शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : संक्रमण दर घट्यो तर चार जिल्लामा अझै जोखिम

मङ्गलबार, ०८ असार २०७८, १० : ४२
मङ्गलबार, ०८ असार २०७८


कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको दोस्रो तथा तेस्रो साता दैनिक सयौँको संख्यामा संक्रमित थपिने गरेको थिए । विशेषगरी प्रदेश राजधानी समेत रहेको सुर्खेत कोरोनाको हटस्पट बनेको थियो । संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी गरियो । त्यस्तै अन्य जिल्लामा पनि क्रमशः कोरोना फैलिँदै गएपछि वैशाख २२ सम्ममा प्रदेशका १० वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरिसकेका थिए ।

‘वैशाख अन्तिम सातासम्म प्रदेशमा कोरोना संक्रमणको दर झण्डै ९० प्रतिशतले बृद्धि भएको थियो,’ स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले भने, ‘अस्पतालहरुमा संक्रमितको चाप पनि निकै थियो । अस्पतालले बिरामीको चाप नै थेग्न नसक्ने स्थिति थियो ।’

संक्रमण उच्च हुँदा दैनिक १२ जनासम्म कोरोना संक्रमितले ज्यान गुमाए । प्रदेश अस्पताल सुर्खेतमा मात्र एकदिन १० जनाले ज्यान गुमाएको तथ्याङ्क छ । अन्य जिल्लामा जटिल खालका बिरामीको उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता थियो । प्रदेशका दुई स्थान सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मात्र अक्सिजन उत्पादन हुने गर्दथ्यो । जसले बिरामीलाई पुग्दैनथ्यो ।  प्रदेश अस्पताल सुर्खेतमा बिरामीका आफन्तले अक्सिजन खोसाखोस  गर्नुपर्ने स्थिती सम्म आयो ।

प्रदेशमा झण्डै २७ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् भने ३ सय जनाको मृत्यु भइसकेको छ । जेठ दोस्रो सातादेखि भने प्रदेशमा कोरोना संक्रमणको दरमा कमी हुँदै आएको छ । त्यसपछिका दिनमा मृत्युदरमा कमी आयो भने डिस्चार्ज हुनको संख्या बढ्दै गएको निर्देशक खड्काले बताए । उनले भने, ‘जेठ दोस्रो सातासम्म आइपुग्दा संक्रमण ४० प्रतिशतमा झरेको थियो । हाल संक्रमित हुने दर २० प्रतिशतमा झरेको छ ।’

असार महिनाको दुई दिन प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको अवस्था छ ।

यस्तो छ तथ्याङ्क 

निर्देशनालयका अनुसार कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । सोमबार १ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३०० पुगेको हो । मृत्यु हुनेमा सुर्खेतमा सबैभन्दा धेरै १७४ जना रहेका छन् भने हुम्ला र मुगुमा २÷२ जनाले जना रहेका छन् । यस्तै रुकुम पश्चिम दोस्रो, दैलेख तेस्रो स्थानमा रहेका छन् । जसमा पहिलो लहर भन्दा दोस्रो लहरमा मृतकको संख्या तेब्बरले बढि छ । स्वास्थ्य निर्देशक खड्काका अनुसार पहिलो र दोस्रो चरण गरी प्रदेशका १ लाख ५२ हजार ९६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये आरटी–पीसिआर विधिबाट १ लाख १९ हजार ९२९  र एन्टिजेन विधिबाट ३२ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको छ। दुबै खाले विधिबाट गरिएको परीक्षणबाट प्रदेशभर २७ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २४ हजार ३ भन्दा बढीले कोरोनालाई जितेका छन् । लैङ्गिक आधारमा हेर्ने हो भने कोरोनाबाट पीडित हुनेमा ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला रहेका छन् । 

चार जिल्ला अझै उच्च जोखिममा 

कोरोना संक्रमणको दर २० प्रतिशतमा झरेपनि कर्णालीका चार जिल्ला अझै पनि उच्च जोखिमा रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार रुकुम पश्चिम, दैलेख, हुम्ला र सल्यानमा अझै पनि कोरोना संक्रमणको दर अन्य जिल्लाको तुलनामा बढि रहेको छ । स्वास्थ्य निर्देशक खड्काले भने, ‘जम्मा तथ्याङ्कमा हेर्दा सुर्खेतमा संक्रमितको संख्या बढि देखिएपनि पछिल्लो समय सुर्खेतमा कमी आएको छ । तर, चार जिल्लामा संक्रमितको दर अझै पनि उच्च रहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा चार जनामा कोरोना संक्रमण पुष्टि हुँदा रुकुम पश्चिममा भने ११ जनामा कोरोना पुष्टि भएको छ।    

पछिल्लो २४ घण्टामा

कर्णाली प्रदेशमा सोमबार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८६ जनामा गरिएको आरटीपिसीआर विधिबाट परीक्षण गर्दा ३८ र २७९ जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणबाट  ७० जनामा कोरोना पुष्टि भएको हो । यस्तै थप एक जनाको मृत्यु भएको छ ।  यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८२ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप