बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थ उत्खनन् : दोस्रो चरणको काम अन्योलमा

शुक्रबार, १६ माघ २०७७, १० : ०९
शुक्रबार, १६ माघ २०७७

सुर्खेत । मुलुककै महत्वपूर्ण आयोजनाको रुपमा लिईएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् सम्बन्धी दोस्रो चरणको काम अघि बढ्न सकिरहेको छैन । दसैँ–तिहार लगत्तै सुरु गरिने भनिएको काम हाल(माघ) सम्म पनि अघि बढ्न नसकेको हो  ।

आयोजनाका अनुसार दोस्रो चरणमा ‘ड्रिल’ को काम थालनी गर्नुपर्ने थियो । ड्रिलका लागि आवश्यक औजार कोरोना महामारीका कारण चीनबाट ल्याउन नसकिएको भन्दै काम सुरु हुन नसकेको हो ।

२०७६ चैतदेखि गरिएको लकडाउनका कारण समयमै आवश्यक औजारहरु नेपाल ल्याउन नसकेपछि उत्खनन् सम्बन्धी दोस्रो चरणको काम अन्योलमा परेको आयोजनाको भनाइ छ । आयोजना प्रमुख एवं खानी तथा भू–गर्भ विभागका उप–निर्देशक सुधिर रजौरेले सन् २०२१ मै काम अघि बढ्ने बताए ।

‘बन्दाबन्दी नभएको भए अहिलेसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर, बन्दाबन्दीले हवाई सेवासमेत बन्द भएकाले ड्रिल औजार ल्याउन सकिएन,’ उनले भने, ‘ड्रिल औजार चीनको कम्पनीले आफैँ ल्याउँछ ।’

विभागले गत वर्ष ‘सेस्मिक रिफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । रजौरेका अनुसार चीनको अध्ययन समूहले अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । पहिलो चरणको कामको सम्झौता भएअनुरुप नै सरकारलाई छिट्टै उनीहरूले निष्कर्ष दिने विभागको भनाइ छ ।

ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गर्ने योजना छ । जसका लागि सम्भावित स्थानहरूको पनि पहिचान हुँदैछ । उपनिर्देशक रजौरेका अनुसार अब ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्याप’को अपडेट र ‘सेक्सन मेजरमेन्ट’ अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ भन्ने पत्ता लगाउने काम हुनेछ ।

विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले भने, ‘हामी र चिनियाँ टोलीबीच संवाद भइरहेको छ । अहिले नै यति समय त भन्न सकिँदैन । जे होस् काम हुन्छ,’ उनले रातोपाटीसँग भने, ‘त्यहाँको सरकारले उनीहरु (चिनियाँ प्राविधिक) लाई पठाउने वा नपठाउने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।

दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायत क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् टोलीले अध्ययनको काम गरेको छ ।

चिनियाँ टोलीले ०७६ असार पहिलो सातादेखि काम सुरु गरेको थियो भने करिब ५÷६ महिनाको अवधिमा पहिलो चरणको कामहरु सम्पन्न गरेर फर्किएको थियो ।

कसरी गरिन्छ ड्रिल ?

विभागले गत आर्थिक वर्षमा ‘सेस्मिक रिफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको आधारमा ड्रिलको काम गर्न लागिएको हो । ‘साढे चार किलोमिटर गहिराइमा ड्रिल गरिनेछ,’ डा. त्रिपाठीले भने ।

उनका अनुसार अब भण्डारण पत्ता लगाउने काम हुन्छ । त्यसका लागि पनि थप अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने व्यवस्था गरेको थियो । 

पेट्रोलियम पदार्थ छ/छैन भने द्विविधा अन्त्य !

दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । ‘पेट्रोलियम पदार्थ छ÷छैन भन्ने द्विविधा अन्त्य भएको छ,’ प्रमुख रजौरेले भने, ‘यसअघिको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको देखाइसकेको छ ।’

अहिलेको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परिसकेका छन् । खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ ठाउँ ग्यास चुहावट देखिएका छन् ।  

कसरी भयो कामको सुरुवात  ? 

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो ।

सोही अनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन ग¥यो । प्रारम्भिक अध्ययन सकेर चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब रुपैयाँ सहयोगको घोषणासमेत गरेको थियो । सोही घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो ।

सोही सम्झौताअनुसार नै अहिले चाइना जिओलोजिकल सेन्टर बेइजिङ र चेन्दुङका १९ सदस्यीय चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो  ।

सोही कार्यलाई निरन्तरता दिँदै २०७६ असार पहिलो साता चीन सरकारको विशेषज्ञ टोलीसहित नेपाल सरकारका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले अन्वेषण कार्यको औपचारिक सुरुवात गरेका थिए।  

काममा ढिलासुस्ती हुँदा विकासका काम प्रभावित

पञ्चिकोशी क्षेत्र आफैमा पनि लुम्बिनी, काठमाडौंपछिको धार्मिक एव सांस्कृतिक क्षेत्रको रुपमा परिचित छ । त्यही क्षेत्रमा पेट्रोलिय पदार्थ उत्खननको काम सुरु भएको हो ।

यद्यपि, दोस्र्रो चरणको काम अन्योलमा पर्दा पञ्चिकोशी क्षेत्रको गुरुयोजना निर्माण, पञ्चिकोशी क्षेत्रमा निर्माण गरिने भनिएको कृत्रिम ताल लगायतका आयोजनाको काम प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।

‘धेरै लामो बहस चल्यो तर, अहिलेसम्म निर्क्यौल नआउँदा हामी पनि अन्यौलमा छौँ,’ दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले रातोपाटीसँग भने ।

आफूहरुले यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कसरत गरिरहेका अवस्थामा न पेट्रोलियम पदार्थको उत्खनन् अघि बढ्यो, न आफूहरुले योजना बनाएअनुसार नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिएको उनको गुनासो छ ।

‘यो ठाउँ र यति नागरिकहरु प्रभावित हुन्छन् भनेर सरकारले छिट्टै भनिदिएको खण्डमा मुआब्जा लगायतका कामहरुको यकिन हुन्थ्यो,’ भण्डारीले भने।

चिनियाँ आउँदा कारोबार वृद्धि

पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली दैलेख आउँदा चहल–पहल बढ्नुका साथै आर्थिक कारोबारसमेत बढेको थियो । दैलेख सदरमुकामका एक होटल व्यवसायी रुपक थापा भन्छन््, ‘पहिलो चरणको करिब ४–५ महिनाको अवधिमा यहाँका ८०–९० जना स्थानीय मजदुरले रोजगारी पाउनुका साथै उनीहरू बसेको अवधिमा प्रत्यक्ष र परोक्षरूपमा करिब १५–२० करोडसम्मको व्यापार भएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप