शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेता साँच्चै नै खराब हुन् त ?

शुक्रबार, २५ असार २०७८, १२ : ४७
शुक्रबार, २५ असार २०७८

आलोचना र निन्दाबीचको फरक सूक्ष्म हुन्छ । आलोचनामा करुणा हुन्छ । निन्दामा घृणा र अहङ्कार । आलोचना सत्मार्गमा हिँडाउनका लागि हुन्छ भने निन्दा दबाउनका लागि । आलोचनामा सुध्रियोस् भन्ने अपेक्षा हुन्छ र निन्दामा अर्काको आत्मालाई चोट पुगोस् भन्ने । पापको विरोध गर्नु आलोचना हो भने पापीको विरोध गर्नु निन्दा ।

यहाँ नेता र जनताको प्रवृत्तिको आलोचना मात्र गर्न खोजिएको हो । सुरुमा नै भन्छु म नेता होइन, आम जनता नै हुँ  । तर, आज आफ्नो शरीरको मैलो मिच्दैछु । नेपालमा नेताले ठीक गरेका छन् भनेर कसैले भन्यो भने ऊ पागल साबित हुन्छ । तर, के उसो भए हामी जनता ठीक छौँ त ? प्रश्न आफैंतिर फर्किन्छ ।

अहँ ! हामी त झन् धेरै फोहोरी रहेछौँ । राजनीतिक गन्जागोलले आक्रान्त पारिराखेको हाम्रो देशलाई पछिल्लो महाभूकम्प र महामारीले झन् ठूलो घाउ बनाइदियो । यो प्राकृतिक विपत्ति थियो, टारेर टर्दैन नै थियो । हजारौँको ज्यान गयो, दशौँ हजार आफन्तविहीन भए, लाखौँ प्रभावित भएका छन् । यस्तो विपत्तिपछि जनताले समयमा राहत पाउनुपर्थ्यो, पाएनन् । किनकि राज्य प्रणालीले देशका कुनाकाप्चामा आफ्नो उपस्थिति देखाउनै सक्दैन । अब यस्तो विपत्तिबाट पाठ सिकेर सजगता अपनाउनु पर्छ ।

यो महामारीमा सामाजिक सञ्जालहरूमा नेतालाई जनताले धेरै गाली गरे । केही मानिसले नेतालाई गाली गरेका भिडियो बनाएर पोस्ट गरे । त्यो स्वाभाविक पनि हो । तर नेता भनेको को हो ?

जनतालाई यदि एउटा तलाउ मान्ने हो भने नेता भनेको तलाउबाट निकालिएको बाल्टिनको पानी मात्र हो । अब बाल्टिनमा सफा पानी निकाल्न पहिले तलाउ सफा हुनुपर्छ । त्यसैले व्यवस्थापनमा कमजोरी भएकै छ, त्यसमा दुई मतै छैन । तर एक आना जग्गामा तीन तला घर कसले बनायो ? जनताले होइन ?

घरको नक्सा पास भएअनुसारको नबनाउने को हो ? जनता होइन ? विपत्तिका बेला घरमा चोरी गर्ने को हो ? त्यही जनता होइन ?

सरकारबाट राहतको त्रिपाल लगेर मोटरलाई ओडाउने जनता । गाडीभाडा मनलाग्दी लिने जनता, होटलमा मनपरी पैसा लिने जनता, रेम्डिसिभिर भन्ने औषधि  जाम बनाएर महँगोमा बेच्ने, जथाभावी फोहोर गर्ने जनता । राहतको सामग्री बाटोबाटै लुटेर आफू मात्र लिने अरू पीडितलाई नदिने, सरकारी कार्यालयमा गएर छिटो काम गराउन घुस खुवाउने को हो ? त्यही जनता होइन ?

यस्ता थुप्रै कमीकमजोरीरूपी फोहोरले नै हाम्रो तलाउ फोहोर छ । अनि हामी त्यो फोहोरी तलाउबाट झिकेको बाल्टीको पानी फोहोर भयो भनेर चिच्चाइरहेका छौँ । अब आफै पनि सुध्रने प्रयास गर्ने कि ? त्यसो हो भने सुरुवात आफैँबाट गर्नुपर्छ ।

अहिलेको समय हामीले विश्लेषण गर्नुपर्ने तथ्य के हो भने हामीमाथि शासन गरिरहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुरहरू नै हाम्रो चरित्र र चेतनाका प्रतिबिम्ब र प्रतिनिधि हुन् ।

विश्वमा व्याप्त कोरोना भाइरस महामारीसँग लड्न अधिक विकसित मुलुकलाई समेत हम्मेहम्मे परेका बेला हामीजस्तो कम विकसित मुलुकका शासक दिग्भ्रमित भएर राजनीतिको अराजनीतिक, अनैतिक र असामयिक धन्दामा व्यस्त छन् ।  यो अवस्थामा हामीले हाम्रो राजनीतिक नेतृत्व र त्यहाँ आसिन केही व्यक्तिलाई मात्र दोषारोपण गर्ने र सामाजिक सञ्जालमा तँछाड मछाड गर्दै आलोचना गर्नुले मात्र हाम्रो प्रणाली र त्यसको सञ्चालनका क्रममा भएका त्रुटि र कमजोरीको सुधार हुँदैन ।

सामाजिक सञ्जालमा अमूक नेतालाई छाडा गाली गर्ने तर राजनीतिक प्रक्रियामार्फत शासक चुन्ने बेला यी सबै बिर्सिएर उही अधिनायकवादी, सनातनी नेता, पार्टी वा त्यस्ता चरित्र बोकेका जनप्रतिनिधि चुन्ने उपक्रम नरोकिएसम्म प्रजातन्त्रको ढोकाबाट नै यस्ता अधिनायकवाद आइरहन्छन् । बेरोजगार नेतासँग करोडौँको सम्पत्ति कहाँबाट आयो ? निर्वाचनमा खर्च गर्न त्यत्रो पैसा कहाँबाट आउँछ ? सत्ताको अङ्कगणित मिलाउन सांसद खरिद–बिक्री गर्ने नैतिक साहस र पैसा कहाँबाट आउँछ ? नेपालमा सायदै कुनै नेता होला जसले आफ्नो सेतो धनको नियमित कर तिर्छ । सुको कर नतिर्ने गरिब देशका नेताको राजसी जीवन कसरी बन्छ ?

समय रहँदै यी प्रश्नको उत्तर खोज्न नसक्ने वा नचाहने अनि सामाजिक सञ्जालमा आफ्ना पीडाका आक्रोशहरू मात्र पोख्नाले केही सुधार आउँदैन । व्यवस्थाको नाम जे दिए पनि समाजको वास्तविकता र औकात उही रहिरहन्छ । सामाजिक सञ्जालमा आक्रोश पोख्न पनि हाम्रो अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहेसम्म मात्र पाइन्छ । साँच्चै अधिनायकवाद आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि गुम्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा