शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तेवतियाको एकै ओभरमा ५ छक्का, २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानको कीर्तिमान

सोमबार, १२ असोज २०७७, ०७ : १९
सोमबार, १२ असोज २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को नवौँ खेलमा राजस्थान रोयल्सले लिगको सबैभन्दा ठूलो लक्ष्य पछ्याउन सफल रह्यो । पञ्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याउँदै राजस्थानले ४ विकेटले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । यसअघि, सन् २००८ मा डेक्कन चार्जसविरुद्ध राजस्थानले २ सय १५ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सफल रहेको थियो ।

राजस्थानको जीतमा राहुल तेवतिया नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्काको मद्दतले ५३ रन बनाए । राजस्थानलाई जीतका लागि १८ बलमा  ५१ रन आवश्यक रहेको बेला उनले शेल्डन कार्टेलको एक ओभरमा ५ वटा छक्का हिर्काउँदै खेल राजस्थानको पक्षमा मोडेका थिए ।

राहुल तेवतियाको शुरुवात सुस्त रह्यो । शुरुवाती १९ बलमा उनले मात्र ८ रन बनाउन सके । तर, त्यसपछि उत्कृष्ट ब्याटिङ गर्दै उनले १२ बलमा ४५ रन जोडे ।

आईपीएलको इतिहासमा पहिलो पटक एक इनिङको अन्तिम ५ ओभरमा कुनै टोलीले ८६ रन बनायो । यसअघि सन् २०१२ मा चेन्नई सुपर किंग्सले बैंग्लुरुविरुद्ध ७७ रन बनाएको थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले २ विकेटको क्षतिमा २ सय २३ रन बनायो । पञ्जाबका लागि मयंक अग्रावालले मात्र ५० बलमा १ सय ६ रन बनाए । त्यस्तै, कप्तान केएल राहुलले ६९ रन बनाउँदै पहिलो विकेटका लागि १ सय ८३ रनको साझेदारी गरे । अग्रवाल आईपीएलमा सबैभन्दा चाँडो शतक बनाउने दोस्रो भारतीय बने । उनीभन्दा अघि युसुफ पठानले सन् २०१० मा ३७ बलमा मुम्बईविरुद्ध शतक बनाएका थिए । यस सूचीमा क्रिस गेल शीर्ष स्थानमा छन् । उनले सन् २०१३ मा पुणेविरुद्ध ३० बलमा शतक बनाएका थिए ।

पञ्जाबले प्रस्तुत गरेको लक्ष्य पछ्याउन कप्तान स्टिभ स्मिथले ५० तथा सञ्जु स्याम्सनले ८५ रनको योगदान दिए । २ सयभन्दा बढी रन बनाएर पञ्जाब पराजित भएको यो दोस्रो पटक हो । यसमा बैंग्लुरुले सबैभन्दा बढी ३ खेल हारेको छ ।

आज बैंग्लुरु र मुम्बईबीचको खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप