ad
केन्द्रीय संस्करण

दाङमा माघीको रौनक

person explore access_timeपुस २२, २०७७ chat_bubble_outline0
file photo

दाङ । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व  मनाउने गर्छन् ।  यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभर योजना बनाउने परम्परा छ ।

यसपालि थारू बस्तीमा खानपिनको मात्र कार्यक्रम हुने र कोभिड–१९ का कारण नाचगानलाई छरछिमेकीसँग मात्र सीमित गर्ने कार्यक्रम रहेको गढवा गाउँपालिका–३ का कमल चौधरीले जानकारी दिए । भीडभाड नगर्ने र रमाइलोका लागि एकै ठाउँमा नाचगान गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।  

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार थारू समुदाय यसको तयारीमा जुटेका हुन् । गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान कुटानपिसान र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त रहन्छन् । ढिर्की पकाउने, अनदीको विशेष झोल, अनदीको रोटीलगायत विशेष मीठामीठा परिकारको जोहो माघमा गर्ने चलन छ ।  

माघीको अघिल्लो दिन रातभर आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर (थारू भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ ।  माछासँगै गङ्गटा र घुँगीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार  र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारूले बताए ।

थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब शुरु गर्ने चलन छ । “माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायत अन्य व्यवहारको नवीकरण गरिन्छ”, थारूले भने ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.