मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरिया पठाउने काम नरोक्न निर्देशन

बिहीबार, १४ साउन २०७८, १६ : २३
बिहीबार, १४ साउन २०७८

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

आजको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन समितिले निर्देशन दिएको हो ।
सभापति रामनारायण विडारीले पीडित युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफू समक्ष उजूरी दिएकाले सरकारी अधिकारीसँग छलफल गर्नुपरेको र यसबारे तत्काल तदारुकताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिए ।

दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई उडानका लागि  नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पनि पहल गर्नुपर्नेमा जोड दिए भने अर्का सदस्य डा. खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीबाटै पहल हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप