कविता : ऊ को हो ?
शनिबार, ३१ जेठ २०७७, ११ : २७
-भरत सिग्देल
मदमत्त छ सराबी
लम्पसार खुल्लामञ्चमा
झिम्क्याउँछ लाल नेत्र ती
हास्य रस नेपथ्यमा ।
खचाखच दर्शकदीर्घा
एम्बुलेन्सको साइरनसँगै
काट्छ, जोड्छ मानचित्र
सिद्धहस्त आइरनसँगै ।
कसेर मुठ्ठी जोडले
चिच्याउँछ नशा फुलाउँदै
खोस्रन्छ माटो धर्तीको
थर्थरी पयर डुलाउँदै ।
लिएर बासना खुनको
निल्दछ थुक घुटघुटी
गर्दछ चुम्बन हावामा
पिरती साट्ने हुटहुटी।
पिट्दछ ताली अकेला
घुमाई शिर फनक्कै
झस्किन्छ झसङ्ग झल्लु झैँ
तातेर गाला रनक्कै।
टनक्क कस्छ इँजार
मर्काई दाह्रा मरक्कै
फिस्लिक्क फुस्किन्छ बस्त्र त्यो
फर्कन्छ लज्जा फरक्कै।
काढ्दैछ चिटचिट पसिना
भेट्यो कि सन्निपातैले
छिरेथ्यो सिंहदरबार
ढल्यो कि कुर्सीको मातैले।