शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमितको उपचार गर्न हस्पिटल उपलब्ध गराउने तीन ठूला अस्पतालको घोषणा

अस्पताल सञ्चालन अवधिको दायित्व सरकारले बेहोर्नु पर्ने शर्त
सोमबार, २० वैशाख २०७८, १८ : १५
सोमबार, २० वैशाख २०७८

झापा र मोरङमा रहेका प्रदेश १ का  तीन ठुला शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचार गर्न सरकारलाई हस्पिटल उपलब्ध गराउने घोषणा गरेका छन् । महामारीको प्रकोपका समयमा अस्पतालसहित आवश्यक उपकरण र जनशक्ति राज्यलाई उपलब्ध गराउन ती शिक्षण अस्पतालले घोषण गरेको हुन् ।

झापाको बिएण्डसी, विराटनगरको नोबेल र बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालले कोरोनाको संक्रमण दिनहुँ बढिरहेकाले बिरामीको उचित उपचारका लागि आफ्नो अस्पताल, सम्पूर्ण संरचना र जनशक्तिसहित सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।

निजी अस्पतालहरुले कोरोनाको आशंका गरिएका बिरामीको चेकजाँच गर्न नमानेको खबर आइरहेको बेला प्रदेश १ का यी तीन ठूला अस्पताल सञ्चालकले आफ्नो अस्पताललाई कोरोना संक्रमितको उपचार केन्द्र बनाउने घोषणा गरेका हुन् । आजै प्रधानमन्त्री केपी ओलीले ठूला अस्पताललाई काेभिड अस्पताल बनाउने बताएका बेला उनीहरुले यस्तो घोषणा गरेका हुन् । 

तीनै वटा शिक्षण अस्पतालले अहिले छुट्टै कोभिड अस्पताल सञ्चालन गरि बिरामीको उपचारमा जुटिरहेका छन् ।  झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । 
विश्वव्यापी रुपमा कोरोना कोभिड–१९ भाइरसको महामारी फैलिरहेका बेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने आफू तयार रहेको बताए ।

महामारीको संकटको समयमा भएको सबै स्रोत साधन सरकारलाई दिएर सघाउन आफू तयार रहेको बताउँदै प्रसाईले भने, 'राज्यलाई परको बेला म सघाउन तयार छु। त्यसका लागि सरकारपनि तयार रहनु पर्छ।' उनले कोभिडको महामारीको यो अबस्थामा सरकारले मुलुक बाहिर रहेका चिकित्सकहरु लगायतका जनशक्तिलाई नेपाल फर्काएर महामारीमा जुध्नु पर्ने सुझाव पनि दिए। मुलुक बाहिर ४० प्रतिशत भन्दा धेरै चिकित्सक,नर्स रहेकाले अहिलेको अवस्थालाई समाना गर्न उनीहरुलाई नेपाल फर्काएर काम गर्ने वातावरण सरकारले तयार गर्नु पर्ने प्रसाईले बताए ।

 ‘हामीसँग एक सय वटा आईसीयू, २५ वटा भ्यान्टिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन्’, प्रसाईंले रातोपाटीसँग भने, ‘हाम्रा डाक्टर काम गर्न तयार छन् तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्छ ।’

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था भने सरकारले नै गर्नुपर्ने उनको सर्त छ ।
प्रसाईंले थपे, ‘मैले यही मिडियामार्फत घोषणा गर्छु सरकारलाई आवश्यकता परेको वेला सुदूर पूर्वबाट अस्पताल, सम्पूर्ण संरचना र जनशक्ति सरकारलाई दिन संचालकको नाताले दुर्गा प्रसाईं तयार छ ।’

संचालक  प्रसाईका अनुसार बिएण्डसीको ८ सय नर्मल बेड, १ सय आइसियू कक्ष र २५ वटा भेन्टिलेटरसहितको आइसियू रहेको छ । हस्पिटलमा १०५ जना डाक्टर छन् । 

प्रसाईंले हस्पिटलको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० बेडको क्वारेन्टाइन बनाउन सकिने पनि बताए ।
विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस संक्रमित बिरामीको उपचार केन्द्र बनाउन सरकारलाई दिने घोषणा  सञ्चालक डा सुनिल शर्माले गरे ।

 नोबेलले अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिने जनाएको छन् । नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या छन् ।

डा शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा भगवान कोइरालालाई पत्रसमेत पठाएको बताए ।
नोबेलमा शैय्या थप गरी १ हजार शैय्यासम्म सञ्चालन गर्न सकिने पनि बताए।

बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालपनि महामारीको संकटको  अवधिका लागि स्रोत साधनसहित र जनशक्तिसहितको अस्पताल सरकारलाई दिन तयार रहेको संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले बताए।
उनले अस्पताल सरकारलाई जिम्मा लगाउन तयार भएपनि सरकारले जिम्मा लिएपछिको सम्पूर्ण खर्च भने ब्यर्होनु पर्ने बताए ।
उनले अहिले शिक्षण अस्पतालमा ५० बेडको भेन्टिलेटर र सोही संख्यामा आइसीयुसहितको ५ सय बेडको अस्पताल रहेको बताए । अस्पतालमा २ सय बढी चिकित्सक र ६ सय बढी नर्स कार्यरत रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप