शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

असोज १५ देखि दशैँं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने

खाद्य र साल्टबीच ‘एक्सचेन्ज व्यापार’को सहमति
मङ्गलबार, १३ असोज २०७७, १५ : २३
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । दशैँं–तिहार लक्षित सुपथ मूल्य पसल आगामी असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सरकारी स्वामित्वका दुई व्यवसायिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी असोज १५ गतेदेखि मङ्सिर ७ गतेसम्म उपत्यका सहित देशैभरी सुपथ पसल सञ्चालन गर्ने भएका हुन् । 

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकबाट खाद्य र साल्ट बीच एक आपसमा व्यवसायिक सहकार्य गर्दै आउँदो १५ गतेदेखि देशभर कुल ५७ स्थानबाट सुपथ मूल्यका पसल संचालन गर्ने निर्णय भएको खाद्यका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले रातोपाटीसँग बताए । 

नायब प्रवन्ध निर्देशक खनालका अनुसार खाद्यले उपत्यकाका ५ स्थान र उपत्यका बाहिरका २४ स्थान गरी २९ स्थान र साल्ट ट्रेडिङले उपत्यकाको ५ स्थानसहित उपत्यका बाहिरका २३ स्थान गरी देशैभरीबाट कुल ५७ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ । 

गत वर्ष उपत्यकासहित कुल २३ स्थानमा मात्र सुपथ मूल्यका पसल सञ्चालन गरिएकोमा एस पटक थप ६ स्थान थप्दै खाद्यले २९ स्थानबाट पसल सञ्चालन गर्न लागिएको खनालले बताए । यता साल्टले पनि गत वर्ष उपत्यका सहित बाहिरी जिल्लाहरुबाट कुल २४ स्थानमा मात्र सुपथ मूल्यका पसल सञ्चालन गरेकोमा यस पटक थप ४ स्थान सहित कुल २८ स्थानबाट सपुथ मूल्य पसल संचालन गर्ने तयारी गरेको साल्टका डिभिजन म्यानेन्जर ब्रजेश कुमार झांले रातापाटीलाई बताए । तर अहिले नै के कति र कहाँकहाँ सञ्चालन गर्ने निक्योल नभइसकेकाले यसमा थपघट हुन सक्ने झांको भनाइ छ । 

खाद्यले भने आफ्नो केन्द्रीय कार्यालय थापाथलीसहित रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट बिक्री काउन्टर स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने र उपत्यका बाहिर २५ जिल्लामा रहेका आफ्ना प्रादेशिक तथा क्षेत्रीय कार्यालहरुबाट पसल संचालन गर्ने गरी तयारी गरेको नायव प्रवन्ध निर्देशक खनालले जानकारी दिए ।

एक्सचेन्जमा सामान बिक्री गरिने
खाद्य कम्पनी र साल्ट ट्रेडिङबीच सामान एक्सचेन्जका आधारमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने सहमति भएको छ । खाद्यले साल्टको सामान बेच्ने र साल्टले खाद्यको सामान एक अर्काले एक्सचेन्ज (साटासाट) गरे बेच्ने सहमति भएको खाद्यका नायव प्रवनध निर्देशक खनालले बताए । यसरी दुई सस्थाले बेच्ने खाद्यान्न लगाय दैनिक उपभोग्य वस्तुमा बजार भाउ भन्दा ५ देखि १० रुपैयाँ सस्तो पर्ने गरी छुट दिने तयारी भएको खनालले जानकारी दिए । 

आकस्मिक टेन्डर मार्फत तेल आयात गर्दै खाद्य
दशैं–तिहारकै लागि भन्दै खाद्यले १० हजार लिटर बराबरको खाने तेल आयात गर्ने तयारी गरेको छ । सनफ्लावर तेल र तोरिको तेल गरी कुल १० हजार लिटर तेल ल्याउने गृहकार्य गरेको हो । यद्यपी खरिद गर्ने भनिएपनि अहिले सम्म टेन्डर भने भइनसकेको खाद्यका प्रवक्ता सर्मिला न्यौपाने अधिकारीले बताइन् । 

दशैं–तिहारकै लागि उपलब्ध गराइने भनिएपनि तत्काल सम्भव नभए अन्य कम्पनीहरुसँगको सहकार्य गरेर भनेपनि उपलब्ध गराइने र पछि खाद्यको बिक्री केन्द्रमा रहने गरी ल्याइने न्यौपानेले बताइन् ।
खाद्य कै नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले पनि आकस्मिकरुपमा भनेपनि संस्थानले पाएको अधिकारभित्र रहेर तेलको आयात गरिने बताए । 

‘दशैं अघि नै तेल ल्याउनु पर्ने छ । तर हामीसँग समय एकदम थोरै छ । यस्तो अवस्थामा सार्वजनिक टेन्डरमा गएर एकैपटक सबै तेल आयात गर्न सकिँदैन । समय र आवश्यकतालाई मध्यनजर गर्दै अब हामी आकस्मिक रुपमा भएपनि तेल आयात गर्छौ । त्यो कम्पनीको क्षेत्रअधिकार भित्रै रहेर गर्छौँ,’ खनालले भने । खनालका अनुसार बाँकी तेल भने, दशैं–तिहार पछि विस्तारै प्रक्रिया पु¥याएर नै ल्याइनेछ । 

अन्य खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा भने यस वर्ष अहिले खाद्यसँग भएको मौज्दातनै प्रयाप्त रहेको प्रवक्ता न्यौपानेले जानकारी दिइन् । हाल खाद्यसँग विभिन्न ६ क्वालिटीका गरी कुल १४ हजार मेट्रिकटन चामल स्टक रहेको छ भने १० हजार मेट्रिकटन चामल आयात हुने क्रममै रहेको प्रवक्ता न्यौपानेले जानकारी दिइन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप