ad
केन्द्रीय संस्करण
मेरो जीवन

प्रकाशमान सिंहको जीवन : देशको क्याप्टेन होस् भनेर होला, प्लेनको क्याप्टेन हुन दिइएन

२०४६ पछि राजनीति सेवा गर्नेभन्दा पनि मेवा खानेतिर ढल्कियो

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0
फोटोः सुवास श्रेष्ठ

 प्रकाशमान सिंह कुशल राजनीतिज्ञ तथा नेपाली काँग्रेसका शीर्षस्थ नेता मध्येका एक हुन् । उनी लौह पुरुषबाट परिचित गणेशमान सिंहका छोरा पनि हुन् । सर्वसाधारण माझ उनी नेपाली काँग्रेसका प्रभावशाली नेता र इमानदार व्यक्तित्व भनेर चिनिन्छन् । २०३० सालदेखि नेविसङ्घबाट राजनीति थालेका सिंह ०३६ मा नेविसङ्घ काठमाडौँ जिल्ला अध्यक्ष भए । ०३८ मा काठमाडौँ जिल्ला सदस्य र ०४३ मा जिल्ला सचिव भए । उनले ०४५ मा काठमाडौँ जिल्ला सभापति भएपछि लगातार दुई कार्यकाल नेतृत्व सम्हाले । त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा छिरे । ०५७ सालमा पोखरामा भएको १०औँ  महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका सिंह ०५८ सालमा पार्टी फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए । ०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । ०४८ र ०५१ को चुनाव हार व्यहोरेका सिंह ०५३ मा राष्ट्रिय सभामा सदस्य भए । देउवा नेतृत्वको सरकारमा उनी वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारमा जनसङ्ख्या मन्त्रीसमेत भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएका उनी ०७० सालमा संसदीय दलको उपनेता भए । हाल उनी काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । जोसुकै व्यक्ति वा पार्टीका सदस्य हुन् आफूकहाँ काम लिएर आउनेलाई सन्तुष्ट गराएर पठाउने सिंहको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना 
साधारण नेपाली खाना, दालभात, तरकारी र नेवारी आइटम सबथोक मनपर्छ । नेवारी कल्चरमा हुर्किएको हुनाले नेवारी खाना बढी मीठो लाग्छ । मन नपर्ने खानामा त्यस्तो केही छैन । माछामासु पनि खान्छु । पकाउन खास रुचि त छैन । आमा मङ्गलादेवी सिंहले सानोमा लुगा धुनेदेखि खाना बनाउनेसम्म आफ्नो र घरको काम आफैले गर्नुपर्छ भनेर तालिम गराउनु भएको थियो । त्यही भएर खाना बनाउनेदेखि लिएर घरको सबै काम आउँछ ।
रेस्टुरेन्ट एकदमै कम जान्छु । खासै जानै मन लाग्दैन । मिटिङहरु रेस्टुरेन्टमा भयो भने जान्छु । रेस्टुरेन्टमा जे उपलब्ध हुन्छ त्यही खान्छु । 
 
मेरो फिट्नेस
फिट्नेसका लागि सजग छु । पहिले पनि गर्थें, अहिले पनि गर्छु । समर समयमा म ४ र विन्टरमा ५ बजे उठ्छु । उठेपछि जगिङ, प्राणायमलगायत गर्छु । एक्सरसाइजका  सामान खासै प्रयोग गर्दिनँ । बिहान दौडिने र आललमबिललम गर्छु । यसले पुगेको छ । 

मेरो पोसाक
संसद् जानुपर्दा, मन्त्री हुँदा प्रायः दौरासुरुवाल, कोट, पाइन्ट लगाउँछु । नेपाली पोसाकमा टोपी अनिवार्य लगाउँछु । अन्य समय क्याजुल परिहन सर्ट, पाइन्ट, ज्याकेटलगायत प्रयोग गर्छु ।
पहिरनमा मनपर्ने रङ खासै केही छैन । ब्रान्ड पनि हेर्दिनँ । मन परेको राम्रो लागेको लगाउँछु । पहिरन किन्न जादिनँ । सधैँ श्रीमतीले किनेर ल्याइदिन्छिन् । पहिरनमा सफा हुनुपर्छ, राम्रो देखिनुपर्छ जस्तो भए पनि हुन्छ भन्ने मेरो धारणा रहेको हो । सफा छ भने पुरानो पनि प्रयोग गर्छु ।

मेरो अध्ययन
पहिले पुस्तक पढ्थेँ । अहिले राजनीतिले बिजी सेड्युल भएका कारण अध्ययनका लागि जुन रूपमा समय मिल्नुपर्ने हो, त्यो मिलेको छैन । आफूलाई सबै कुराको अपडेटका लागि बिहान पत्रपत्रिका, अनलाइन, लेखहरु २ घण्टा जति पढ्छु । युट्युबमा राम्रा राम्रा अन्तर्वार्ता हेर्छु  । पुस्तक पढ्न भने पछिल्लो समय भ्याएको छैन । भ्याएको समयमा राजनीतिक पुस्तक पढ्छु । जीवनीसमेत अध्ययन गर्न इन्ट्रेष्ट लाग्छ ।

मेरो घुमफिर
घुमफिरमा रुचि भए पनि समय मिलाउन सकेको छैन । खालि राजनीति र पार्टीका लागि मात्र समय दिन्छु, घुमघामका लागि समय मिलाएन भनेर परिवारले कम्प्लेन गर्ने गरेका छन् । फ्री समय मिलाउनुपर्यो भनेर भन्छन् । समय मिलाउन गाह्रो गाह्रो नै छ ।

मैले घुमघामका लागि जुन समय परिवारलाई दिनुपर्ने हो त्यो दिन सकेको छैन । मेरो आफ्नो घुमघाम भने राजनीतिक सिलसिलामा भएको छ । राजनीतिको सिलसिलामा देशका ७७ जिल्ला पटक पटक पुगेको छु । उपप्रधानमन्त्री हुँदा युएन गएको छु । अमेरिका, अस्ट्रेलिया, चीन, सिङ्गापुर, युरोप लगायत धेरै देश टेकेको छु ।

मेरो खेलकुद
खेलकुदमा रुचि छ । पहिले युनिभर्सिटी अध्ययनको समय खेलकुदको हक्की टिमको क्याप्टेन पनि थिएँ । टेबुलटेनिस, फुटबल पनि राम्रो खेल्थेँ । बक्सिङ पनि अलि अलि खेल्थेँ । 
अहिले गणेशमान सिंह फाउन्डेसनबाट हुने विभिन्न खेलकुदको क्रियाकलापमा चासो दिन्छु । विश्वकप फुटबल अगाडिबाट हेर्ने इच्छा छ, पाएको छैन । समय मिल्यो भने टिभीमा सकेसम्म फुटबल गेमका हाइलाइट हेर्छु ।

मेरो मोबाइल
अहिले मसँग एप्पल ब्रान्डको एउटा मोबाइल छ । मोबाइलमा धेरै सुविधा छन् । तर म सबैसँग सम्पर्कको अलवा म्यासेन्जर, इमेल, भाइबर, फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल मोबाइलबाटै चलाउँछु । यात्राको समय समाचार हेर्ने काम पनि मोबाइलबाट हुन्छ । 

मोबाइल बढी आपसी सम्पर्कका लागि प्रयोग हुन्छ । सबैको फोन रिसिभ गर्ने नेता सायद म नै हुँला । मिटिङमा भएको समय फोन आएको नाम सेभ भएका व्यक्तिलाई कल ब्याकसमेत गर्ने मेरो बानी छ ।
धेरैले फोन उठाउने नेतामध्ये तपाईं पनि एक हो भनेर भन्ने गर्छन् । मोबाइल छिटो छिटो फेर्ने बानी छैन ।

मेरो टिभी 
टिभी हेर्छु । टिभीमा धेरै हेर्ने भनेको समाचार, अन्तर्वार्ता नै हुन् । ज्ञानेन्द्र शाहले राज्यसत्ता लिएको समय मलाई शाही आयोगमा राखिएको थियो । त्यो समय सुरुमा मलाई राखेको ठाउँमा टिभी पनि दिइएको थियो । पछि एक साथीमार्फत टिभी मगाएँ । त्यो समय इन्डियन आइडल सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म पनि समय भयो भने इन्डियन आइडल हेर्छु । कहिलेकाहिँ मिस हुँदा युट्युबमा हेर्छु । अन्तर्राष्ट्रिय सम्बन्धका विषयका कार्यक्रमसमेत हेर्छु । जोग्राफी च्यानलहरु पनि मनपर्छ । 

मेरो चलचित्र
फिल्म मैले धेरै कम हेरेको छु । फिल्म हल नटेकेको वर्षाैं भयो होला । पहिले विद्यार्थी जीवनमा जे चल्यो, त्यो फिल्म साथीभाइसँग गएर हेरियो होला । फिल्म नहेरे पनि कलाकारसँग चिनजान छ । ऐतिहासिक फिल्महरु मनपर्छ । 

मेरो भाषण शैली 
सिम्पल भाषण शैली नै मनपर्छ । विभिन्न बुँदा टिपेर भाषण गर्ने मेरो बानी छैन । आफू सहभागी भएको कार्यक्रम र विषयवस्तु हेरेर भाषण दिन रुचाउँछु । कतिपय राजनीतिक नेता मञ्च पाउनेबित्तिकै राजनीतिक भाषण दिन्छन् । मलाई त्यसो गर्न मनपर्दैन र गर्दिनँ पनि ।

त्यसैले पनि कतिपय कार्यक्रममा राजनीतिका बारेमा मैले नबोलेको गुनासो पत्रकारहरुले गर्ने गर्छन् । जुन विषयवस्तुको कार्यक्रम हो । त्यही विषयमा बोल्नुपर्छ जस्तो मलाई लाग्छ । राजनीतिक विषयमा बोल्न त्यस्तै कार्यक्रम हुन्छन् नि । समय र विषय अनुसारको मेरो भाषण शैली हुन्छ । भाषणमा आश्वासन बाँड्न मन लाग्दैन ।

मेरो राजनीति 
विद्यार्थी जीवनदेखि नै म राजनीतिमा छु । म पहिलो पटक गिरफ्तार ३-४ कक्षामा पढ्दा भएको थिए । सो समय मेरो बुबा गणेशमान सिंह भारतमा हुनुहुन्थ्यो । हामी स्कुल बिदामा भारत घुम्न जान एयरपोर्ट पुगेका थियौँ । सोही क्रममा बुबाले जेलमा लेखेको डकुमेन्ट बोकेर आउनु भन्नुभएको थियो । त्यो समय पञ्चायती व्यवस्था थियो ।मेरो हातमा बुबाको डकुमेन्ट देखेपछि गणेशमानको के आयो भनेर मलाई पुलिस थानमा राखेर केही केरकार गरेर छोडियो । 

प्रत्यक्ष रूपमा राजनीति २०३० सालमा नेविसङ्घबाट थालेको थिएँ । २०३६ सालमा नेविसङ्घ काठमाडौँ जिल्ला सभापति भएँ । ०३८ मा काठमाडौँमा पार्टीको जिल्ला सदस्य र ०४३ सालमा जिल्ला सचिव भएँ । 
०४५ मा काठमाडौँ सभापति भएपछि लगातार दुई पटक जिल्लाको नेतृत्व सम्हाले मैले । 

त्यसपछि काँग्रेसको केन्द्रीय राजनीतिमा छिरेको हो । ०५७ सालमा पोखरामा भएको १०औँ  महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा काँग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भएको म ०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भएँ ।
०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा मैले पनि महामन्त्रीमा जितेँ । १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएँ ।
०५३ मा राष्ट्रिय सभामा सदस्य हुन सफल भएको थिएँ । देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्व जनसङ्ख्या मन्त्री भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएको थिएँ ।

म निरन्तर राजनीतिमा छु । आफूले जानेर बुझेदेखि यसैमा रमाएको छु । राजनीतिमा इन्जोय गरिरहेको छु । यो राजनीति भनेको सेवा विशेष क्षेत्र हो । २०४६ अगाडि र पछाडिको राजनीतिमा धेरै अन्तर देखेको छु । २०४६ पछि राजनीति क्षेत्र सेवा गर्नेभन्दा पनि मेवा खानेतिर लाग्यो । त्यही कारणले जनताले राजनीति गर्नेहरुलाई आफैले मात्र कमाउने हुन् भनेर भन्न थाले । त्यो चिर्न काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
जनताले स्वच्छ छवि र राम्रो चरित्र भएको भनेर मलाई बुझेका छन् र भन्ने गरेका छन् ।

मेरो सपना 
राजनीतिको सिलसिलामा म जिल्ला जिल्ला पुगिरहेको हुन्छु । त्यहाँ भेट्ने क्रममा सबैले मलाई फरक किसिमले हेर्ने गरेको पाएँ । गणेशमान सिंह र मङ्गलादेवी सिंहको छोरा आयो भन्छन् । 
मेरो आमाबुबाको नेपाली समाजमा जुन छवि छ । त्यहीअनुसार अन्य नेताभन्दा बेग्लै तरिकाले मलाई हेर्ने, छुट्टै अपेक्षा गर्ने गर्छन् । मप्रति सर्वसाधारणको अपेक्षा धेरै रहने गरेको रहेछ । त्यो देख्दा म आफै नर्भस हुन्छु ।
गणेशमान र मङ्गलादेवीले देशका लागि ठूलो योगदान दिएर जनतालाई सन्तुष्ट गराएर जानु भएको छ । जनताको त्यहीअनुसार मप्रति पनि अपेक्षा छ । त्यो अपेक्षा शत प्रतिशत पूरा गर्न सकौँला, नसकुला तर बुबा र आमाको इमेज जनतामा जस्तो छ त्यो अझ बढाउनुपर्छ भन्ने छ ।


  
मेरो प्रेम 
२०४२ सालको सत्याग्रहबाट छुटेपछि मैले विवाह गरेको हो । मेरो मागी विवाह भएको थियो । विवाहपछि श्रीमतीसँग प्रेम बस्यो । त्यो अहिले पनि चल्दैछ । 

मेरो दुःख
दुःख भनेको फिलिङ हो । राजनीतिमा दुःखै दुःखको छ । बाबुआमाको दुःख नजिकबाट नियालेको पनि थिए । जतिबेला मैले आईएस्सी पास गरे । त्यो बेलामा राइजिङ नेपाल र गोरखापत्र तत्कालीन रोयल नेपाल एयरलाइन्समा पाइलट मागिएको सूचना आएको थियो । त्यतिबेला क्यानेडियन सरकारले विमान अनुदानमा दिएको थियो । त्यो चलाउने मानिस मागिएको थियो ।

त्यसमा म र मेरो दाइले निवेदन हाल्यौँ । लिखित लगायत विभिन्न छनोट प्रक्रियामा हामी पनि सहभागी भयौँ । त्यसबाट छानेर १३ जनाको लिस्ट निकालिएको थियो । हामी दुवै परेका थियौँ । पासपोर्ट लिन पनि गाह्रो हुने पञ्चायतको समयमा हामीलाई सबै दिइएको थियो । तर उड्ने अघिल्लो दिन गणेशमान सिंहका दुई छोरा कसरी सेलेक्ट भए भनेर दरबारमा कुरा चलेछ । त्यसपछि दरबारको निर्देशनमा हामीलाई पाइलट बन्नबाट रोकियो । सबै भइसकेको काम राजनीतिक कारणले बिग्रियो भनेर त्यतिबेला दुःख लागेको थियो । अहिले हेर्दा त्यो मेरो जीवनको ट्रनिङ पोइन्ट हो भन्ने लाग्छ । 

सानैदेखि राजनीतिमा लागेर दुःख सहनसम्म सहेर जागिर खाने प्रयास गरेको थिएँ । नियतिले मलाई फेरि राजनीतिमै फर्कायो । सायद देशको क्याप्टेन होस् भनेर होला प्लेनको क्याप्टेन हुन दिइएन । यही भनेर राजनीतिमै सक्रिय रूपमा लागे ।

राजनीतिमा म सबैको सहयोगी हुन चाहन्छु । मैले चिनेको होस् या नहोस्, कोही व्यक्ति काम लिएर आउँछ भने जुनै माध्यमबाट मैले गर्दा हुनेसम्म त्यसलाई सन्तुष्ट बनाएर फर्काउने प्रयास गर्छु । त्यो व्यक्ति सन्तुष्ट भएर जान्छ ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ, सुन्छु । सबैखालका गीतसङ्गीत सुन्ने गरेको छु । बिहान, साँझ, गाडीमा यात्रा गर्दा जुनै समय पनि सुन्छु ।

मेरो मापसे
थोरै मापसे गर्छु । दैनिक धेरै ठाउँको भोजमा जानुपर्ने हुन्छ । तर पब्लिकमा सकेसम्म मापसे लिन्न । मिल्ने साथीहरु छ भने कहिलेकाहीँ उनीहरुसँग लिन्छु । म नेवारको बच्चा । जन्मिएदेखि मापसे गरियो । त्यसैले ब्रान्ड यही भन्ने छैन ।
 
मेरो भूल
मानिस हुँ, जानी नजानी भूल भए होलान् । जानेर भूल गरेजस्तो लाग्दैन । भूलबाट सिक्ने पनि हो । आत्मा र मनमा अलिकति पनि शङ्का भयो भने राजनीतिमा निर्णय गर्दिनँ । अनुभवले आनन्दमा रहनुपर्छ भन्ने मलाई सिकाएको छ । अर्बपति बन्नेभन्दा पनि जीवन चले पुगिहाल्छ नि भन्ने सिद्धान्तमा म चलिरहेको छु ।
राजनीतिमा म एकदमै रमाउँछु । यसैका लागि जन्मिएको हो कि जस्तो लाग्छ ।
  
मेरो रोग
डाइबेटिज, प्रेसर लगायतका रोग छन् । यो रोगले सताएको धेरै भयो । प्रेसर २०५२ सालमा कृष्णप्रसाद भट्टराई बानेश्वरबाट चुनाव उठ्दा देखि हो । त्यो समय प्रेसर बढेका कारण म नराम्रोसँग ढलेको थिएँ । काँग्रेसको १२ औँ महाधिवेशनको समयदेखि मलाई सुगर भएको हो । त्यो समय महामन्त्रीमा उठ्ने भनेर मैले प्रयास गरेको थिएँ । महामन्त्री धेरैको चाहना थियो । त्यो बेला एक्सरसाइज धेरै भयो । टेन्सन धेरै लिएँछु । विभिन्न एक्सरसाइज गरेर म महामन्त्री पनि भए । सुगर पनि देखियो । अहिले सुगर र प्रेसरको औषधि नियमित खान्छु ।   

मेरो राशि 
मेरो राशि ‘मीन’ हो । ग्रहदशमा भन्दा कर्ममा विश्वास गर्ने मानिस हुँ । केही प्रतिशत भाग्यमा पनि विश्वास लाग्छ । ग्रह दशा म हेराउने जुराउने गर्दिनँ, कहिलेकाहीँ श्रीमतीले गर्छिन् ।

मेरो मृत्यु
मृत्यु स्वाभाविक हो । जन्मेपछि एक दिन जानैपर्छ । आत्मा मर्दैन, चोला मात्र फेर्ने हो भन्ने गरिन्छ । त्यही हो कि जस्तो लाग्छ मलाई पनि । सुखद मृत्यु होस् भन्ने चाहना छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.