बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरको नोबेल शिक्षण अस्पतालमा नयाँ बिरामीका लागि भर्ना बन्द

बुधबार, १२ जेठ २०७८, १७ : ३६
बुधबार, १२ जेठ २०७८

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले  अक्सिजनको चरम अभाव भएको भन्दै नयाँ संक्रमित बिरामीको भर्ना लिन छाडेको छ । सप्लाई गर्दै आएको अक्सिजन उद्योगमा समस्या आएकाले अक्सिजनको चरम अभाव भएपछि थप संक्रमितलाई भर्ना नलिने अस्पतालले जनाएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक नारायण दाहालले अस्पतालमा उपचाररत संक्रमितका लागि मात्र अक्सिजनको जोहो रहेकाले आजबाट थप संक्रमित भर्ना बन्द गरिएको बताए । ‘हिजोदेखि एक्कासि अक्सिजन उद्योगमा समस्या आएको भन्दै अस्पतालमा पनि अक्सिजन सप्लाई बन्द गरिएको छ’ दाहालले भने, ‘यस्तो अवस्थामा अस्पतालमा रहेका बिरामीलाई उपचारका लागि अन्यत्र पठाउन मिल्दैन।’ त्यसैले अस्पतालमा भएका बिरामीका लागि आवश्यक अक्सिजनको जोहोमा हामी जुटेका छौ’ तर अहिलेको यो अवस्थामा थप संक्रमित लिएर उपचार गर्न नसक्ने अवस्थामा रहेको उनले बताए ।

अस्पतालको कोभिड युनिटमा हाल १ सय ७२ जना संक्रमित उपचाररत रहेका छन्, जसमा  २७ जना भेन्टिलेटरमा राखेर उपचार गरिरहेको दाहालले बताए । अस्पतालमा उपचाररत  संक्रमितका लागि दैनिक १ सय ८० सिलिन्डर  अक्सिजन आवश्यक रहेकोमा अन्यत्रबाट गरी १ सय ५० सिलिन्डर व्यवस्थापन गरिएको र थप आवश्यक सिलिन्डर जोहो गर्ने कार्यमा अस्पताल प्रशासन लागेको दाहालको भनाई छ ।

नोवेललाई आवश्यक अक्सिजन सुनसरीको खनारमा रहेको पाथीभरा र मोरङको बूढी गङ्गामा रहेको हिमाल अक्सिजन उद्योगले आपूर्ति गर्दै आएकोमा दुबै उद्योगमा समस्या भएर उत्पादन बन्द भएपछि अक्सिजनको अभाव सृजना हुन पुगेको अस्पतालले जनाएको छ ।
उद्योगको इन्जिनमा मङ्गलबार बिहानबाट समस्या आएको भन्दै पाथीभरा अक्सिजन उद्योगको उत्पादन बन्द भएको छ । उसले नोबेललाई दैनिक १२० सिलिन्डरसम्म अक्सिजन पठाउने गरेको थियो । अक्सिजन अभाव भएपछि नोबेलको टोली बुधबार बिहान सुनसरीको दुहवीस्थित विनायक अक्सिजन उद्योगमा पुगेर १० सिलिन्डर अक्सिजन ल्याएको थियो । प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। संक्रमणसँगै माग बढेपछि धान्न समस्या भइरहेको उद्योग सञ्चालकको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप