शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भने–मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय ?

सोमबार, २७ वैशाख २०७८, १४ : ४०
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले सरकारले ३ वर्ष बढीको अवधिमा जनताको पक्षमा धेरै काम गरेको भन्दै अब पनि यही सरकारले निरन्तरता पाउने विश्वास गरे । 

उनले भने, ‘मैले विश्वास लिएको छु कि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ  सभामुख महोदय ?’ । उनले त्यसो भन्दा एमाले सांसदले टेबुल ठटाउँदै हुटिङ गरेका थिए ।  ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने असन्तुष्टि थियो कि ? त्यो पनि छाडिदिनुस् । म काममै लागेर त्यस्तो भएको हो।  मेरो कसैप्रति पूर्वाग्रह छैन।’

उनले यही सदनले आफूलाई निर्वाचित गरेको र ३ वर्षभन्दा बढी समय प्रधानमन्त्रीको हैसियतले सदनमा उभिएको भन्दै यही सदनको बलले आफू रहन्छु भन्ने लागेको बताए । उनले सदनप्रति आफ्नो विश्वास रहेको पनि बताए ।

ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको बताए । प्रधानमन्त्री ओलीले समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताए । ‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन,’ उनले भने, ‘भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ ।’ उनले संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने बताए ।

यस्तो महामारीमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तालाई छाडिन्न 

ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताए । 

ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी प्रस्तुत गरे ।

अहिलेसम्म नभएको विकास यो सरकारले गरेको छ

प्रधानमन्त्री ओलीले अहिलेसम्मका सरकारले गर्न नसकेका र नभएको विकास निर्माण र सुधारको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् । नयाँ नयाँ बाटाहरु बनाउने सन्दर्भमा, मुलुकलाई सरुङ्ग मार्गको युगमा प्रवेश गराउने सन्दर्भमा होस् या अन्य थुप्रै प्रकारका सुधारका क्रममा सरकार निरन्तर लागि परेको उनको भनाइ छ ।

पछिल्लो समय सरकारले भौतिक पूर्वाधारको विकास सँगसँगै डिजिटल युगमा प्रवेश गर्ने सन्दर्भमा समेत निकै ठूलो सफलता हासिल गरेको जिकिर गरे । 

सो सन्दर्भमा पछिल्लो समय सरकारले घरमै बसेर आफ्नो भूमिको मापन गर्ने मेरो कित्ता जस्तो सफ्टवेयरको सवालमा होस् या माटो, मल, लगायतको परीक्षणको सवालमा सरकारले सहज डिजिटल प्रयोगको सुरुवात गरेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ सरकार डिजिटल प्रविधिमा अघि बढिसकेका छ । अहिले हामी मोबाइलबाटै मेरो कित्ता एप्समार्फत जग्गाको कित्ताकाट, निरीक्षण गर्न सक्ने भएका छौं । नागरिक एप सञ्चालनमा आएको छ,’ प्रधानमन्त्रीले भने, ‘त्यति मात्र होइन हामीले भर्खरमात्र काठमाडौँमा दैनिक १७ करोड पानी ल्याएका छौँ । काठमाडौं बासीले अहिले सहज रुपमा मेलम्चीको पानी खान, प्रयोग गर्न पाएका छन् । अझ हामी थप मेलम्ची र याङ्री गरी थप अरु १७/१७ करोड लिटर पानी ल्याइँदैछ । यसरी अब दैनिक ५१ करोड लिटर पानी काठमाडौंमा आउने छ । धरहरा ठडिएको छ । अन्य विकास निर्माणका कामहरु तिब्र रुपमा भएका छन् ।’

प्रधानमन्त्रीले पुनः दोहो¥याए, ‘पहिले वर्षमा लगभग १० किलो मिटर बाटो बन्ने गरेकोमा अहिले सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण र कालोपत्र गरिरहेको छ । १२ वटा नयाँ स्मार्ट सिटी बन्दै गरेको छ, के यी सब सरकारको उपलब्धीपूर्ण कामहरु होइनन् र ?’

त्यस्तै, प्रधानमन्त्री ओलीले सभामा उद्योगहरुलाई संरक्षित गर्दै लैजाने, वैदेशिक व्यापार घाटालाई सरकारले पछिल्लो समय सन्तुलन गर्दै लगेको र सामाजिक विकास पूर्वाधारका कुराहरुमा तिब्र सुधारको क्रममा रहेको जानकारी दिए ।

सो अवसरमा उनले पछिल्लो समय कृषिमा समेत तीव्र सुधार भएको दाबी प्रस्तुत गरे । पछिल्लो समय धानमा ९ प्रतिशत, मकैमा ६ प्रतिशत र अन्यमा समेत सालाखाला ६ प्रतिशतले उत्पादन वृद्धि भएको उनले बताए । यता माच्छा मासु तथा दूधमा त नेपाल आत्मनिर्भर नै भइसकेको उनले दाबी प्रस्तुत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप