शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

बिहीबार, १० असार २०७८, १५ : ०९
बिहीबार, १० असार २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले पोखरा महानगरपालिकाको नवौं नगरसभालाइ सम्बोधन गर्दै नागरिकको जीवन जोगाउनका लागि बजेटको अभाव नहुने बताए । 

संघ सरकारबाट अनुदानका रुपमा पाउने र खरिद गर्ने बाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए ।  उनले संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन सरकार लाग्नुपर्ने बताए ।

उनले लोकतन्त्रको आधारस्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका हुन् । ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनुपर्नेछ’ उनले भने । उनले विकास निर्माणसहित राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप सहकार्य हुनुपर्ने बताए । 

मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको बताए । गण्डकी प्रदेशको लाइफलाइन कोरोला, पोखरा, त्रिवेणी सडकको निर्माणमा समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो । 

लोक कल्याणकारी राज्यको अवधारणा अनुसार विकासले नागरिकको समुन्नति र गरिबी न्यूनीकरणमा लाग्नुपर्ने मान्यता सरकारले बोकेको बताउँदै सुशासन स्थापनालाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको उनले बताए । 
पारदर्शिता र उत्तरदायित्व सहितको नागरिक शासन भएमा मात्र कुनैपनि शासन व्यवस्था सुदृढ हुने भएकाले राजनीतिक नेतृत्वले यसलाई मनन् गर्नुपर्नेमा उनले जोड दिए । पछाडि परेको वर्ग, क्षेत्रको उत्थानका लागि पनि दुवै तहका सरकारबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । 

प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको भन्दै यसका लागि संघ सरकारले छिटो निजामती सेवा ऐन ल्याउनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री पोखरेलले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन नै भएकाले पोखरालाई पर्यटकीय नगर घोषणा गरेर त्यसै अनुसारको पूर्वाधार तयार पार्न सरकार प्रतिबद्ध रहेको बताए । क्षेत्रफलका हिसाबले मुलुककै ठूलो पोखरा महानगरलाई पर्यटकीय, शैक्षिक र समुन्नत बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । 

गण्डकी प्रदेशको राजधानी पोखराबाट विश्वका ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमालहरू (धवलागिरि, मनास्लु र अन्नपूर्ण प्रथम) एकै स्थानबाट हेर्न सकिने भएकोले यसको छुट्टै गरिमा रहेको उनको भनाई छ । ‘सुन्दर र अनौठो माछापुच्छ्रे«े पोखराको गौरव हो, ताल र गुफाले परिचित पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप आकर्षक बनाएको छ’ उनले भने ।

फेवातालको सिल्टेसन ड्याम निर्माणमा पोखरा महानगरसँग प्रदेश सरकारले साझेदारी गरेको, लामे आहालमा प्रदेशस्तरीय बसपार्क स्थापनाको लागि आगामी आर्थिक बर्षमा समेत प्राथमिकतामा परेको उनले जानकारी गराए । 
महानगरको २२ किलोमिटर सडक अमेरिकी प्रविधिबाट बनेका अस्फाल्ट पिचमा पनि प्रदेशले सहकार्य गरेको उनले बताए । अन्य विभिन्न पूर्वाधार निर्माणमा साझेदारी र सहकार्य हुँदै आएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ थियो । 

प्रदेश सरकारले घोषणा गरेको स्तन क्यान्सरको निशुल्क उपचार, ६५ वर्ष माथिका नागरिकहरुको निशुल्क उपचार,विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममा पनि सहकार्य गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताए । 
कार्यक्रमको सुरुमा मुख्यमन्त्री पोखरेलले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालो विमोचन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप