सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जको सभामा देउवाको भाषण– मधेशवादी दलले मधेशलाई भजाउँने काम मात्र गरे

शुक्रबार, ३० भदौ २०७४, १८ : ०५
शुक्रबार, ३० भदौ २०७४

वीरगञ्ज– प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसवादी दलले मधेसलाई भजाउँने काम मात्रै गरेको आरोप लगाएका छन् । असोज २ गते हुन लागेको दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव प्रचारप्रसारको अन्तिम दिन पर्साको वीरगञ्जमा कांग्रेसको चुनावी सभामा सम्बोधन गर्दै देउवाले मधेसवादी दलले मधेसलाई भजाउने काम मात्रै गरेको आरोप लगाए । 

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ६ वटा मधेशी दल ६ तिर फर्केको उल्लेख गर्दै उनीहरुबाट मधेसको हित हुन नसक्ने दाबी गरे । ‘मधेशलाई कांग्रेसले मात्र अधिकार सम्पन्न बनाउन सक्छ,’ देउवाले भने, ‘यो निर्वाचन सामान्य होइन, अधिकार दिने पार्टीलाई छानेर मत दिनुहोस् ।’

मधेशी जनताको अधिकारको साथै राजनीतिक निकासका लागि सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेको भएपनि एमालेले विपक्षमा मत दिएर संसोधन फेल गरेको देउवाले स्पष्ट गर्न खोजे । परिवर्तन विरोधी शक्तिले जितेमा विस्तारै विस्तारै जनताको अधिकार खोसिने तर्क गर्दै देउवाले प्राप्त उपलब्धि रक्षाका लागि कांग्रेसलाई जिताउन पटकपटक आग्रह गरे । 

वीरगञ्ज दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका हो । वीरगञ्जमा कांग्रेसले अजयकुमार द्विवेदी मेयर र शान्ति कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । स्थानीय तहको अन्तिम चुनावी सभामा कांग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला, रमेश रिजाल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप