शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनको प्रतिस्पर्धामा छु, मेरो टिम विस्तारित र पूर्ण हुनेछ : सिटौला

सोमबार, २८ असार २०७८, ०९ : १२
सोमबार, २८ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसभित्र शक्ति सन्तुलनमा ‘किङमेकर’ मानिने कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशनको तयारीलाई तीव्र पारेका छन् । काठमाडौंको बत्तिसपुतलीमा सम्पर्क कार्यालय खुलेर उनले महाधिवेशनको गतिविधि गरिरहेका छन् ।

शनिबार रातोपाटीकर्मी बत्तिसपुतली पुग्दा सिटौला कार्यकर्तासँगको भेटघाटमा व्यस्त थिए । कार्यकर्तासँगको भेटघाट छोट्याएर रातोपाटीसँग कुराकानी गर्न तयार भएका सिटौलाले पूर्ण टिमसहित १४ औं महाधिवेशनको प्रतिस्पर्धामा उत्रिने बताए ।

१३ औं महाधिवेशनका प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका भन्दा आफूलाई फेरि सभापतिमा लड्न सहज हुने सिटौलाको बुझाइ छ । साथै उनले केही गरी भदौ १६ मा महाधिवेशन नभए पनि हतास भइहाल्न नहुने बताए । प्रस्तुत छ–सिटौलासँग रातोपाटीका लागि लोकेन्द्र भट्टले गरेको कुराकानी–

काँग्रेसको १४ औं महाधिवेशन हुनेमा अझै पनि प्रश्न उब्जिएको देखिन्छ । वर्तमान परिस्थितिमा महाधिवेशन हुने अवस्था छ कि छैन ?

कोभिड–१९ संक्रमणको महामारी रोकिएको छैन । त्यसका कारणले मानिसमा त्रास छ । तर, भदौ महिनाभित्र केन्द्रीय पदाधिकारीको निर्वाचन सम्पन्न गर्ने हामीलाई संवैधानिक बाध्यता छ ।

पार्टी विधानले दिएको व्यवस्था र संविधानले गरेका व्यवस्था अन्तर्गत केन्द्रीय पदाधिकारी र सातैवटा प्रदेश कार्यसमितिका पदाधिकारीको निर्वाचन हुनैपर्छ ।

सर्वोच्चको फैसलापछिको राजनीति परिणामले मंसिरमा आम चुनाव हुने परिस्थिति बन्यो भने महाधिवेशन गर्न कठिन हुन्छ ।

यसलाई सम्बोधन गर्नका लागि संवैधानिक न्यायिक बाटो खोज्नुपर्यो । त्यसतर्फको प्रस्ताव आयो भने त्यसका विकल्पहरु के–के हुन्छन् भनेर छलफल होला । तपाईंले अन्तर्वार्ता लिँदै गर्दा महाधिवेशनको तयारीमा देशभर साथीहरु लाग्नुभएको छ ।

क्रियाशील सदस्य छानविन समितिले यही असार मसान्तभित्र आफ्नो कार्यभार पूरा गर्छ । निर्वाचन समितिले प्रतिनिधिहरु जिल्लामा खटाउँछ । साउन १२ गते सुरु गर्ने भनेको वडा अधिवेशन केही दिन पर सर्न सक्छ । त्यो म देख्छु । त्यो ठूलो कुरा भएन नि ! वैकल्पिक बाटोको चर्चा गरेपनि अबसम्म साथीहरुले छलफलका लागि प्रस्ताव ल्याउनुहुन्न त्यसतर्फ सोच्नु उपयुक्त हुन्न भन्ने लाग्छ मलाई ।

क्रियाशील सदस्यता विवाद कसरी टुंग्याउने भन्नेबारे छानविन समितिले मापदण्ड बनाउन नसक्दा तपाईंले सहजीकरण गर्नुभएको थियो । अझै पनि क्रियाशील सदस्यताका सन्दर्भमा विवाद कायमै छ । यो किन भइरहेको छ ?

क्रियाशील सदस्य छानविन समितिले छानविनका लागि मापदण्ड बनाउन सकेको अवस्था थिएन । यसबारे केन्द्रका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल हुँदा छानविन समितिले मसँग सहयोग माग्यो । मैले सहयोग गरेँ । मापदण्ड बन्यो । अब छानविन समितिले विवादका विषयलाई सहमतिमै टुंग्याउने छ । सहमति भएन भने मापदण्ड बमोजिम निर्णय हुन्छ । अब कुनै गाह्रो छैन ।

त्यसो भए अझै पनि क्रियाशील सदस्यतामा चलखेल गरेर संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको भन्दै संस्थापन इत्तर पक्षले विरोध किन गरिरहेको छ त ?

क्रियाशील सदस्य छानविन समितिले गर्ने निर्णयमा अब ठूलो समस्या छैन । निर्णय दिन सक्छ । समस्या समायोजन समितिबाट उठ्न थालेको भनेर चर्चामा आएको छ ।

समायोजन समितिको निर्णयबाट विवाद धेरै बल्झिएको भन्ने खालाको कुरा शुक्रबार रामचन्द्रजीले मलाई भन्नुभयो । समायोजन समितिले कहाँनिर आफ्नो कार्यभार पुर्याएको छ, के गरेको छ ? त्यो मैले बुझिरहेको छैन । तर क्रियाशील सदस्यता छानविन समितिमा निर्णय गर्नै नसक्ने विवाद हुन्छ भन्ने मलाई लाग्दैन ।​

काँग्रेस बनाउन र आफू बन्न काँग्रेसमा आएकाहरुप्रति संस्थापन इत्तर पक्षले निषेधको नीति लिँदा समायोजनका नाममा विवाद बल्झिएको भन्ने छ । काँग्रेसमा आएकाहरुको अस्तित्व स्वीकार नगर्दा यो समास्या आयो हो ?

–मलाई त्यस्तो लाग्दैन । महाधिवेशनको प्रतिस्पर्धामा प्रवेश गरेपछि एक अर्कालाई घोचपेच त गर्छन् साथीहरुले । त्यो घोचपेच नगरेको जाति । केन्द्रमा प्रवेश गर्ने अन्य पार्टीका नेताहरुले केन्द्रमा पनि सूची बनाउनुभएको छ । त्यसलाई कसरी मापदण्ड बनाएर टुंग्याउने भन्ने कुरामा पनि केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेको छ । त्यो निर्णयका आधारमा टुंग्याउँदा सिद्धिहाल्यो । त्यसमा कुनै समस्या देख्दिनँ ।

केन्द्रीय कार्यसमितिले निश्चिम कार्यदिशा र मापदण्ड बनाएर समायोजन समितिलाई दिएको छ । त्यसैको आधारमा छलफल हुनुपर्छ मेरो भनाइ हो ।

दोस्रो कुुरा जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेकाको विषयमा विवाद आउन खोजेको छ । त्यसमा जिल्लाले वडा तहबाट प्रक्रिया पुर्याएर ल्याएको छ भने समायोजन समितिले हेर्छ । प्रक्रिया नै पुरा गरेर आएको छैन भने त समायोजन समितिलाई निर्णय लिन गाह्रो होला । त्यसैले यसमा एकले अर्कालाई घोचपेच गर्न आवश्यकता नै छैन ।

विधान, नियम र केन्द्रीय कार्यसमितिको निर्णयले पनि नपुग्ने भन्ने र त्यसलाई नै उल्लघंन गर्ने कुरा त मान्य हुँदैन नि ! त्यसमा आधारित भएर सहमतिका साथ निर्णय गर्नुपर्छ । महाधिवेशन कार्यविधि र कार्यतालिका बहुमत र अल्पमतले बनाउने होइन । प्रतिस्पर्धा आफ्नो ठाउँमा हुन्छ । तर कार्यविधि र कार्यतालिका समझदारी र सहमतिबाट बनाउने नेपाली काँग्रेसको परम्परा हो । आजसम्म त्यो परम्पराले नै नेपाली काँग्रेस आन्तरिक लोकतन्त्रमा आधारित भएर बाच्यो नि त । यो एकदम सुन्दर पक्ष छ ।

हामी कार्य विधि र कार्यतालिका समझदारीबाट मनाउँछौं । निर्वाचन समिति समझदारीबाट बनाउँछौं । छानविन समिति सझदारीबाट बनाउँछौं । समझदारी र सहमतिबाट निर्णय गर्छौं । अनि प्रतिस्पर्धामा उत्रिन्छौं र आएको परिणामलाई  सहज ढंगले स्वीकार गर्छौं । यो नेपाली काँग्रेस पार्टीको सुन्दर पक्ष हो । लोकतान्त्रिक ढंगले संगठन निर्माण गर्न सुन्दर पक्ष पनि यही हो नि ! यसलाई मर्न दिनुहुँदैन । स्वच्छ प्रतिस्पर्धा र परिणामपछि पार्टीभित्र सम्पूर्ण एकतालाई केन्द्रमा राखेर जानुपर्छ ।

क्रियाशील सदस्यताका विवादले महाधिवेशन प्रभावित हुँदैन भन्नेमा तपाईं ढुक्क देखिनुभयो । राष्ट्रिय राजनीतिले महाधिवेशनलाई प्रभावित पार्ने सम्भावना कति देख्नुभएको छ ?

अदालतको फैसलापछि जे सरकार र संसदमा राजनीतिक परिणाम होला, त्यो परिणामले कात्तिक–मंसिरमा निर्वाचन हुने स्थिति बन्यो भने महाधिवेशन प्रभावित हुन्छ । हामीलाई गाह्रो हुन्छ । भदौमा महाधिवेशन सम्पन्न गर्न लाग्ने कि कात्तिक मंसिरको चुनावको तयारीमा लाग्ने भन्ने प्रश्न खडा हुन्छ । त्यसबेला हामी छलफल गर्छौं ।

सर्वोच्चको कस्तो फैसला आउँछ, त्यो फैसलाले कस्तो राजनीतिक कार्यदिशा गाइड गर्छ र त्यसबाट के परिणाम आउछ । हेर्न बाँकी छ । अहिले अनुमानका भरमा बोल्नु उपयुक्त हुँदैन नि त !

मानौं सर्वोच्च अदालतबाट संसद विघटन सदर भयो ।  तर, काँग्रेसलाई भदौंमा महाधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यो परिस्थितिमा त्यो बाध्यताको विकल्प के देख्नुभएको छ ? तपाईं त कानुनको पनि ज्ञाता हो...

यो दुनियाँमा निर्विकल्प त केही छैन । विकल्प हुन्छ ।

तर, काँग्रेसका केही नेता र कानुनविद्ले त महाधिवेशनको विकल्प छैन भन्नुहुन्छ नि ?

अहिलेको परिस्थितिमा विकल्प छैन । परिस्थिति परिवर्तन हुन्छ भने विकल्प पनि परिवर्तन हुन्छ नि त ! त्यति त हामीले बुझ्न सक्नुपर्छ । दुनियाँमा असम्भव केही छैन । सम्भावनाका खेलहरु जहिलेसुकै रहन्छन् । कहिले पनि ढोका बन्द हुँदैन । एउटा ढोका बन्द भए अर्को ढोका खोल्न सकिन्छ नि त ! निर्विकल्प केही हुन्छ म कहिले सोच्दिनँ । त्यसैले हामीले यति ज्यादा आत्तिनुपर्ने अवस्था छैन । विकल्प नै छैन, अब खतम भयो भन्ने हतासातर्फ हामी कसैले पनि जानुहुँदैन ।

काँग्रेसभित्र सहमतिमा नेतृत्व चयनको बहस पनि छ । वर्तमान सभापति शेरबहादुर देउवा पनि यसको गृहकार्यमा रहेको पाइन्छ । त्यो परिस्थिति देख्नुहुन्छ ?

फेरि तपाईंलाई भन्छु । आजको परिस्थितिमा महाधिवेशन गर्ने हाम्रो रहर हो । खाली कोरोनाका कारणले साथीहरुलाई केही हुन्छ कि भन्ने हामीलाई त्रासचाहिँ छ । महाधिवेशन गरौं, प्रतिस्पर्धा गरौं, परिणाम निकालौं र संगठन निर्माणको ऐतिहासिक कार्यभार गर्न हामी लागि परेका छौं ।

महाधिवेशनले पार्टीभित्र नयाँ रक्तसञ्चार हुन्छ, नयाँ उत्साह हुन्छ, नयाँ जोश पलाउँछ, नयाँ विचार निर्माण हुन्छ, नयाँ संगठन आउँछ र नयाँ कार्यदिशा खडा हुन्छ । पार्टीले नयाँ जीवन प्राप्त गर्छ । महाधिवेशन महत्वपूर्ण कुरा हो । यसमाथि भोलिको परिस्थितिले सर्वसम्मति पनि हुनसक्छ ।

परिस्थिति अनुसार भोलि सर्वसम्मति वा प्रतिस्पर्धा जे पनि सम्भव हुन्छ । त्यसैले अहिले मैले बोल्दै गर्दाको परिस्थितिमा महाधिवेशन गर्नुपर्नेछ । प्रतिस्पर्धा हुन्छ । भोलि परिस्थिति परिवर्तन भयो भने परिवर्तित परिस्थितिमा सोचौंला नि । किन मसँग एडभान्स कुरा लिन खोज्नुहुन्छ ?

संस्थापन र इत्तर पक्ष नै सर्वसम्मतिको खोजीमा देखिन्छन् । सभापतिको दाबेदारको नाताले अन्यको दाबीलाई पनि नियाल्नुभएकै होला । यसले सर्वसम्मत हुने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न भन्नेर जोड्न खोजेको ....

 त्यस्तो छलफल नै सुरु भएको छैन । छलफल सुरु भएपछि सोचौंला नि । सर्वसम्मत नेतृत्वको चयनको विचार गलत होइन । तर, दबाबमा हुनुभएन ।

पार्टीमा समस्या खडा हुँदा तपाईं समन्वयकारी भूमिकामा अगाडि आउनुहुन्छ । भोलि महाधिवेशन नहुने परिस्थितिमा तपाईंको भूमिका कस्तो रहन्छ ? केही सोच्नुभएको छ ?

काल्पनिक प्रश्नमा अनुमानित कुरा मैले किन गर्ने ? तर,प परिस्थितिले सोच्नुपर्ने स्थिति आयो भने त्यो सोच्न नसकिने विषय होइन । तर, अहिले त्यसमा कुनै चर्चा छैन ।

शेरबहादुर देउवाविरुद्धको उम्मेदवार चयनका सन्दर्भमा संस्थापन इत्तर पक्षका नेताहरु शुक्रबार भेला हुनुभएको थियो । रामचन्द्र पौडेल समूहको छलफलमा तपाईं पनि सहभागी हुनुभयो । त्यो छलफलको उद्देश्य र सन्देश के थियो ?

अर्जुननरसिंह केसीजीले संयोजन गरेर बैठक बोलाउनुभयो । हामी ९ जना साथीहरु थियौं । गएको १३ औं महाधिवेशनमा रामचन्द्रीको टिमबाट विभिन्न पद तथा सदस्यमा उठ्ने साथीहरु थिए । सभापतिमा सबैको दह्रो दाबी देखिएको छ । पहिला पनि उहाँहरुले यस्तो बैठकमा बोलाउँदा गएको छु । पहिले त्यस्तो दाबी हुँदैन थियो  ।

शुक्रबारको छलफलमा दाबी प्रस्तुत भयो । उहाँको टीमभित्रबाट एउटा उम्मेदवार भन्ने लक्ष्ण मैले त्यहाँ देखिनँ । भोलिको परिस्थिति त कसले आंकलन गर्न सक्छ र ? मैले आफ्नो कुरा पनि भन्दै आएको छु । मेरो आफ्नो छुट्टै दाबी छ । त्यो कुरा छलफलपछि अर्जुननरसिंह केसीले पनि प्रेसलाई भन्नुभएकै छ । छलफल त सबैसँग भइरहन्छ नि !  शेरबहादुरजीसँग मेरो भेटघाट भइरहेको छ । रामचन्द्रजीसँग भइरहेको छ । अरु नेताहरुसँग पनि भइरहेको छ । सबै नेता साथीहरुसँग लचिलो र गतिशील ढंगले कुराकानी गर्ने मेरो स्वभाव नै हो । मेरो कसैकाप्रति आग्रह पूर्वाग्रह छैन ।

देउवा पक्षमा ३ जना र पौडेल समूहमा ९ जनाको सभापतिमा दाबीपछि तपाईंले आफूलाई १४ औं महाधिवेशन सहज हुने आंकलन गर्नुभएको हो ?

होइन, त्यसरी गरेको छैन । धेरै टिम पनि त्यति स्वस्थकर हुँदैन कि जस्तो लाग्छ । त्यसको बाबजुद सभापतिमा उठ्ने हक साथीहरुलाई छ । जहाँसम्म मेरो बारेमा सोध्नुभयो, हाम्रो आफ्नो तयारी निरन्तर जारी छ ।

देउवा र पौडेल समूहबाट उछिट्टिएका नेताहरुलाई एकीकृत गरेर बलियो टिम बनाउँछु, सशक्त बन्छु र सभापति जित्छु भन्ने विश्लेषण त होला नि ?

मेरो कसैप्रति नकारात्मक सोच छैन । सकारात्मक रुपमा म आफूलाई प्रस्तुत गर्दै जान्छु । साथीहरुलाई जोड्दै जान्छु । विगतको महाधिवेशनमा शेरबहादुरको टीमबाट अर्जननरसिंह केसी महामन्त्री उठ्नुभएको थियो । विमलेन्द्रजीलाई उहाँले उपसभापति बनाउनुभएको थियो । उहाँ पनि अहिले सभापतिमा दाबी गरिराख्नुभएको छ । पछि कहासम्म पुग्नुहुन्छ थाहा छैन । तर, मसँग पनि कुरा गरिराख्नु भएको छ । रामचन्द्रजीको टीमबाट अरु साथीहरुले पनि सभापतिमा दाबी गरिराख्नुभएको छ ।

महाधिवेशनको क्षणसम्म पुग्दा कसरी समीकरणको विकास हुन्छ ? अहिले अड्कलबाजी गर्ने कुरा भएन कसैका बारेमा पनि । म कसैलाई पनि कमजोर ठानेर टिप्पणी गर्न चाहन्नँ । सबै साथीहरुमा केही न केही हैसियत छ । सबैमा केही न केही क्षमता छ । सबैको क्षमता समान नहुनु स्वभाविक हो । कसैमा कुन पक्ष बढी छ, कसैमा कुन पक्ष बढी छ । त्यो आ–आफ्नो खालको विशिष्ठता हो । त्यो विशिष्ठ पक्षलाई जोडेर पार्टी बलियो पार्ने हो पहिलो कुरा । मेरो उद्देश्य साथीहरुलाई जोड्ने नै रहन्छ ।

तपाईं अन्य नेताहरुलाई जोड्ने कुरा गरिराख्नुभएको छ । तपाईंकै टिमका नेताहरु बलियो टिमको खोजीमा देखिएको पाइन्छ । यसपटक हार्ने गरी सिटौला भन्दै बस्दैनौं भन्नुहुन्छ । यस्तो अवस्थामा आफ्नो टिमलाई कसरी अगाडि बढाएर लैजानुहुन्छ ?

त्यस्तो त कसैले भन्नुभएको छैन मलाई र अरुलाई पनि । हाम्रो लगातार वार्ता, संवाद र छलफल भइरहेको छ । आफूलाई विस्तारित र सशक्त गर्दै जाने हाम्रो निर्णय भएको छ । हामी त्यसैमा छौं । बाहिर प्रेसमा आएका कुराबाट हामी खल्बलिन्नौं ।

१४ औं महाधिवेशनमा कृष्ण सिटौला सभापति, गगन थापा प्रदीप पौडेल महामन्त्री, कोही सहमहामन्त्री गरी पूर्ण टिम बनाएर तपाईं अगाडि जाँदै हुनुहुन्छ भन्ने हो ? यति कुरामा प्रस्ट हुनुस् म महाधिवेशनमा प्रतिस्पर्धामा छु, मेरो टिम विस्तारित र पूर्ण हुनेछ । सदस्यसहित यो पटक पूर्ण टिम हुन्छ भन्ने कुरामा आशंका नगर्दा हुन्छ ।​

गगन थापा र प्रदीप पौडेल त हार्ने गरेर सिटौला टिमबाट लड्नि भन्नुहुन्छ नि त ? परिस्थिति हेरेर निर्णय लिइन्छ भन्नुहुन्छ । यस्तो अवस्थामा कसरी पूर्ण टिम बनाउनुहोला ? भएको टीम रहने नरहने टुंगो छैन....

 सबै रहन्छन् । मिडियाले पनि यसमा धेरै आशंका नगरे हुन्छ । यस्ता मनगढन्ते कुरा नखोतले कै जाति ।

वर्तमान सभापति शेरबहादुर देउवाको तयारी हेर्दा उहाँसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

उहाँले आफ्नो तयारी गर्नुहुन्छ । त्यो स्वाभाविक हो । त्यसभित्र मैले किन प्रवेश गर्नुपर्यो ?

 बाहिरबाट कसरी हेर्नुभएको छ ?

बाहिरबाट हेर्दा उहाँ भइरहेको सभापति हो । तयारी त राम्रै होला नि ।

सभापति जित्नका लागि १३ औं महाधिवेशनयता तपाईंको टिममा फेरबदल के आयो ? कति शक्ति सञ्चय गर्नुभयो ?

 सबै कुरा तपाईंलाई किन भन्नुपर्यो ? बाहिर छताछुल्ल किन पोख्नुपर्यो ? अघि भनें नि, सबै जिल्ला र क्षेत्रहरुमा साथीहरुले काम गरिराख्नुभएको छ ।

तपाईंले टिम पूर्णसहित चुनावी मैदानमा जान्छु भने पनि तपाईं पावर सेयरिङमा कुनै समूहमा गएर मिसिनुहुन्छ भन्ने धेरैको अनुमान छ ....

अनुमान गर्नेलाई अनुमान गर्नुदिनुस् न । अनुमान गर्ने पनि त अधिकार रहन्छ नि !

त्यो अनुमानमा कति प्रतिशत सत्यता छ ? कि सत्यता नै छैन ?

अनुमान गर्नेका लागि त्यो सत्य छ । मेरा लागि मेरै तयारी सत्य छ ।

तर, तपाईंको उम्मेदवार देखिने टिमसहित सशक्त रुपमा किन देखिरहेको छैन ?

तपाईले कसको सशक्त देख्नुभएको छ ? शेरबहादुरजीको उपसभापति आफैं सभापतिमा उठ्ने भनिराक्नुभएको छ । रामचन्द्रजीको पदाधिकारी र सदस्य आफैं दाबी गरिराख्नुभएको छ ।

१४ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको उम्मेदवारी किन र केका लागि ?

समय परिस्थितिअनुसार नेपाली काँग्रेस सबल हुनुपर्छ । आजको स्थितिमा रहेर पुग्दैन । नयाँ ढंगले विकसित हुनुपर्छ । देशको राजनीतिक परिस्थिति नयाँ बनेको छ । चुनौती नयाँ छन् । राष्ट्रसामु धेरै समस्या उत्पन्न भएका छन् । त्यसका लागि नयाँ दृष्टिकोण, नयाँ नीति, नयाँ कार्यक्रम नयाँ नेतृत्व चाहिन्छ । मेरो उम्मेदवारी त्यसका लागि हो । बाँकी कुरा म महाधिवेशनका बेला भनिहाल्छु नि !

एउटा काल्पनिक प्रश्न– कृष्णप्रसाद सिटौला काँग्रेस सभापति हुँदा चलाउने पार्टी कस्तो हुन्छ ? केही कल्पना गर्नुभएको छ ?

यो मुलुकलाई सही दिशा दिने आम नेपाली जनताले भरोसा गर्ने व्यवस्थित पार्टीका रुपमा विकसित हुन्छ ।

सभापतिका सबैजसो दाबेदारले युवा उपस्थितिलाई जोड दिएको देखिन्छ । तपाईले  युवा पुस्तालाई कसरी समेट्ने तयारी गर्नुभएको छ ?

स्वभाविकरुपले सबै समूहमा युवाहरुको पहुँच हुन्छ ।

सबैले युवालाई आफ्नो ब्याकअप शक्तिका रुपमा ब्याख्या गरेका सुनिन्छ । सिटौलाका ब्याकअप गगन र प्रदीप मात्र हुन् वा अरु पनि ?

अरु पनि छन् । थुप्रै छन् । टिम बनाउँदा साथीहरु आउनुहुन्छ । खुला र समावेशी सबै पक्षबाट पार्टीका सबै तहमा युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । नेपाली काँग्रेस नेतृत्वमा देशमा ठूलो परिवर्तन छ । प​रिवर्तित संविधान पनि हाम्रै नेतृत्वमा बनेको छ । परिवर्तित व्यवस्थाबाट देशलाई समृद्ध बनाउने नेतृत्व काँग्रेसले दिन सक्नुपर्छ । यसका लागि काँग्रेस पार्टीभित्र पनि आमुल परिवर्तन आवश्यक छ ।

सभापतिसँग भेटवार्ता भएको समाचार आएको छ । के–के कुराकानी गर्नुभयो ?

मुख्यतः क्रियाशील सदस्यताको छानविन छिट्टै टुंग्याउनैपर्छ भन्ने मेरो कुरा हो । साथै देशको राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेसले खेल्नुपर्ने भूमिका सन्दर्भमा पनि सामान्य चर्चा भएको छ । मेरो यस्तो भेटघाट देउवाजी, पौडेल सबै नेता साथीहरुसँग भइरहन्छ । यी निरन्तर भइराख्ने भेटघाटहरु प्रेससँग भनिराख्नुपर्ने विषयहरु होइनन् । यी पार्टीभित्रका आन्तरिक परम्पराहरु हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप