ad
केन्द्रीय संस्करण
अर्थतन्त्र

‘साहुजी’ लाई ऋणमाथि ऋणको भार : लकडाउनले यातायात व्यवसायीको उठीबास

दुःखको समयमा कतैबाट पाएनन् सहयोग

person explore access_timeकात्तिक २१, २०७७ chat_bubble_outline0

 

जनकपुर । कारोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि चार महिनासम्म भएको लकडाउन र त्यसपछि जारी गरिएको निषेधाज्ञाले सर्वसाधारण, दैनिक ज्यालादारी मजदुरदेखि मालिकसम्मको आर्थिक अवस्था धरासायी तुल्याएको छ ।

यातायात व्यवसायमा लागेर ‘साहुजी’ को पहिचान बनाएका कयौं व्यवसायीहरु लकडाउन र निषेधाज्ञाका कारण महिनौँसम्म सार्वजनिक यातायात बन्द हुँदा अहिले ऋणमाथि ऋणको भार बोक्न बाध्य भएका छन् भने कयौँको आर्थिक अवस्था नाजुक बनेको छ ।

असोज ६ देखि सार्वजनिक यातायातहरु संचालनमा आएका छन् । सार्वजनिक यातायात सञ्चालन भए पनि यातायात व्यवसायीहरुले लकडाउन र निषेधाज्ञाको समयमा झेल्नु परेको आर्थिक भारका कारण समयमै बैङ्कको किस्ता तिर्न नसक्दा ऋणमाथि ऋणको भार बोक्नु परेको हो ।

उनीहरुमध्ये कतिपयले अहिले साहु–महाजनसमक्ष अचल सम्पत्ति दृष्टिबन्धक राखेर ऋण लिँदै बैङ्कको ऋण तिरिरहेका छन् । सार्वजनिक यातायातका साधन सञ्चालन हुन थाले पनि कोभिड–१९ को प्रोटोकल पालना गर्नुपर्दा पूरा क्षमतामा यात्रु बोक्न नपाइने र यात्रुमा समेत सार्वजनिक सवारी साधन प्रयोग गर्न हिच्किचाहट हुने गरेकाले सोचेअनुरुप आम्दानी हुन नसकेको उनीहरुको गुनासो छ ।

जनकपुरस्थित रामजानकी ट्राभल्सका संचालक नरेश साह लामो दुरीमा चल्ने ८ वटा बसका मालिक हुन् । हरेक बसमा उनले दैनिक भत्ता र मासिक तलबसमेत दिनेगरी ३÷३ जना स्टाफ राखेका छन् । त्यस अतिरिक्त इन्धन, मर्मत खर्च र भइपरी आउने दैनिक खर्च छुट्टै हुन्छ । त्यसबाट बचेको रकमबाट उनले बैङ्कको किस्ता तिर्नुपर्छ । यात्रीको अभावले गर्दा दैनिकजसो घाटा व्यहोर्नुपरिरहेको उनको भनाइ छ । उनले भने, ‘गाडी चल्दा त यो हालत छ, त्यत्रो महिना गाडी थन्क्याएर राखेको समयमा एकसुका आम्दानीको कुरा भएन, स्टाफलाई हेर्नै प-यो, बैङ्कले छोड्दैन, कसरी झेलियो भन्ने कुरा भनिसाध्य छैन ।’

दसैँ, तिहार र छठको समय यातायात व्यवसायीका लागि कमाउने मुख्य सिजन मानिन्छ । मुख्य सिजनकै अवस्था यस्तो छ भने अन्य समयमा व्यापार कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । यही अवस्था रहे बस सञ्चालन गर्नै नसक्ने अवस्था आउने गाडी मालिकहरुको भनाइ छ ।

‘यात्रीहरु अझै पनि कोरोनाको त्रासका कारण बसमा चढ्न नै मान्दैनन्,’ श्रीराम जानकी ट्राभल्सका संचालक साहले भने, ‘यो अवस्था कहिलेसम्म रहने हो भन्ने ठेगान छैन, हामीले त अब थेग्न सक्ने अवस्था नै छैन ।’

लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन करिब ६ महिनासम्म नचल्दा गाडीको ब्याट्री, मोबिल, चक्का, ईन्जिन लगायतका सामग्री काम नलाग्ने भएको उनले बताए । ‘गाडीको बिमाको म्याद, सवारी कर समेतको चर्को व्याज भुक्तानी गर्नुपर्ने भएको छ,’ उनले भने, ‘राज्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको नाममा मुलुक नै ठप्प पा¥यो । सबै क्षेत्रको व्यापार व्यवसाय चौपट भयो तर कर असुलीमा भने राज्यले मुलुकमा कोरोना नै नआएकोजस्तो पूर्ववत व्यवहार गरेको छ ।’

एकता ट्राभल्सका संचालक एवं यातायात व्यवसायी कृष्णदेव राउतले भर्खरै व्यवसाय थालेका थिए । करिब ६ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनले त्यहाँबाट जोहो गरेर ल्याएको रकम र साहु महाजनसँग ऋण काढेर २२ लाख रुपैयाँमा बस खरिद गरे । उनले भने, ‘विदेशबाट कमाएर ल्याएको १२ लाख रुपैयाँ र यता गाउँकै साहु महाजनसँग ऋण काढेर १० लाख रुपैयाँ लिएर २२ लाख रुपैयाँमा एउटा सेकेन्ड ह्याण्ड बस खरिद गरेको थिएँ । जनकपुर–जटहीसम्म छोटो दुरीमा सो गाडी गुडाएको ३ महिना नबित्दै लकडाउन भएर गाडी थन्क्याउनु प¥यो ।’

कमाउँदै ऋण तिर्दै जाने योजना बनाएका उनले सोच्दै नसोचेको परिस्थिति निम्तिएपछि अब के गर्ने भन्ने ठम्याउनै सकेका छैनन् । ‘६ महिनासम्म आम्दानी शून्य भयो, साहुले किचकिच गर्न थाले, घरमा पनि कलह भयो,’ उनले भने, ‘६ महिना थन्किएको गाडी सञ्चालन गर्नकै लागि मर्मतमा ३ लाख रुपैयाँसम्म खर्चिनु प-यो । अहिले गाडी संचालन भइरहेको छ तर दैनिकजसो घाटा नै छ, यसरी त कहिलेसम्म धान्न सकिएला र ?’

उनका अनुसार विगतमा दसैँ, तिहार, छठ पर्वमा बसमा चढ्ने पेसेन्जरहरुलाई बस्न ठाउँसम्म हुँदैनथ्यो । तर अहिले रित्तैजस्तो गाडी आवतजावत गरिरहेको अवस्था छ । यो अवस्थामा गाडीको नियमित खर्चसमेत उठ्न नसक्ने भएकाले यही अवस्थालाई निरन्तरता दिन नसकिने उनको भनाइ छ ।

उनी भन्छन्, ‘सरकारले कोरोनाको नाममा लामो समयसम्म व्यापार व्यवसाय नै ठप्प पारिदियो, मर्कामा परेकाहरुलाई राज्यले केही व्यवस्था गर्ला भन्ने विश्वास थियो, तर त्यस्तो भएन, बरु हाम्रो ढाड भाच्नेगरी जरिवानासहित कर असुलिरहेको छ, समयमा गाडीको बिमा गर्न नपाउँदा रुट अनुमतिपत्र नै नपाउने अवस्था छ ।’

यस्तै समस्यालाई झेलिरहेका अर्का व्यवसायी हुन् रामलखन ट्राभल्सका संचालक सुनिल जयसवाल । उनी पनि छोटो दुरीको बस सञ्चालन गरी १५ सदस्यीय परिवारको पालनपोषण सहितका कार्य गर्दै आएका छन् । तर कोरोनाको कहरले उनको आर्थिक अवस्थालाई पनि धरासायी बनाएको छ ।

लामो समय देखि बस थन्क्याएर राख्दा एकातिर घाटा भयो नै, अर्कोतिर बल्लतल्ल सञ्चालन गर्न पाउँदासमेत लामो समय थन्क्याइएका कारण कयौँ पार्टपूर्जा फेर्नुपर्ने भयो र मर्मत मै करिब ३ लाख रुपैयाँ खर्चिनु प¥यो । उनले पनि गाडीको कर तिर्न सकिरहेका छैनन् भने बैङ्कबाट ऋण लिएर खरिद गरेको गाडीको मासिक व्याज भुक्तानी गर्न नै समस्या छ ।

उनी भन्छन्, ‘यो ६ महिनाको अवधिमा ६ लाख रुपैयाँभन्दा बढी घाटा लागेको छ । कसरी यो घाटा बेहोर्न सकिन्छ भन्ने चिन्ताले सताइरहेको छ ।’ उनी पनि कारोनाको त्रासले बसमा यात्रु नै नचढ्ने गुनासो गर्छन् । ‘गाडी नचलाउँ भने पनि आज त कमाइ होला कि भन्ने आश लाग्छ,’ उनले भने, ‘चलाउँदा दैनिक खर्च उठाउन पनि गाह्रो भएको छ, कहिले त डिजेल हाल्नसमेत पैसा पुग्दैन, स्टाफलाई पनि दिनै पर्छ ।’

राहतको आश

६ महिनासम्म सार्वजनिक यातायात ठप्प भएका कारण व्यवसायीलाई परेको मर्काबारे सरकारले ध्यान दिन्छ कि भन्ने आश लागेको यातायात व्यवसायीहरु बताउँछन् । तर सरकारले कर सहुलियतदेखि लिएर बैङ्कको ऋण केही लम्ब्याउन सक्ने लगायतका भूमिका निर्वाह गरिदेला भन्ने आफूहरुको आशा क्रमशः निराशामा परिणत हुँदै गएको उनीहरुको भनाइ छ ।

राज्यले बस व्यवसायीहरुसँग कर असुल्न दबाब दिनेदेखि विभिन्न ऐन कानूनहरुको व्यवस्था गरेर व्यवसायीलाई घेर्ने नीति बनाएको उनीहरु बताउँछन् । राज्यले यस्तो व्यवहार गर्दा आफूहरु व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।

लोकल रुटमा चल्ने बस त अझ समस्यामा परेको व्यवसायीहरु बताउँछन् । तीन पाङ्ग्रे ट्याम्पो, साना सवारी साधनअन्तर्गत सञ्चालित म्याजिक भ्यान, माइक्रो लगायतले कोचाकोच गरेर यात्री ओसार्दासमेत ट्राफिक प्रहरीले केही नगर्ने तर बसमा भने कडा निगरानी गर्ने गर्दासमेत आफूहरुलाई खर्च धान्नै समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

बस व्यवसायी नरेश साह भन्छन्, ‘बस स्टेन्डमै आएर टेम्पु र माइक्रोहरुले भएभरको पेसेन्जर कोचेर लग्छन्, यसले गर्दा यातायात क्षेत्रमा हाम्रो लगानीसमेत जोखिममा परेको छ ।’

जनकपुर बस व्यवसायी संघले समेत यातायात व्यवसायीको समस्यामा चासो नदेखाएको उनीहरुको आरोप छ । साह भन्छन्, ‘संघलाई सबै समस्या अवगत छ तर बस व्यवसायी र स्टाफहरुको लागि कुनै किसिमको राहत तथा सुविधाका लागि पहल गर्न सकेको छैन ।’

दसैँ, तिहारजस्ता पर्वहरुमा गाडी चल्ने ध्येयले मालिकहरुले बस सेवा सञ्चालन गरे पनि सोच अनुसार कमाइ नहुँदा गाडी नै बन्द गर्नुपर्ने बेला आएको उनले बताए । ‘हामी अझै एक महिना घाटा सहेर चलाउँछौँ, तर यही अवस्था रहेमा गाडी नै बन्द गरेर साहु महाजन र बैङ्कबाट लिएको ऋण चुक्ता गरी व्यवसायबाटै पलायन हुनुबाहेक अर्को विकल्प रहँदैन,’ उनले भने ।

गाडीधनी भएकै कारण ‘साहुजी’ कहलिएका उनीहरुले आफ्नो त्यो पहिचान जोगाउनका लागि नै अब निकै ठुलो संघर्ष गर्नुपर्ने अवस्था निम्तिएको छ । अधिकांशले बैङ्कबाट ऋण लिएर गाडी खरिद गरी नियमित कमाइका आधारमा किस्ता तिर्दै जाने सोचका साथ व्यवसायमा हात हालेको पाइन्छ । तर ६ महिनासम्म गाडी सञ्चालन नहुँदा व्यहोर्नुपरेको आर्थिक भारले उनीहरुलाई ‘साहुजी’ को पहिचान पनि कुनै नराम्रो ठट्टाजस्तै लाग्न थालेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.