोड्ने कोदारी राजमार्ग बनेपश्चात् नेपाल–चीन सम्बन्धका बारेमा भारतले गरेको आशङ्काप्रति तत्कालीन राजा महेन्द्रले बडो कूटनीतिक भाषामा प्रतिक्रिया दिएका थिए— साम्यवाद मोटर चढेर आउँदैन ।

यस्तै कमरेडहरू साम्यवाद पुँजीवादलाई गाली गरेर आउँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप