शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वायुसेवा सञ्चालक संघद्वारा पूर्ण उडानको माग

आइतबार, २० असार २०७८, १८ : ४५
आइतबार, २० असार २०७८

निजी हवाई कम्पनीहरुको स्वतन्त्र संस्था वायुसेवा सञ्चालक संघ (एओन) ले सरकारसँग साविककै पूर्ण हवाई उडानको माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले अहिलेको बर्खाको मौसममा देशभित्रका विभिन्न स्थानमा घट्ने घटनाका लागि राहत उद्धारमा आवश्यक उडान भर्नुपर्ने र ५० प्रतिशतको कोटाले यात्रु घट्न गई आम्दानी घटनाले खर्च धान्न मुश्किल हुने हुँदा पूर्ण उडान खुल्ला गर्नुपर्ने माग गरेको हो ।   

अहिले परेको अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पुर्याएको छ । कहीँ डाइभर्सन बगाएको छ भने कतै पहिरो त कतै पुलमा क्षति । सर्वसाधारण यात्रुहरु विभिन्न ठाउँमा रोकिएका छन् । आउजाउमा निकै नै समस्या परिरहेको छ ।

हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने देखिन्छ । उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ । निषेधाज्ञा अगाडी झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोरदोहर गरेको रेकर्ड छ । यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै हो । 

हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि पुष्टि गरेको छ । हामी संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउ साथ पालना गरेका छौं ।  विश्व स्वास्थ्य संगठनले पनि मास्कको प्रयोगबाट करोना नसर्ने पुष्टि गरेको छ । ह्याण्ड सेनिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाईमा विशेष ध्यान दिएका छौं ।

 तसर्थ यस विषम परिस्थितिमा नेपाल वायु सेवा सञ्चालक संघ सरकारसँग हातेमालो गर्न तयार छ । हामी यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकाले उडान गर्न प्रतिवद्धता व्यक्त गर्दछौं । सहज र सस्तो उडानका लागि निषेधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौं । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप