बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा तेस्रो अध्यक्षको खोजी

सर्ला त तेस्रो पुस्तामा एमाले नेतृत्व ?
मङ्गलबार, १२ साउन २०७८, ११ : ५२
मङ्गलबार, १२ साउन २०७८


लामो समयदेखि कचल्टिँदै आएको नेकपा एमालेको अन्तरविरोधले नयाँ आकार लिएको छ । तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । आसन्न महाधिवेशनसम्म अन्तरिम कालका लागि केपी ओली र माधव नेपाल दुबैलाई अध्यक्ष बनाएर सम्झौता गर्ने गृहकार्य सुरु भएको छ । र, अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ ।  

अध्यक्ष ओलीले यसअघि नै आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने घोषणा गरिसकेका छन् । अब माधव नेपालले पनि आगामी महाधिवेशनबाट अध्यक्षको दाबी छोड्नुपर्ने ओली पक्षीय नेताहरूको माग छ । तर, वरिष्ठ नेता नेपालले आगामी महाधिवेशनबाट एक कार्यकालका लागि अध्यक्ष बन्ने चाहना राखेका छन् ।

माधव नेपाललाई मनाउन सकेको खण्डमा आगामी महाधिवेशनबाट एमालेमा तेस्रो व्यक्ति अध्यक्ष बन्ने सम्भावना बढेको छ । को होला त त्यो तेस्रो व्यक्ति ? एमालेभित्र अहिले यसबारे खोजी हुन थालेको छ ।

दोस्रो तहका नेताहरूको पहलमा पार्टीलाई एकताबद्ध बनाउँदै आगामी महाधिवेशनसम्म दुई अध्यक्ष र त्यसपछि ओली नेपालबाहेक तेस्रो व्यक्ति अध्यक्ष बनाउने गरी सहमतिको प्रयास सुरु भएको एमाले नेताहरूको भनाइ छ ।

विवाद मिलाउन एमालेका दोस्रोदेखि तेस्रो तहका नेताहरूले समेत अनेकन् प्रयास गरे पनि अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भनाभन भइरहेका कारण एकता प्रक्रिया अवरुद्ध हुँदै आएको अवस्था छ । एकता प्रक्रिया चलिरहेकै बेला ओली र नेपालले एक अर्कालाई विरोध गर्न छाडेका छैनन् ।

गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विभाजन गरेपछि २०७५ साल जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने प्रयास भइरहेको छ । जेठ २ मा फर्कन ओली र माधव दुवै पक्ष तयार भइसकेका छन् । तर, नेकपा हुँदै विपरीत ध्रुवमा विभाजित ओली र नेपालबीच जेठ २ को सीमारेखा नै के हुने भन्नेमा एकमत भइसकेको छैन । यसबारे १० बुँदेले गरेको व्याख्या अपर्याप्त रहेको माधव नेपालको दाबी छ । तर, यसको व्याख्या गर्दै अर्को सहमतिको मस्यौदा बनिरहेको एमाले नेताहरू बताउँछन् । 

एमाले विवाद मिलाउन गठित दुवैतर्फका नेता सम्मिलित १० सदस्यीय कार्यदलका नेताहरूले असार २७ गते १० बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उक्त प्रस्ताव अध्यक्ष ओली र नेता नेपाललाई बुझाइए पनि कार्यदलको प्रस्तावप्रति नेता नेपाल सकारात्मक हुन सकेका छैनन् ।

नेता नेपालले ओलीसँग प्याकेजमै डील गर्ने अडान नछोडेपछि ओली पक्षले आगामी महाधिवेशनसम्म दुई अध्यक्षको व्यवस्था गरेर अघि बढ्न सकिने प्रस्ताव अगाडि सारेको छ ।

अध्यक्ष ओलीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममै नेता नेपाललाई अर्को अध्यक्ष बनाउन तयार रहेको बताएका थिए । तर, कार्यदलको लिखतमा दुई अध्यक्षको विषय भने समावेश गरिएको छैन । प्रस्तावमा सो विषय समावेश नगरे पनि कार्यदलस्तरमा छलफल भएर निर्णय गर्न ओली र नेपाललाई छोड्ने मौखिक सहमति भएको नेताहरूको भनाइ छ ।

दुबैजनाको हस्ताक्षर चल्ने गरी विधान संशोधन गरेर दुई अध्यक्षात्मक प्रणालीमा जाने गरी गृहकार्य सुरु भइरहेको कार्यदलका नेताहरू बताउँछन् ।  नवौँ महाधिवेशनमा पराजित भएर पनि नेता नेपालले अध्यक्ष दाबी गर्न मिल्छ त ? भन्ने प्रश्नमा कार्यदलका ती सदस्य भन्छन्, ‘पार्टीको समस्या समाधान गर्न सम्झौता गर्नैपर्ने भयो, यो दुई अध्यक्षको व्यवस्था अन्तरिम मात्र हुनेछ । सकेसम्म चाँडै, आगामी मङ्सिर तिरै महाधिवेशन गरेर एक जना मात्र अध्यक्ष बनाउन सकिन्छ ।’    

तेस्रो अध्यक्षको खोजी

ओली र नेपालबाहेक तेस्रो अध्यक्षको खोजी गर्दा  हालका उपाध्यक्षमध्येबाट खोज्ने पहिलो विकल्प रहेको एमाले नेताहरू बताउँछन् । तर, यसो गर्दा  उमेरका हिसाबले एमाले नेतृत्व दोस्रो पुस्तामा सर्दैन ।

नवौँ राष्ट्रिय महाधिवेशनपछि एमालेमा रहेका ५ उपाध्यक्षहरुमध्ये विद्या भण्डारी राष्ट्रपतिको जिम्मेवारीमा छन् । वरिष्ठतालाई आधार मान्ने हो भने  भण्डारीबाहेक बाँकी चार जनामध्ये वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीमध्येबाट अध्यक्ष चयन गर्नुपर्ने हुन्छ ।

नेकपा एमालेमा अघिल्लै महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको विषय जोडतोडले उठेको थियो । त्यस बेला विधानमै ७० वर्ष कटेका नेताहरूले आगामी महाधिवेशनमा चुनाव लड्न नमिल्ने उल्लेख गरिएको थियो । वामदेव गौतम उमेरका कारण अध्यक्ष बन्ने स्थितिमा छैनन् । शाक्य ६८ वर्ष पुगेकी छिन् । यस्तो अवस्थामा उमेरका हिसाबले दोस्रो पुस्ताका नेताहरूले नेतृत्वका लागि कम्मर कस्नुपर्ने अवस्था एमालेभित्र छ ।

दोस्रो तहका नेताहरूमध्येबाट अध्यक्ष खोज्दा ओली पक्षबाट हाल महासचिव समेत रहेका ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल। पृथ्वी सुब्बा गुरुङमध्येबाट खोज्नुपर्ने हुन्छ । त्यस्तै माधव पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त र योगेश भट्टराईसम्म जानुपर्ने हुन्छ ।

आगामी महाधिवेशनअघि नै केपी ओली वा माधव नेपालबाहेक अष्टलक्ष्मी शाक्यलाई अन्तरिम अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा के हुन्छ ? रातोपाटीको प्रश्नमा एमालेका एक नेता भन्छन्, महाधिवेशनअघि ओलीले छाड्न नमानेका कारण दुई अध्यक्ष राख्नुपर्ने स्थिति आएको हो । तर, चाँडै महाधिवेशन गरेर एकल अध्यक्षमा जान सकिन्छ ।

त्यसो त एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारी ‘फ्याक्टर’ले पनि काम गर्ने नेताहरू बताउँछन् । पार्टीभित्र विद्यादेवीको पनि गुट छ । खास गरी शङ्कर पोखरेल, ईश्वर पोखरेल लगायतका नेताहरू राष्ट्रपतिसँग नजिक मानिन्छन् जसले गर्दा आगामी अध्यक्षमा उनीहरूलाई ओली र विद्या दुवैको साथ मिल्न सक्छ । तथापि ईश्वर पोखरेल केपी ओलीको रोजाइमा कम पर्न सक्छन् । त्यस्तै सुवास नेम्वाङ पनि ओली पक्षबाट अध्यक्षका बलिया दाबेदार हुन् ।  विष्णु पौडेल पनि अर्का त्यस्तै दाबेदार हुन् । एमाले नेताहरू जनजातिप्रति उदार हुने हो भने सुवास नेम्वाङपछि पृथ्वी सुब्बा गुरुङको पनि नाम आउन सक्छ ।

माधव नेपाल पक्षबाट अध्यक्षका दाबेदारहरूका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे अध्यक्षका दाबेदार देखिन्छन् । पहिलो पुस्तामै जाने हो भने अष्ट भुसाल र पाण्डे दुबैलाई झलनाथ खनालको समेत साथ रहने देखिन्छ । किनभने, उनीहरू आठौँ महाधिवेशनमा खनाललाई साथ दिने नेताहरू हुन् । यीमध्ये भुसालले माधव नेपालको समेत साथ पाउने सम्भावना छ । तर, नेता नेपाल आफैँ अध्यक्षमा लड्ने सोचाइमा छन् । पार्टीभित्र सम्झौता भयो र आफूले अध्यक्ष छाड्नुपर्ने अवस्था आयो भने नेपालले घनश्याम भुसाललाई समर्थन गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् । तर, माधव नेपाल पक्षबाट अध्यक्षमा दाबी गर्नेहरूले केपी ओली पक्षका नेताहरूको पनि विश्वास जित्नुपर्ने हुन्छ । र, राष्ट्रपतिको गुटको पनि साथ पाउनुपर्ने हुन्छ । उता, ओली पक्षबाट अध्यक्ष बन्ने हो भने उसले माधव नेपाल पक्षको पनि विश्वास जित्नुपर्ने चुनौती छ ।

यो अवस्थामा को होला त एमालेको सर्वस्वीकार्य अध्यक्ष ? महाधिवेशनको मिति तोक्ने तयारीसँगै पार्टीभित्र यसबारे ‘अन्डर करेन्ट’ बहस सुरु भएको नेताहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप