शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवागढी जलविद्युतको काम जारी

आइतबार, ३० कात्तिक २०७७, १७ : ४८
आइतबार, ३० कात्तिक २०७७

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ ।  विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने  भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको हो । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत्  आयोजनाको चार हजार १८५  मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी  गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।  आयोजनाको निर्माणस्थलमा  २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत  छन् ।   कोरोना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार  भने ल्याउन नसकेको बताइन्छ ।

सिभिल कामको समग्र  प्रगति ७८ प्रतिशत पूरा  भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण  जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित  भएको आयोजनाका प्राविधिकले जनाएका छन् ।

कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको  कम्पनीले  भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा  विद्युत्गृहको पानी बाहिर पठाउने ० ३४ मिटर  टेलरेस सुरूङ छेड्न  र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ ।  रु १३ अर्ब ६४ करोडका लागतमा सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न  प्राविधिकले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप