शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीसँग जुध्न सरकारले कहाँबाट कति ऋण तथा सहयोग प्राप्त गर्‍यो ?

बुधबार, १२ जेठ २०७८, १४ : ३५
बुधबार, १२ जेठ २०७८


काठमाडौं । देशको स्वास्थ्य पूर्वाधार तथा जनशक्तिले धान्न नसक्ने गरी कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । परिणामस्वरुप संघीय सरकारले कोरोना महामारीसँग जुध्नका लागि विभिन्न दातृ निकायसँग सहयोगको आह्वान गरिरहेको छ ।

सरकारको आह्वानअनुसार विभिन्न देशले स्वास्थ्य उपकरण तथा आर्थिक सहयोग गरेका छन् । केही मुलुक तथा दातृ निकायले महामारीसँग जुध्नका लागि नेपाललाई ऋण सहायता उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन देशबाट कस्तो सहयोग ?

नेपाल सरकारको आह्वानमा विभिन्न मुलुकले स्वास्थ्य सामग्री तथा उपकरणहरु सहयोगस्वरुप उपलब्ध गराएका छन् । चीन, स्पेन, स्वीट्जरल्याण्ड, अमेरिका, बंगलादेश लगायतबाट स्वास्थ्य सामग्री तथा उपकरणहरु सहयोग स्वरूप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार चीन सरकारले २ हजार थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने तिब्बत सरकारबाट १ सय ५० थान लिक्विड अक्सिजन ट्यांक सहयोगस्वरुप प्राप्त भएको छ ।

यस्तै, स्पेन सरकारबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र १ लाख २४ हजार एन्टिजेन किट लगायतका सामग्री सहयोगस्वरुप सरकारले प्राप्त गरेको छ ।

स्वीटजरल्याण्डबाट ११ लाख एन्टिजेन किट, ४० भेन्टिलेटर र १० अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार बंगलादेशबाट १० हजार रेम्डिसिभिर औषधि, सिंगापुरबाट २० भेन्टिलेटर, १ लाख २४ हजार पीसीआर किट लगायतका सामग्री प्राप्त भएको छ ।

यसैगरी, अमेरिकाबाट ५ लाख एन्टिजेन, पीपीई लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । अमेरिकाबाट थप स्वास्थ्य सामग्री तथा उपकरण आउने क्रममा  रहेको मन्त्रालयको भनाइ छ ।

स्वीटजरल्याण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिंगापुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्थाबाट जम्मा १३ करोड गरी करिब २ अर्ब रकम बराबरको स्वास्थ्य उपकरण तथा सामग्री सहयोग प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक सहायता कहाँबाट कति ?

कोभिड—१९ महामारी व्यवस्थापनका लागि हालसम्म आर्थिक सहायता अन्तर्गत जर्मन सरकारको ‘केएफडब्ल्यु’ मार्फत १ अर्ब ४२ करोड, एशियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट करिब २४ करोड सहायता रकम प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । जापान सरकारले ३ अर्ब २० करोड उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।

योसँगै जम्मा ५ अर्ब २२ करोड सहायता रकम नेपालले प्राप्त गरेको छ ।

ऋण सहायता कति ?

नेपालमा कोरोनाभाइरसको दोस्रो लहर घातक बन्दै गएपछि महामारीसँग जुध्नका लागि भन्दै सरकारले विभिन्न दातृनिकाय तथा बैंकहरुसँग ऋण सहायता समेत लिएको छ ।

ऋण सहायता अन्तर्गत कोभिड—१९ को प्रतिकार्यका लागि विश्व बैंकबाट ३ अर्ब ४८ करोड सहायता प्राप्त गर्ने क्रममा रहेको र कोभिड—१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कोभिड—१९ खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट पनि १९ अर्ब ८० करोड ऋण सहायता लिने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । महामारीसँग जुध्नका लागि हालसम्म जम्मा ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन भएको उनको भनाइ छ ।

यस्तो छ देशमा संक्रमणको अवस्था

विगत एक हप्ताको तथ्याङ्क हेर्दा दैनिक औसत ८ हजार ३ सय नयाँ संक्रमित थपिँदै गएका छन् । निषेधाज्ञा जारी गरेको २७ दिन पुग्दा पनि संक्रमण दर अपेक्षाअनुरुप नियन्त्रणमा आउन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोभिड–१९ का तीनवटा नयाँ भेरियन्टमध्ये अधिकांश संक्रमितमा ‘बी १.६१७.२’ भेरियन्ट फैलिएको छ । नयाँ भेरियन्ट घातक बन्दै जाँदा संक्रमित बिरामीले आवश्यकताका आधारमा  स्वास्थ्य उपचार सेवा सहज रुपमा पाउन सकिरहेका छैनन् । यद्यपि अघिल्ला हप्ताको तुलनामा हाल संक्रमित बिरामीले   सहज रुपमा उपचार सेवा पाइरहेको सरकारको जिकिर छ ।

देशमा सक्रिय संक्रमित १ लाख १५ हजार ५४७ रहेकोमा १ लाख ८ हजार १९८ जना अस्पतालमा र ७ हजार ३५० संस्थागत आइसोलेसनमा छन् । अस्पतालको सघन उपचार कक्ष आइसीयुमा १ हजार ७२१ र भेन्टिलेटरमा ४८४ जना उपचाररत छन् ।

कोरोनाको दोस्रो लहरसँगै संक्रमितको संख्या तीव्र रुपमा बढेपछि देशका विभिन्न अस्पतालमा स्वास्थ्य पूर्वाधार जुटाउने क्रम तीव्र तुल्याइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् । महामारीसँग जुध्नका लागि सरकारले कतिपय स्वास्थ्य सामग्री तथा पूर्वाधार आफै जुटाएको छ भने छिमेकी राष्ट्रहरुले समेत सहयोग गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप