शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माधवले चोर औँला ठड्याउँदै नारदमुनिलाई भने–प्रतिगमनको मतियार राजीनामा दिएर बाहिर निस्कनुस् (भिडियो)

आइतबार, १० साउन २०७८, १६ : ५५
आइतबार, १० साउन २०७८

आइतबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । यो दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समितिको पहिलो बैठक थियो । बैठकमा त्यस्तो महत्त्वपूर्ण एजेन्डा पनि थिएन । यसअघि समितिले सरकारलाई दिएको निर्देशन कसरी कार्यान्वयन गराउने र अगामी बैठकका एजेन्डा तय गर्ने विषयमा केन्द्रित थियो । 

यो समितिमा पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सदस्य छन् । बैठक सुरु लगत्तै उनी बैठकमा सहभागी भएका थिए । छलफलका क्रममा काँग्रेस, माओवादी केन्द्र र नेपाल पक्ष एमालेकै सांसदहरूले नेता नेपालको भूमिकाबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको भन्दै प्रतिनिधि सभा र संसदीय समितिलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । 

माओवादी केन्द्रका सांसद सुदन किराँतीले प्रतिनिधि सभा पुनर्स्थापना गर्नका लागि आन्दोलित भएका सरोकारवाला पक्षका साथै सर्वोच्च अदालतको फैसलालाई धन्यवाद दिए । अघिल्लो सरकारले गरेका कामको समितिमा निन्दा गर्ने प्रस्ताव राखेका उनले समिति सदस्य रहेर मन्त्री भएकाहरूलाई समितिमा नराख्न पनि माग गरे । 

बैठकमा ओली सरकारमा सहभागी भएकी जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ पनि सहभागी भएकी थिइन् । बैठकमा आफ्नो सहभागितालाई लिएर विवाद आउने बुझेपछि लगतै उनी बैठकबाट बाहिरिन् । 

छलफलका क्रममा काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले पनि नेता नेपालको योगदानबाट प्रतिनिधि सभा बचेको भन्दै अहिलेको संसद् र सरकार १ सय ६५ जना सांसदको बहुमतबाट जीवित भएको बताए । 

बैठकमा एमालेका वरिष्ठ नेता नेपालले प्रतिनिधि सभा, संसदीय समिति सबै पुनःजिवित भएको भन्दै सबैलाई बधाई ज्ञापन गरेका थिए । उनले संसद् पुनर्स्थापना नभएको भए अहिलेको कोरोनाको महामारीमा गाउँगाउँमा कोरोना फैलाउँदै भोट माग्न जानुपर्ने र जनताले र आफैँले कोरोनाको चपेटा भोग्नुपर्ने अवस्था रोकिएको बताए । उनले संसदलाई अझै प्रभावकारी बनाएर लैजान नियमित रुपमा विभिन्न विषयमा बैठकहरू बोलाउन र सबै बैठकमा नियमित सहभागी हुन समिति सभापति र सांसदहरूलाई आग्रह गरे । 

माधव नेपालले बोलेपछि एमालेकै सांसद मोहन बानियाँले बोले ।  बैठकको आधा समय घर्किएपछि एमाले सांसद नारदमुनि राना बैठकमा पुगेका थिए । बैठकमा एमालेकै सांसद पुष्पा कुमारी कर्णले संसद् जोगाउनका लागि आफ्नो पार्टीका २२ सांसदका लागि बाध्यकारी अवस्था रहेको र संसद् जोगाउन सफल भएको बताइन् । उनले संसद् पुनः स्थापनाका कारण अहिले संसदमा उपस्थित हुने अवस्था आएको बताइन् । 

कर्णपछि बोल्ने पाएका एमालेका सांसद एवम् केपी ओली नेतृत्वको सरकारमा केही दिन वनमन्त्री रहेका सांसद नारदमुनि रानाले कर्णको भनाइप्रति आपत्ति जनाउँदै अहिलेको संसद् र सरकार सर्वोच्च अदालतको परमादेशले बनाएको बताए । जनमतले संसद् बचाउने भए किन वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेला नबचाएको भन्दै प्रश्न गरे । 

उनले संसद् र सरकार परमादेशबाट बनेको भन्दै जनमतको कुरा नगर्न चेतावनी दिएपछि एमाले वरिष्ठ नेता नेपाल आक्रोशित भए । उनले ‘तपाईँ प्रतिगमनको मतियार बन्ने’ भन्दै आक्रोश व्यक्त गरे । नेपालले नारदमुनिलाई प्रतिगमनको मतियार बन्ने भए सांसदबाट राजीनामा दिएर बैठक कक्षबाट बाहिर जान आग्रह गरे । उनले सांसद रानालाई चोर औँला देखाएर भने–‘तपाई प्रतिगमनको मतियार बन्ने ? प्रतिगमनको मतियार भएर बोल्न पाइँदैन । तपाईँ राजीनामा दिनुस्, निस्कनुस् ।’ 

समिति सभापति पवित्रा निरौला खरेलले सांसद रानालाई विषय प्रवेश गरेर बोल्न आग्रह गरिन् । तर सांसद राना, काँग्रेस, एमाले र माओवादी केन्द्रका सांसद रोकिएनन् । काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले बैठकको सुरुमै आफूले अघिल्लो सरकारमा सहभागी पूर्व मन्त्रीलाई समितिमा बस्ने व्यवस्था नभएकोले बैठकमा सहभागी नगराउन आग्रह गरेको कुरा मान्न अनुरोध गरे । प्रतिवाद गर्दै उनले अहिलेको सरकार १ सय ६५ जना जनप्रतिनिधिको जनमतबाट बनेकाले यो सरकार परमादेशबाट नभई जनमतबाट बनेको उल्लेख गरे । 

एमालेकै सांसद दीपक प्रकाश भट्टले आक्रोशित हुँदै सांसद रानालाई समितिमा बस्ने कुनै अधिकार नभएको भन्दै बाहिर जान आग्रह गरे । सांसदहरूको सो भनाइपछि सांसद रानाले आफूले विषय केन्द्रित हुँदै बोलेको दाबी गर्दै बैठकमा आउन मलाई किन खबर गरेको त भन्दै प्रश्न गरे । 

यता, सांसद भट्टले पार्टीको अन्तरविरोध संसदीय समितिमा किन ल्याएको भन्दै आक्रोश पोखे । सांसद सुदन किराँतीले अघिल्लो सरकारमा मन्त्री बनेको व्यक्ति सभामुखको निर्णय बिना फेरी समितिको सदस्य हुन नपाउने व्यवस्था रहेको भन्दै पूर्व मन्त्रीलाई बैठकमा सहभागी नगराउन सभापति निरौलालाई आग्रह गरे । काँग्रेस, माओवादी केन्द्र र एमाले नेपाल समूहका सांसदहरूले एकजुट भएर सांसद रानाको भनाइ प्रतिवाद गरेपछि उनले आफ्नो भनाई टुङ्ग्याएका थिए । 

सभापति खरेलले सबै सांसदलाई बैठकको मूल विषयवस्तुमा केन्द्रित हुन् र आगामी दिनमा यो विषयमा विवाद नगर्न आग्रह गर्दै लामो मन्तव्य दिन थालेपछि एमाले वरिष्ठ नेता नेपाल, सांसद नारदमुनि राना, सुदन किराँती लगायत बैठकबाट बाहिरिएका थिए । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप