शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरोबाट ७ जनाको मृत्यु, दुई पक्की पुल बगे

सोमबार, ०५ साउन २०७७, २१ : ४५
सोमबार, ०५ साउन २०७७

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर सोमबार रातिसम्म ७ जनाले ज्यान गुमाएका छन् । यस्तै १० जना घाइते भएका छन् ।  कागेश्वरी मनोहरा–१ गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ । 

यसैगरी दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलाले बगाएर ४२ वर्षीय मानमती ठगुन्ना र ५ वर्षीया बालिका आरती ठगुन्नाको मृत्यु भएको छ । उता पहिरोले पुरिएर तनहुँमा २ जनाको ज्यान गएको छ ।  भानु नगरपालिका–९ की ८० वर्षीया तिलमाया धौराली र १४ बर्षीया सितस्मा धौरालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले जानकारी दिए । 
सितास्माको उद्धारको क्रममा मृत्यु भएको थियो । भानुमा पहिरोले दुई घर पुरेको छ । 

‘बाढी र पहिरोका कारण सोमबार ७ जनाको मृत्यु भएको छ’ नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) निरज बहादुर शाहीले भने–‘१० जना घाइते हुनुहुन्छ ।’ 
गोरखाको गण्डकी गाउँपालिका–१ फुजेलकी २४ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । त्यस्तै, धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ बर्षिया किशोरी निरुता परियारको मृत्यु भएको छ ।

दुई पक्की पुल बगे
सोमबारको बाढीले बाजुरा र पृथ्वी राजमार्गको चितवन–धादिङ जोड्ने पक्की पुल बगाएको छ । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आवत–जावत बन्द भएको छ । 
पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी काठमाडौं आवतजावत ठप्प भएको छ ।

मुग्लिन नारायणघाट सडखण्ड अन्तर्गत चार किलो, धादिङको गजुरी, गल्छी र  बेनीघाटमा पहिरोले सडक अवरुद्ध भएको छ ।

बिपी राममार्गस्थित सिन्धुलीको नेपालथोक नकिजै कमेरेमा पहिरो खसेर सड्क अवरुद्ध भएको छ । 

‘काठमाडौं–हेटौंडा सडक खण्डको सिस्नेरीतर्फ हेभी सवारीसाधन र सुकेरामा सडक अवरुद्ध छ’ प्रहरी प्रवक्ता शाहीले भने–‘फर्पिङतर्फको फाखेल सडक पनि अवरुद्ध भएको छ ।’ 

तनहुँको डुम्रेबाट लमजुङ तर्फ जाने सडकखण्डको रमाइलो डाँडामा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

लमजुबाट मनाङतर्फ जाने सडक र रसुवाको स्याफ्रबेसी–टिमुरे पासाङल्हामु सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप