शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल प्रविधिको प्रयोग गर्ने १० होटल पुरस्कृत

शुक्रबार, १० वैशाख २०७८, १८ : १७
शुक्रबार, १० वैशाख २०७८

पोखरा । पोखराका १० होटललाई पुरस्कृत गरिएको छ । नयाँ वर्षको अवसरमा ‘जाउँ है पोखरा अभियान’ अन्तर्गत पाहुनाबाट क्यूआर कोडमार्फत होटलको विल भुक्तानी प्राप्त गर्ने १० होटललाई पुरस्कृत गरिएको हो । पश्चिमाञ्चल होटल संघको अगुवाइमा सञ्चालन गरिएको अभियानमा पहिलोपटक डिजिटल माध्यमको प्रयोग गरी बिल भुक्तानी गराएपछि ब्यवसायीलाई प्रेरित गर्न संघले पुरस्कृत गरिएको जनाएको छ । क्युआर कोडमार्फत होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले गत चैत ३१ र  बैशाख १ गते ४० प्रतिशत छुट प्रदान गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । ‘नगद छोडौं फोन पे गरौं’ भन्ने नाराका साथ संघ र फोन पे प्रालिको आपसी सहकार्यमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गरेको अध्यक्ष तुलाचनले बताए ।

यस अभियानमा प्रथम हुने एक होटललाई ५० हजार रुपैयाँ, द्वितीय हुने २ होटललाई २० हजार रुपैयाँ र तृतीय हुने ७ वटा होटललाई पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।  अभियानमा टिका रिर्सोट प्रालि प्रथम, द कुटी रिसोर्ट र होटल डेण्डेलिन द्वितीय भएका थिए । त्यसैगरी चौतारी बुटिक होटल, होटल लेक सोर, होटल भिलेज इन, होटल क्राउन हिमालयज, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट र होटल बालुवाहीलाई पुरस्कार प्रदान गरिएको थियो । 
फोन पे प्रालिसँग आवद्ध ५५ बैंक तथा वित्तीय संस्थाको सञ्जाललाई उपयोग गरी होटलको विल क्यु आर कोडमार्फत् भएको कारोबार संख्याको आधारमा ती होटल पुरस्कृत भएका हुन् ।

अध्यक्ष तुलाचनले सुषुप्त अवस्थामा रहेको पर्यटनलाई पुनर्जागरण गराउन छुट तथा सहुलियत प्रदान गरी आन्तरिक पर्यटकहरुको आकर्षण वृद्धि गर्न संघले डिजिटल माध्यमको अभियान चलाएको बताए । उनले नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रबद्र्धन गरी प्रविधितर्फ उन्मुख गराउने र होटल सञ्चालन कार्यविधिमा निर्दिष्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्ने अभियानको मुख्य उद्धेश्य रहेको बताए । 

अध्यक्ष तुलाचनले सरकारद्वारा गत आश्विन १५ गतेबाट होटल तथा पर्यटन क्षेत्र सञ्चालन गर्ने अनुमति प्रदान गरेता पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुन कोभिडको दोस्रो लहर सुरु भएको कारणले थप आक्रान्त बनेको बताए । ‘विषम परिस्थितिमा पर्यटन तथा होटल क्षेत्र थप मर्माहत भई रहेको स्थिति छ’ उनले भने । ‘पर्यटन तथा होटल व्यवसायलाई पुनर्जीवन दिलाउन दिगो पर्यटन विकासको लागि आन्तरिक पर्यटन मात्र विकल्प रहेकाले संघले नेपालका विभिन्न स्थानमा जाउँ है पोखरा पर्यटन प्रबद्र्धन अभियान सम्पन्न गरिसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप