बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दुर्लभ कथा : जब छनोटबाटै बाहिरिएको डेनमार्कले जितेको थियो युरोकप

बुधबार, २३ असार २०७८, १७ : ५९
बुधबार, २३ असार २०७८

युरोकप फुटबलको सेमिफाइनलमा आज डेनमार्क र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । र, डेनिस टिम आश्चर्यजनक नतिजाहरू निकाल्न सिपालु छ । जारी युरोमा पनि समूह चरणका सुरुवाती दुई खेल हारेको डेनमार्कले अन्तिम खेलमा रुसविरुद्ध ४–१ को जित निकालेको थियो । डेनमार्कका लागि सबैभन्दा आश्चर्यजनक प्रतियोगिता भने १९९२ को युरो थियो, जहाँ पहिले छनौटबाटै बाहिरिएको यो टोली अन्त्यमा च्याम्पियन भयो । 

त्यति बेला डेनमार्कलाई युरोको तयारी गर्नका लागि केवल एक साताको समय दिइएको थियो, एक महिनाभन्दा कम समयपछि उसले उपाधि जित्यो ।  खासमा, छनोट चरणमा आफ्नो समूहमा उपविजेता बनेको डेनमार्क यस संस्करण युरोकपमा छनोट हुन असफल भएको थियो । विजेताका रूपमा युरोमा छानिएको युगोस्लाभियालाई गृहयुद्धका कारण प्रतियोगिता खेल्ने अनुमति दिइएन ।

​त्यसपछि डेनमार्कले खेल्ने अवसर पायो । आठ टिम सम्मिलित यस प्रतियोगिताको समूह चरणमा आयोजक स्वीडेन, इंग्ल्याण्ड र फ्रान्ससँग डेनमार्कले प्रतिस्पर्धा गर्नुपर्ने थियो । यस प्रतियोगितामा डेनमार्कका तर्फबाट उत्कृष्ट खेल्नेमध्ये किम भिलफोर्ट एक थिए । 

सन् २०१२ मा उनले बीबीसीसँगको अन्तर्वार्तामा यस प्रतियोगिताबारे बोलेका छन्  । उनका अनुसार सुरुमै छनोटबाट बाहिरिइसकेको र भाग्यवस् मौका पाएको हुनाले डेनिस टोलीसँग खासै ठुलो अपेक्षा थिएन । ‘युरो खेल्न प्रस्ताव आएपछि डेनमार्कले कुनै छलफल नै नगरी स्वीकृति दिएको थियो किनकि यस प्रतियोगितामा सहभागी नहुनु भनेको युईएफएसँगको सम्बन्ध बिग्रनु थियो, यतिका लागि मात्रै हामी सहभागी भएका थियौँ,’ ५८ वर्षका भिलफर्टले भनेका छन्, ‘तर हामीसँग राम्रो टोली पनि थियो । जस्तो, छनोटमा पनि हामीले समूह चरणमा युगोस्लाभियालाई हराएका थियौँ ।’

खेलाडीहरूले छोटो समयमात्रै तयारी गरेकाले अपेक्षा कम थियो । ‘हामीले समूह चरणमा तीनवटै खेलमा ५ गोल खाएर हारेको भए पनि केही फरक पर्नेवाला थिएन । हामीलाई डर थिएन,’ उनले भने । अपेक्षा र डर नहुनु नै डेनमार्कको शक्ति बन्यो ।

समूह चरणको पहिलो खेलमा इंग्ल्याण्डसँग गोलरहित बराबरी खेलेको डेनमार्क दोस्रो खेलमा स्विडेनसँग पराजित भयो । फ्रान्ससँगको अन्तिम खेलअघि डेनमार्कसँग सेमिफाइनलमा छनोट हुने झिनो आशा मात्र बाँकी थियो । 

फ्रान्सविरुद्धको खेलबारे भिलफोर्ट सम्झन्छन्,‘हामीले हैरान नभई खेल्यो किनकि हामीलाई लागेको थियो हामी घर फर्कनेछौँ ।’ तर रिचार्ड मोलर निल्सेनको प्रशिक्षणमा रहेको टोलीले फ्रान्सलाई २–१ ले हरायो । हेनरिक लार्सन र लार्स इल्स्ट्रुपले एक–एक गोल गरे । 

यो खेलमा भिलफोर्ट आफैँ भने उपस्थिति थिएनन् । लिकेइमिया नामक रोगसँग जुधिरहेकी सात वर्षीय छोरी लिनलाई भेट्न उनी गएका थिए, दुर्भाग्य भिलफोर्टले प्रतियोगिता जितेको खुसी मनाएको केही दिनमै छोरीले युद्ध हारिन् ।

अब फेरि प्रतियोगितामै फर्कौँ, फ्रान्स र इंग्ल्याण्ड यो समूहबाट पहिलो चरणबाटै बाहिरिए । डेनमार्क र आयोजक स्वीडेन सेमिफाइनल पुगे । तर, डिफेन्डिङ च्याम्पियन डेनमार्कविरुद्धको सेमिफाइनल सहज थिएन ।  यद्यपि, डेनमार्कले डटेर खेल्यो र ९० मिनेटसम्म २–२ को बराबरी खेल्यो । लार्सनले यस खेलमा डेनमार्कका लागि दुवै गोल गरेका थिए । अतिरिक्त समयमा गोल भएन र पेनाल्टीमा खेल गयो । 

नेदरल्यान्डस्का स्टार मार्को भान बास्टनको पेनाल्टीलाई गोलकिपर पिटर स्माइकलले जोगाए । खेलमा मिस भएको यो एक मात्रै पेनाल्टी थियो र यसपछि पेनाल्टी हान्न आएका किम क्रिस्टोफ्टेले गोल गर्दै डेनमार्कलाई सेमिफाइनलमा पु¥याए । 

भिलफोर्ट यस प्रतिस्पर्धालाई डेनिस टिमले खेलेका अहिलेसम्मकै एक उत्कृष्ट खेलका रूपमा बताउँछन् । तत्कालीन विश्व विजेता जर्मनीसँगको खेलमा भने रक्षात्मक सोचको डेनिस टोली केही भाग्यमानी साबित भएको उनको बुझाई छ । 

सेमिफाइनलमा स्विडेनलाई ३–२ ले हराउँदै जर्मनी फाइनल पुगेको थियो । उनीहरूले फाइनलमा सुरुवाती समय खेलमा निकै दबाब बनाए । र, म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने स्माइकल फेरि एकपटक नायक बने । उनले कार्ल हेइन्ज रिड्ले, स्टेफान रोयटर र गुइदो वाचवाल्डका प्रहार जोगाए । 

त्यसपछि डेनमार्कका जोन जेनसेनले गोल गर्ने अवसर पाए । ४८ पटक डेनिस टिमबाट खेले पनि उनले एकपटक मात्रै गोल गरेको इतिहास थियो । तर, त्यो सबै बिर्साउने गरी उनले फाइनलमा १८ औँ मिनेटमा गोल गरे । यस गोलपछि जर्मनी निकै आक्रामक बन्यो । तर, खेल सकिने १२ मिनेट बाँकी रहँदा उनीहरू एकाएक हतास भए । भिलफोर्टले दुई जना डिफेन्डरलाई छलाउँदै शान्दार गोल गरे । 

सबै खेलाडीहरू भिलफोर्टमाथि थुप्रिए र एउटा दन्त्यकथाले पूर्णता पायो । ‘हाम्रो टोलीमा रहेका १० खेलाडीहरूले कुनै न कुनै समय ब्रोन्डवाईबाट खेलको थिए । युरो सुरु हुनभन्दा एक वर्षअघि यस क्लबले युईएफए कपको सेमिफाइनलमा स्थान बनाएको थियो र यो अनुभव डेनिस टिमका लागि ठुलो थियो ,’ भिलफोर्टले भने,‘टोलीका केही खेलाडीले यु–२१ र १९८८ को सिओल ओलम्पिकका लागि छनोट भएको टिमबाट पनि खेलेका थिए ।’

उनले थपे,‘हामीसँग उत्साहपूर्ण भावना थियो । यो टोली जित्न चाहन्थ्यो र ठुला प्रतियोगितामा यस्तो चाहना निकै महत्त्वपूर्ण हुन्छ । जब हामी जर्मनीविरुद्ध दबाबमा थियौँ, तब हाम्रो भावनाले काम ग¥यो । हामीसँग उत्कृष्ट खेलाडी थिएनन् । उत्कृष्ट टिम थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप