शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र र बाबुरामलाई देउवाले साेधे –  मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ ?

शनिबार, १६ साउन २०७८, २२ : २६
शनिबार, १६ साउन २०७८

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा सोही पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन् ।शनिबार दिउँसो जसपा संसदीय दलको नेतामा यादव चयन भएलगत्तै अध्यक्ष यादव र भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच करिब ४५ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा मन्त्रीपरिषद् विस्तार, सरकारको साझा कार्यक्रम, गठबन्धनको गतिविधिलगायतका विषयमा छलफल भएको बताइएको छ ।

अध्यक्ष यादवले आजको भेटमा सरकारको काम कारबाही, मन्त्रीपरिषद् विस्तार लगायतको विषयमा छलफल भएको बताउँदै यस विषयमा थप छलफल गर्न भोलि गठबन्धनको बैठक बोलाउने बारे कुराकानी भएको रातोपाटीलाई जानकारी दिए । 'जसपाबाट मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ त ?' भन्ने प्रधानमन्त्रीको जिज्ञासामा यादवले अहिले केही हतार नभएको र बिस्तारै छलफल गरेर टुङ्गो लगाउने जवाफ दिएको पनि बताए ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । त्यही भएर यादव र भट्टराईसँग सरकारमा जसपाको सहभागिता र मन्त्रालयका सन्दर्भमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । साथै उनीहरुबीच जसपाबाट मन्त्रीहरूको नामबारे सल्लाह भएको थियो ।

शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो । प्रधानमन्त्री देउवा ढिलोमा सोमबारभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने गरी तयारीमा लागेको उनको सचिवालयले जनाएको छ । त्यसका लागि गठबन्धनका नेताहरूसँग देउवाले छलफललाई तीव्रता दिएका छन् ।

​साथै काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीको संस्थापन इतर पक्षलाई पनि मन्त्रीको नाम दिन आग्रह गरिसकेको अवस्था छ । देउवाले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीको नाम पठाउन काँग्रेसको इतर पक्ष, माओवादी केन्द्र र जसपालाई ताकेता गरिरहेको बुझिएको छ । आजको छलफलमा देउवाले प्रचण्ड, यादव र भट्टराईलाई पनि सोही कुराको ताकेता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप