केन्द्रीय संस्करण

संस्मरण : आधा

person explore access_timeसाउन २४, २०७७ chat_bubble_outline0

“बाबा, यो कुन ठाउँ हो ?’’ गाडीबाट ओर्लेर परिक्षितले कमिलाको ताँतीजस्तो सवारीजामलाई नियाल्दै सोध्यो ।
“मध्य बिन्दू !’’ मैले दुई हातलाई फैलाएर नेपालजस्तो आकार तुल्याएँ र दायाँ हातको चोर औँलाले देब्रे हातको हत्केलामा डोब्दै जवाफ दिएँ ।
“कस्तो प्रकारको नाम हो यो ? लाग्छ ठाउँको नाम नभई यो त मेजरिङ टेपको संकेतको नाम हो ।’’

“अँ । सुन्दा त्यस्तै लाग्छ । मध्य बिन्दू भनेको एक पूरा भागलाई दुई आधा आधा छुट्याउने एउटा संकेत हो नि त । हाम्रो नेपाल सालाखाला आठसय किलोमिटर लम्बाइमा फैलिएको छ । पूर्वदेखि पश्चिमसम्म फैलिएको एकहजार बत्तीस किलोमिटरको ठीक आधा पाँचसय सोह्र किलोमिटर यही नगरपालिकामा पर्दछ । त्यही संकेत गर्न र आम यात्रीहरुलाई जानकारी गराउने उद्देश्यले यो ठाउँले मध्यबिन्दू नाम पायो । सायद अलिकति अगाडि पुग्यौँ भने यतैकतै मध्यबिन्दूको स्तम्भ पनि देख्नेछौ । हाम्रो आजको यात्रा दूरी काठमाण्डौ लमहीको हिसाबले पनि यो ठाउँ मध्यभागमा नै पर्दछ ।’’ 
“एऽऽ !’’ उसले बुझेजस्तो गरी टाउको हल्लायो ।

झोलामा आधा कपडाहरु र आँखामा आधा सपनाहरु कोचेर आधा रातमा यात्रा प्रारम्भ गरेको आधा दिन बितेको छैन । हामी आधाबाटोमा जाममा फस्न पुगेका छौँ । गाडीका बेगसँगै बत्तिएका आधा सपनाहरु पनि जाममा परेका छन् ।

लामो जामपछि गाडीहरु पैँसेरी नाचेजस्तै धिमा गतिले अगाडि अगाडि घस्रिन थाल्छन् । बिचबिचबाट मोटरसाइकल र साना गाडीहरु केही हात पछि सर्दै लामबाट फुत्त फुत्त अगाडि सेरेङ्गे नाचेझैँ कुदिरहेका छन् । धेरै अघिदेखि झमझम पानी परिरहेको छ । कुहिरोले वरिपरि डम्म ढाकेको छ । सडक धान रोप्न तयार गरिएको खेतझै भएको छ । बाहिर झर्दा झर्दा हाम्रा पाइन्ट र जुत्ता हिलाम्मे भैसकेका छन् । हाम्रो अत्यन्तै ज?री काम बित्न थालिसकेकोले हामीलाई मुक्ति चाहियो भनेझैँ गरी गाडीमोटरले कानै खानेगरी ‘ऐया ! ऐया !’ गरिरहेका छन् ।

“छिटो गाडी चढ्नु न सरहरु । एउटा गाडीले मात्र हामीलाई उछिन्यो भने हामी फेरि लाइनमा पस्न सक्नेछैनौँ । सयौँ गाडीभन्दा पछि परिसक्ने छौँ ।’’
हाम्रो गुरुजीले गरेको हतारोलाई स्वीकार गर्दै हामी गाडीभित्र हत्तपत्त छिर्छौँ । 

“कुशन पनि हिलाम्मे बनाइदिनुभयो तपाईँहरुले । बाहिर ननिस्कनुस् भनेको माने पो !’’ हाम्रो शिरदेखि पाउसम्मको दशा दृश्याङ्कन गर्दै हामीउपर छेडछाड गर्छ ऊ ।
“के बिग्रियो त ? जाबो कुशन, हिलाम्मे भए धोए गैहाल्छ नि ।’’

“सबै हिलोहरु धोएर कहाँ जान्छ र ? पटकपटक कुशन मात्र धोइरहने फुर्सद पनि त हुँदैन हामीहरुलाई । हिलो पार्टपूर्जामा पनि पस्यो भने गाडी नै बिग्रिहाल्छ ।’’

अलिअलि सरेका गाडीहरु फेरि ठप्प भैसकेका छन् । अब यो जामबाट फुत्किन पाइन्छ कि भनी पलाएको झिनो आशाको टुसो पुनः मुर्झाउन थालिसकेको छ ।

मस्त निदाइरहेकी देवकुमारीले झ्याल खोलेर बाहिर हेरिन् । “उफ्ऽऽऽऽ !’’ गर्दै लामो सास फेरिन् र सलले आँखा छोप्दै पुनः सिटमा टाउको झुन्ड्याइन् ।

’सुत सुत, मज्जाले सुत ।’ भनेजस्तै गरी मैले उनलाई हेरेँ ।

“मध्यबिन्दु भनिएको आधाले छुट्याउँछ कि जोड्छ ?’’ उनी बर्बराएजस्तो गरिन् । मस्त सुतेकी होलिन् भनेको त गाडी बाहिर हामीले गरेको कुरा पनि ध्यानपूर्वक सुनेकी पो रहिछन् । घरव्यवहारमा आधा आकाश थामेकी उनी अहिले आधा सिटमा खुम्चिएकी छिन् । 

म तर्सिएझैँ उनीतिर हेरेँ । परिक्षितले पनि पुलुक्क उनीतिर हे¥यो । गुरुजीले कान थापे मात्र ।

मध्यबिन्दु भनेको मध्यनजर गर्नु भनेजस्तै हो । अर्थात मुख्य सार । आधा होइन । आधा, आधा मात्र होइन, पूरा पनि हो । पूरा, पूरा मात्र होइन, आधा पनि हो । आधाले सधैँ छुट्याउँदैन जोड्ने पनि गर्छ । जोड्नेले सधैँ जोडिरहँदैन छुट्याउने पनि गर्छ । हेर्ने नजरको अन्तर हो । 

आधा घाम, आधा पानी । आधा ढुङ्गा, आधा माटो । आधा सुख, आधा दुःख । आधा जीवन, आधा मृत्यु । आधा आधाले त जीवन यात्रा चलेको हुन्छ । मानिलिऊँ कि यो यात्रा जीवन यात्राको अंश हो ।
राधा स्वयम् आधा थिइन् । कृष्ण स्वयम् आधा थिए । जब आधा आधा जोडिए अनि पूरा भए । उनीहरु आधा रहेनन् त्यसैले राधाकृष्णको पिरति महिमा अहिलेसम्म गाइन्छ ।
’मेरो प्रश्नको उत्तर खोइ ?’ भनेझैँ उनी बाहिरको उराठिलो वातावरणलाई उबाउँदै हाम्रा अनुहार छाम्छिन् ।

यसैबेला छोरी अस्मिता र जुवाइँ प्रविणको पालैपालो फोन आएको छः “कहाँ पुग्नुभयो ?’’

“आधाआधीतिर रे ।’’ मध्यबिन्दु भन्न पनि अल्छी लागेको छ उनलाई । उनैले जवाफ फर्माउँछिन् ।

खुशीको क्षणमा वा फकाउनुपर्ने अवस्थामा म उनलाई ुअर्धाङ्गिनीुले सम्बोधन गर्छु । उनी मेरी आधा अङ्गजस्तै । उनी मेरी आधा । म उनको आधा । उनले मलाई ’अर्धाङ्ग’ ले सम्बोधन गर्दिनन् । म आधा भएपछि मात्र अर्को आधासँग म जोडिने सम्भावना हुन्छ । म नै उनी बिना पूरा भएँ भने ममा कहाँ अटछिन् र उनी ?

उनी कहिलेकाँही यति नरम भैदिन्छिन् कि उनी पूरापूर मेरै हुन्छिन् । उनका सम्पूर्ण अङ्ग मेरै हुन्छन् । र कहिले यतिसम्म चरम भैदिन्छिन् कि उनी एक चिम्टी पनि मेरी बाँकी रहँदिनिन् । जब पूरापूर आफ्नै रहन्छिन् उनले बखान गर्छिन् ’म कति भाग्यमानी ! मैले हजुरको साथ पाएदेखिन् आजपर्यन्त एकरत्ति दुःख भोग्नु परेको कहिल्यै थाहा पाएकी छैन ।’

सधैँ अवस्था उस्तै रहन्न । कहिले हामी विषम आधा आधाबिच चरम विभेद पनि भैदिन्छ । उनी घरि आफैलाई घरि मलाई धारे हात लगाउँदै कुर्लिन्छिन्, ‘हे भगवान, यो कस्तो मान्छेको साथ लगाइदियौ तिमीले ? मैले यो घरमा हुलिएदेखि कहिल्यै पनि एक सर्को सुख देख्न पाएकी छैन ।’ 

तर चरम र नरमको आधा भएर हाम्रो जिन्दगी बितिरहेको छ । आधा आगो आधा पानी । आधा आधा, हाम्रो जिन्दगानी । उनी पूरै आफ्नी पनि हुँदिनन् र पूरै बिरानी पनि हुँदिनन् । आधा समय आफ्नी लाग्छिन् त आधा समय बिरानी । उनको व्यवहार मैले औसत रुपमा लिनुपर्ने हुन्छ । यस हिसाबले उनी अर्धाङ्गिनी हुन् भनी मैले बुझेको छु ।

“अबचाँहि काठमाण्डौदेखि आधा भयो होला नि ? होइन सर ?’’ हामी तीनैजनालाई अवाक अवस्थामा पुगेको देखेपछि हाम्रो गुरु प्रमोदकुमार महतोले कुरोको मेलो झिक्छन् । उनले आजसम्म नारायणघाट पश्चिमको जमिन नटेकेको कुरा यात्राको प्रारम्भमा नै बताइसकेका थिए । पूर्वकै जमिन उनलाई पूरा लाग्थ्यो रे । जब नारायणघाट कटे अनि मात्र आफ्नो भूभागलाई उनले आधा देख्न थाले । अर्को आधा नदेखेसम्म आफ्नो भागको आधा समेत सिङ्गोजस्तो लाग्छ ।

“अँ । त्यस्तै त्यस्तै होला ।’’ ठ्याक्कै भन्न सक्दिनँ म । मनमनै फाँट्छुः काठमाण्डौदेखि नारायणघाट एकसय एकचालीस किलोमिटर । त्यसपछि पचास किलोमिटर जति अगाडि आएहौँला । लमही करिब तीनसय असी किलोमिटर । यस हिसाबले यो ठाउँ काठमाण्डौदेखि पनि करिब करिब आधा ।

“कति आधा, आधा र आधा मात्र गरिराखेको ? होइन, कहाँको लागि आधा हो यो ?’’ आँखा चिम्लिएकै अवस्थामा देवकुमारीको जिज्ञासा थपिन्छ ।
“लमहीसम्मको लागि ।’’ मैले आजको यात्राको लागि तय गरिएको गन्तव्यलाई दोहो¥याउँछु ।

“दुई त यहीँ बज्न थालिसक्यो । लमही पुगिँदैन होला । हामी कहाँसम्म पुगौँला आज ?’’ 

“यस्तै जाम भइरह्यो भने लमही कहाँ पुग्न सकिनु ? सकिँदैन ।बुटवल वा गोरुसिंगेसम्म त होला नि ।’’

“लमही पुग्न सकिँदैन र सर ?’’ सशंकित हुन्छ प्रमोद । आधाकै भेउ पाएको छैन, पूरा कसरी थाहा हुनसक्छ उसलाई ?

“लमही पुग्न नसके यहीँनेर कसरी आधा भयो त ?’’ मेरो अगाडि अर्धाङ्गिनीको उधिनी नसक्नु जिज्ञासाको थुप्रो लागेको छ । 
“अँ, त्यो हिसाबले आधा भएन । हाम्रो पहिलो दृष्टिबिन्दू लमही थियो र पो उतादेखिन् आधा हुन्थ्यो त !’’ अहिले सवारी जामझैँ गन्तव्यको दृष्टिबिन्दू सर्दै सर्दै हाम्रो नजिक नजिक आइरहेछ । हामीले ठम्याएको आधा हामीभन्दा पछिपछि सरिरहेको छ ।

गाडी नारायणघाट कटेपछि ुअब त आधा भयो कि ? भन्दै बारम्बार सोधिरहेछ प्रमोद । आधा बाटो कटेपछि अधिकाँश बाटो कटेझैँ हुन्छहोला चालकहरुलाई । आधा यात्राले थकित चालकहरुमा आधा बाटो कटेपछिऊर्जा थपिन्छ होला । पहिले पहिले उसको लागि नारायणघाट नै आधा हुन्थ्यो होला । किनकि उसको घर जनकपुरतिर हो ।

जीवन यात्राको आधा मार्ग तय गरेपछि भने पटक्कै ऊर्जा थपिँदैन रहेछ । झन् झन् ऊर्जाको क्षयीकरण हुँदै जाँदोरहेछ । आधा जोवन गयो भनी सम्झँदा पनि विरक्ति लागेर आउने !
ऊ मधेशी । हामी पहाडे । ऊ नेपालको जनसङ्ख्याको आधाभन्दा बढी मधेशी नै भएको फुर्ति हाँकिरहेछ अघिदेखि नै । देवकुमारीले पहाडेहरु आधाभन्दा धेरै बढी छन् भनी प्रमोदको जिब्रो समातिरहेकी छिन् । ऊ तराइमा बसाइ सरेका पहाडेलाई समेत मधेशीमै गन्ती गर्छ । देवकुमारी त्यसो हुँदै होइन भन्छिन् ।

“यहाँदेखि मधेशीहरु पनि आधा हुन्छन् होला ।’’ नयाँ कुराको आविष्कार गरे झैँ प्रमोदको अनुहारमा खुशी चम्किएको प्रस्टै देखिएको छ ।

“यहाँदेखि पहाडेहरु पनि आधा नै हुन्छन् ।’’ देवकुमारीले उसको खुशीलाई मत्थर तुल्याउन झटारो हान्छिन् ।

“मधेशी र पहाडेले मात्र आधा हुन्छ र नेपाल ? हिमालीहरु पनि होलान् । लेकाली पनि होलान् । बेँसीवाला होलान् । उपत्यकावाला होलान् ।“ परिक्षितको तर्क पनि बेमुनासिव छैन ।
जाम भने उस्तै छ । यस्तै जाम लम्बिने हो भने आज लमही कुनै हालतमा पुग्न सकिँदैन ।

“मेरो त काम नै गाडी हाँक्ने । म रातदिन भन्दिनँ । तपाईँहरु मानिहाल्नुहुन्छ भने लमही होइन कोहलपुर नै पु¥याइदिनसक्छु ।“ भर्खरै मात्र हो उसले कोहलपुरको नाम पहिलोचोटी सुनेको । कति छिटो कण्ठस्थ गरिसकेछ । उसको यो अठोटले परिक्षितको अनुहार उज्यालिन्छ । देवकुमारी पनि जीउलाई ठड्याउँदै तनक्क तन्काउँछिन् ।

छसात महिनाको बच्चोले बामे सर्न सिकेझैँ गाडीहरु पनि चारहात सर्दै बिसाउँदै गरिरहेका छन् । यत्तिकैमा मध्य बिन्दूको स्तम्भ पनि हाम्रो सम्मुख आइपुग्छ । हामीहरु गाडीबाट ओर्लिन खोज्छौँ ।
“प्लिज ढोका नखोलिहाल्नुस् न सरहरु !’’ प्रमोद आपत्ति जनाउँछ ।

“ढोका नखोली बाहिर कसरी ओर्लन सकिन्छ र ?’’

“म त्यही त भन्दैछु । नओर्लिदिनुस् । अब एक सेकेनमै जाम खुलिहाल्छ ।’’

हामी गुरुको निर्देशन मान्न बाध्य छौँ । गाडीभित्रबाटै मध्यबिन्दु स्तम्भको फोटो लिन्छौँ ।

“कोहलपुर पुग्नलाई कहाँनेरबाट आधा हुन्छ ?’’ फेरि सोध्छ प्रमोद । यात्रा हो, आधाको निक्कै महत््व हुन्छ यात्रामा । यात्रा के हो ? समयको बुई चढेर उड्नु यात्रा हो । यो संसारमा समयको बुइ नचढ्ने कुन वस्तु होला र ?
“सर कति वरसको पुगिहाल्नुभयो ?’’ गुरु प्रमोदले यात्राको प्रसङ्ग फेरेर मेरो जीवनयात्राउपर प्रश्नचिन्ह उठाउँछ ।

“म आधा भएँ । अर्थात् अधबैँसे ।’’ आफ्नो उमेर अङ्कमा बताउनुभन्दा क्रममा बताउनु सजिलो लाग्छ । आधा भन्दा निर्धक्कसँग भन्न पाइन्छ । अङ्कगणितीय मापनमा व्यक्त गर्दाजस्तो अप्ठ्यारो महसुस हुँदैन । आधा उमेर पुगुन्जेल युवा । त्यसपछि मात्र वृद्ध । आफूलाई वृद्ध भनिएको कसैले रुचाउँदैन । उसोभए म युवा कि वृद्ध ? त्यसो त मेरो यात्राको गन्तव्य कहाँनेर हो मलाई थाहा नै कहाँ छ र?म मात्र होइन हरेक प्राणी आफ्नै यात्राको गन्तव्यप्रति अनभिज्ञ छन् । कोरोनाजस्ता महामारी नजिक आइदिँदा गन्तव्य बिन्दू पनि नजिक सरेजस्तो लाग्ने । सामान्य अवस्थामा गन्तव्य पर सरेजस्तो लाग्ने । आफूले सोचेको गन्तव्य बिन्दूमा पुगिने सम्भावना आधा मात्र छ ।

“आधा त आधा । कति उम्रको हुनु भयो ? भन्नु न ?’’ प्रमोद कर गर्छ ।

“त्रिपन्न कटेँ ।’’ आफ्नो उमेर अङ्कमा नभनी सुख पाउँदिनँ ।

मेरो जवाफ सुनेर ऊ खित्का छोडेर मरीमरी हाँस्छ, “हाम्रो गाउँमा त त्रिपन्न कटेकाहरु पूरा भैसक्छन् । कहाँको आधाको आधा रहन पाउनु ?“

“तर हाम्रोतिर त्यस्तो छैन । एकसय वर्षभन्दा माथि बाँच्नेहरु धेरै छन् । उनीहरुको हिसाबले म अधबैँसे नै हुँ ।’’ मान्छेको बैँस त पन्ध्रदेखि पच्चीस वर्षको बिचमा हुन्छ । यस हिसाबले अधबैँसे बीस वर्ष वरपरकोलाई भनिनुपर्ने । तर म आफूलाई अधबैँसे भन्न अप्ठ्यारो मान्दिनँ ।

मैले वास्तविकता जनाइदिएको मन पर्दैन मेरी अर्धाङ्गिनीलाई । बिहे गरेको दिनदेखि मैले स्वास्नीको बूढो पदवी ग्रहण गरेको छु । यो नितान्त व्यक्तिगत कुरा हो तर पनि बाहिरफेर बूढो देखिनुहुँदैन भन्ने सामान्य सिद्धान्त हो उनको । म उनलाई जिस्क्याउन खोज्छुः “प्राणीहरुको आधातिरै सबैभन्दा महत्त्वपूर्ण अङ्ग रहेको हुन्छ । त्यसैको महत्त्व सावित गर्न अर्धाङ्ग र अर्धाङ्गिनी शब्दको उत्पत्ति भएको हो कि ?’’
“होइन, होइन । त्योभन्दा महत्त्वपूर्ण अङ्ग आधाको पनि आधातिर हुन्छ, त्यो भनेको मुटू हो । लोग्नेहरु स्वास्नीको मुटुमा बसेका हुन्छन्, त्यसैले अर्धाङ्गिनी कहलिएका हुन् । उनी बलियो तर्क प्रस्तुत गर्छिन् ।

“त्यसो हो भने अझ महत्त्वूर्ण अङ्ग आधाको आधाको आधातिर हुन्छ, त्यो भनेको आँखा, कान, नाक, मुख हो ! स्वास्नीहरु लोग्नेका आँखाभरि, कानभरि र मुखभरि हुन्छन् । त्यसैले उनीहरु अर्धाङ्गिनी हुन् ।’’ म थप्छु ।
“अझै महत्त्वपूर्ण अङ्ग आधाको आधाको आधाको आधातिर हुन्छ, त्यो भनेको मस्तिष्क हो । मस्तिष्क ।’’ परिक्षित भन्छ ।

“मस्तिष्कलाई चलाउने त मस्तिष्कको ठीक अगाडि ललाट हुन्छ । ललाटमा अल्लाह बसेको हुन्छ । हामीहरु उसैका अर्धाङ्ग हौँ ।“ प्रमोद भन्छ ।
मलाई यस्तो लाग्छ कि हाम्रो आधा भाग शिरदेखि पाउतक हरेक अङ्गमा रहेको छ । त्यसरी नै पूर्वदेखि पश्चिमतक र उत्तरदेखि दक्षिणतक हरेकका लागि फरक फरक स्थलहरुमा आधा आधा गन्तव्यहरु रहेका हुन्छन् । तीन करोड नेपालीहरुको आधा आधा गन्तव्यले नेपाल बनेको छ ।

मध्यबिन्दू नगरपालिका कटेपछि भने जाम खुलेझैँ गाडीको लाम सललललल बग्न थाल्छ । अलिकति पर सामानको लोड भरेको ट्रक हिलोमा फसेको देखा पर्छ । ट्राफिक भाइहरुले जाने र आउने गाडीहरुलाई आधा आधा गरी जाममा परेका गाडीहरुलाई पास गराइरहेका रहेछन् । “हाम्रो जीवनयात्राको जाम खुलाउन कसले सिटी फुक्दै पास गराउँदै गर्छ हँ ?’’ 

फसेको ट्रक पार गरेपछि बेगले बत्तिन थाल्छन् गाडीहरु । यतिखेरसम्म दिउँसोको तीन बज्न आँटिसकेको छ । हामी एकैछिनमा दाउन्ने पुगिसकेका छौँ । दाउन्नेका टिनका छाप्राहरुले हाम्रो स्वागत गर्न हामीतिरै कुदिरहेका जस्ता देखिन्छन् । त्योभन्दा छिटो कुदेको छ दाउन्नेको आलो दालभातको मसलेदार बास्ना । भोकले गर्दा उपद्रै मिठो लाग्छ भातको हर्हराइरहेको बास्ना ।

“भो, अब यतै खाना खाऊँ ।’’ घुटुक्क थुक निल्दै मैले प्रस्ताव गर्छु ।

“हो, हो, यतै खाऊँ ।’’ परिक्षितले तु?न्तै प्रस्तावको अनुमोदन गर्छ ।

“हामीले मात्र भनेर हुन्छ र ?’’ देवकुमारीले प्रमोदलाई संकेत गर्छिन् ।

“हामी त यो यात्राका आधा हौँ नि त !’’ म तर्क अघि सार्छु ।

“यात्रामा आधा त गुरुजी नै हो ।’’ उनी भन्छिन् ।

“कहाँ आधा मात्र हुन्छ ? चालक नै सबै हो नि । सबै यात्रुको ज्यान उसकै हातमा हुन्छ ।’’ परिक्षित तर्क गर्छ ।

बल्ल बल्ल मध्यबिन्दूको जामबाट मुक्ति पाएकोमा एकप्रकारको सन्तुष्टि सबैतिरबाट पोखिइरहेको छ ।

“तपाईँहरु भन्नुहुन्छ भने म गाडी यहीँनेर रोकिहाल्छु ।’’ दाउन्नेको एउटा टिनको छाप्रो अघि गाडीलाई रोकिदिन्छ ऊ । हामी पाल्पाली होटेलभित्र छिर्छौँ ।

“मलाई त खानै मन छैन । म हाफ मात्र खान्छु ।’’ मैले मेरो निजी ईच्छा व्यक्त गर्छु । मेरो उद्घोष आधा होटलेको प्रयोजनको लागि र आधा हामीमध्यकै यात्रुहरुतिर लक्षित हुन्छ । किनकि भोकभन्दा पनि आधा आधा हुँदै गएको खल्तीको पैँसाको करामत थियो त्यो इच्छा । फेरि कहाँ पुगेर जाममा फसिने हो, कति पटक गन्तव्य सार्नुपर्ने हो कुनै लेखाजोखा थिएन । गन्तव्यको सम्भावित संख्या बढेसँगै खल्तीको व्यवस्थापन गर्नसक्नु यात्राको अपरिहार्य विवेकशिलता हो ।

“आ म त फूल खाने ।’’ सधैँ आधामा चित्त बुझाउने देवकुमारीले पूरै खाना खान हिम्मत देखाउँछिन् ।

मैले हाफ माग्दामाग्दै पूरै थाली भरेर ल्याउँछ होटले साहुजी । भेज खाना भन्दाभन्दै उसले खानाको थालीमै मासुका कचौराहरु पनि भरेको छ । तर भातसँगै मासु बिकाउने उसको रणनीतिले हाम्रो अगाडि फेल खाइदिन्छ ।
“आधा झिक्नुस् ।’’ मेरो आदेशउपर साहुले ओठ लेब्र्याउँदै मेरो भागबाट दाल, भात, तरकारी, अचार, चटनी सबै थोकको आधाभन्दा वेशी नै झिक्छ । म फारु गरी गरी थालमा रहेका परिकारहरु उधिन्न थाल्छु । हाफ भनिएको खाना पूरै रित्त्याउँदा पनि भोकको आधा कुनो भरिँदैन ।

फूल खान्छु भनेकी देवकुमारीले आधा पनि नखाई हात चुठिसकेकी छिन् । उनले थालमा छाडेको खानाको पैँसा तिर्नुपर्ने अवस्थाले मन चिस्याइदिन्छ । परिक्षित र प्रमोदले फुल खानुको मज्जा लुटिरहेका छन् । 
भोकै उठ्नुभन्दा म पुनः हाफ माग्ने निर्णयमा पुग्छु ।

“हाफ ल्याऊँ कि फुल ?’’ साहुले मेरो भोकउपर कडा व्यङ्ग्य कसेको प्रस्टै छ । शुरुमै हाफ खाइसकेपछि अब फूल कसरी खानु ?

“हाफ ल्याउनु न हाफ । फुल खाने भए पहिल्यै भनिहाल्थेँ नि ।’’ साहुले मेरो भोकको अड्कल गरी गरी हाफको पनि हाफ ल्याइदिन्छ । म बुत्याउन थाल्छु । हाफ र हाफ फूल हुनुपर्ने हो । अझै हाफ जस्तै लागिरहेछ । पेट भरिएकै छैन । भोक मरेकै छैन । कति पटक हाफ मागिरहने ? खाऊँ खाऊँ लाग्दालाग्दै उठ्छु र हात चुठ्छु । काउन्टरमा पुगेर सोध्छु, “हाम्रो खानाको हिसाब कति भयो ?’’
“नौसय असी !’’

हिसाब फाँट्छु, दुईसयकै दरले पनि चारजनाले खाएको साधा खानाको मोल आठसय मात्र हुन्छ । देवकुमारीले आधा मात्र खाएकोले उनको आधा मात्र मोल लिइदिए हुन्थ्यो भन्ने आशा पनि छँदै छ । म अलमलिन्छु । साउलाई सोधिहाल्छु, “चारवटा भेज खानाको कसरी हुन्छ नौसय असी ?’’
“तीन फूल साधा खानाको छ सय । दुई हाफ साधा खानाको तीनसय असी ।’’

“एक हाफको कति हो र ?’’

“एकसय नब्बे मात्र ।’’

“कसरी हुनसक्छ दुईसयको आधा एकसय नब्बे ?’’ म झस्किएँ । तात्तिएँ र आत्तिएँ पनि ।

“हाफ खानाको दाम एकसय नब्बे नै हो ।’’

“दुईसयको हाफ एकसय पो हुनुपर्छ । एकसयभन्दा माथि हुनै सक्दैन ।’’ म हातमा हात्ती हल्लाएर हल्ला गरिरहन्छु ।

“तपाईँलाई मैले पैँसा खुवाएको हो र ? मैले त खाना पो खुवाएको हो । जसले उपलब्ध गराउँछ, त्यसैले मूल्य कायम गर्छ ।’’

“जसले उपभोग गर्छ, त्यसले तोक्न पाउनुपर्ने हो मूल्य त !’’

“हाम्रो ठाउँमा तपाईँको नियम लागू हुँदैन । यहाँ यस्तै चलेको छ । विश्वास लाग्दैन भने अरु होटेलतिर पनि सोध्नुस् ।’’

“खाना खुवाउनु पहिल्यै मोल भन्नुपर्छ नि त ।’’ आधा जोगाउने हिसाबले आधा खाँदा दोब्बर तिर्नुपरेको रिसले मुर्मुरिइरहेको छु म ।

“हाफ खान खोज्नेले पो पहिले सोध्नुपथ्र्यो नि हाफ खानाको रेट !’’ ऊ एकपछि अर्को जवाफमा झन् झन् ठूलो स्वर पारिरहेको छ । फलस्वरुप वरिपरिका होटलेका चिल्ने नजरहरु मैतिर सोझिएको पाउँछु ।

उसले भनेको ’खान खोज्ने’ लाई मैले ’निहुँ खोज्ने’ भनेझैँ बुझ्छु र म लाजले रातोपिरो हुन्छु । हातको हात्ती साउतिर हुत्त्याइदिन्छु । फिर्ता गरेको बाँकी खुद्रा पैँसा हतार हतार खल्तीमा कोच्छु । धन्न प्रमोद र परिक्षित गाडीमा बसिसकेका रहेछन् । देवकुमारी आधा बाटो पुगेर मलाई नै कुरिरहेकी छिन् । सोचिरहेकी होलिन् कि आधा म ठीक छु, आधा साउ ठीक छ । उनको समर्थन वा विरोध उनको घाँटीको आधातिरै अड्किएको छ ।
पैँसा बचाउने लोभले हाफ खाने जुक्ति लगाउँदा उल्टै मलाई नै फूल (मुर्ख) बनायो साहु मोराले । मैले आधा मागेपछि मेरा सहायक यात्रुहरुले पनि स्वतः आधा माग्नुपर्ने हो । मेरो त्यो जुक्तिले पनि फेल खायो । उल्टै होटलेले एक आधा खान खोज्दा दुई पूराको पैँसा पो तिरायो । तैपनि भोक पटक्कै मेटिएको छैन । आफ्नै अर्धाङ्गिनीको सामुन्ने पराइको हात लज्जित बनाइमाग्नुपर्ने जत्तिको पीडा अरु कुन थोकमा हुन्छ र ?
गाडी चढेपछि प्याच्च थुक्दै साउले सुन्नेगरी तीतो ओकलेँ, “स्साले हाफमाइन्डवाला ।“ साउले त सुन्यो सुनेन, तर नजिकै बसेकी स्वास्नीले भने मज्जाले सुनिन् । आधा टेन्सन यस्सै घट्यो ।
यात्रामा यस्तै हुन्छ । जीवन यात्रा होस् या सडक यात्रा । अङ्कगणितीय अनुमानले सधैँभरि यात्रा चल्दैन । अङ्कगणितीय अनुमानअनुसारको गन्तव्य हुँदैन । आधा सोचेको हुन्छ भने आधा नसोचेको भइदिन्छ । आधा आन्तरिक वातावरण र आधा वाहिरी वातावरणले यात्राको गन्तव्य निर्धारण गरिदिन्छन्, जुन आफ्नो वशमा हुँदैन ।

“सर रात त पर्नै आँटिसक्यो । यतै बसिहालम् कि ?’’ कोहलपुर पु¥याउने आँट गरेको प्रमोदले हार खाएको कुरा पो गर्छ ।

म हिसाब फाँट्छु, हामी यतै बसिहाल्यौँ भने हाम्रो आजको यात्राको आधा कति पछाडि धकेलिने होला ? वा हाम्रो पूरा यात्राको आधा कति दिन अगाडि सर्ने होला ? यो यात्रामा हामीसँग अघिपछि लागेर यहाँसम्म आइपुगेका नानाथरि आधाहरु कता कता पुगेर मिसिने होलान् ?

जीवन यात्रा र यो सडक यात्राबिच खास फरकचाँहि के होला ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.