विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आइतबार विभिन्न आठ निर्णय गरेको छ । प्रस्तुत कार्यसूची उपर छलफलबाट खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको लागि सङ्घ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गीकरण समितिले पेस गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाउने निर्णय भयो ।
मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई सङ्घीयता अनुकूल हुने गरी शासकीय प्रबन्ध मिलाउने अर्को निर्णय बैठकले गर्यो । राष्ट्रिय युवा नीति÷राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रूप दिने भएको छ । यस्तै राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को जिल्ला युवा समिति गठन भई क्रियाशील रहेको र प्रदेश कानुन बमोजिम पनि जिल्ला युवा समितिको व्यवस्था हुँदा दोहोरो संरचना रहेको हुँदा सो सम्बन्धमा दोहोरो संरचना हटाउन कानुन परिमार्जन गर्न सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।
यसै गरी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित समयमा नै सम्पन्न गर्न नेपाल सरकारमा अनुरोध गर्ने भएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्को भूमिका सम्बन्धमा प्रदेश खेलकुद परिषद्को प्रतिनिधि सहित छलफलबाट अन्तिम रूप दिन सुझाव दिने पनि निर्णय गरिएको छ । यस्तै नेपाल स्काउटमा आबद्ध स्काउटरहरुको तालिम, परिचालन, मानवीय ज्ञान प्रवर्द्धन गर्न प्रदेश सरकार र स्थानीय तहबाट सहयोग र सहजीकरण गर्ने निर्णय आजको बैठकले गरेको छ ।
बैठकमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले खेलकुदमा क्यालेन्डर आवश्यकता रहेको जसले खेलकुदलाई चलायमान बनाउने भन्दै क्यालेन्डरको अवधारणालाई प्रदेशहरूले पनि उतिकै महत्त्वका साथ अगाडि बढाउनु पर्ने बताए । पूर्वाधारको लागि मापदण्ड तयार पारेर हस्तान्तरण गर्नुपर्ने पनि मन्त्री श्रेष्ठले जिकिर गरे । मन्त्री श्रेष्ठले सरकारको लगानीले मात्र पूर्वाधारमा पर्याप्त नहुने भएकोले सिएसआरको लागि मन्त्रालयले यो पटक धेरै प्रयास गरेको जानकारी दिए । उनले दातृ निकायहरूबाट पनि लगानीको लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिए ।
बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री दीर्घ बहादुर सोडारीले छैटौँ राष्ट्रिय खेलकुदमा बनेका भौतिक संरचनाहरू मर्मत र संरक्षण हुनुपर्ने बताए । उनले राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरू प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने तर्क पनि राखे ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले बजेट र कार्यक्रमलाई आवश्यकताका आधारमा प्राथमिकतामा राख्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको विविध पक्षमा प्रकाश पारेका थिए । बैठकमा सात प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव तथा युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियाेजन गरिएन’
-
एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
-
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
-
विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो– सुवाल
-
भू - माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको छ : चित्रबहादुर केसी
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान