शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गहन बौद्धिक खुराक ‘नेपाल विद्या’

बिहीबार, २१ साउन २०७८, १७ : २८
बिहीबार, २१ साउन २०७८

–पूर्णप्रसाद अधिकारी

भावुक टिप्पणी नगरी खास आधिकारिक र सत्य–तथ्यमा आधारित अनुसन्धानमूलक सामग्रीहरूको ओज, अध्ययन र विश्लेषणबाट तयार भएको नेपाल विद्यालाई समग्रमा नेपाललाई संसारसमक्ष परिचय गराउने ‘नेपाली इन्साइक्लोपिडिया ग्रन्थ’ का रूपमा लिन सकिन्छ ।

नेपाली भाषालाई बेलायती अध्ययन परम्पराका आधारमा मात्र अध्ययनको अन्तिम सीमा निर्धारण गरेर बाटो बन्द गरी आफ्नै अध्ययन ठिक भन्ने मान्यता स्थापित गराउने विद्वान्हरूका लागि प्रियकर लाग्न नसक्ने भए पनि नेपाली भाषाको वैभव बढाउन नेपाल विद्याको विशेष योगदान छ ।

प्रयोग २ को महत्त्वपूर्ण खण्ड परिशिष्ट हो । फुहररको राजनीनामा पत्र, फुहररलाई लगाइएको अभियोग–पत्र, फुहररको विन्ती–पत्र, प्रतिबन्ध लगाएर बजारबाट फिर्ता गरिएको फुहररको प्रतिवेदन, दलाइलामाको हस्ताक्षरसहितको खानाको मिनु, अनुसन्धानकर्तासँग भएका इमेललगायतका सामग्री भावी अध्ययनका लागि पनि विशेष महत्त्वका छन् ।

परिचय

विसंं २०७७ मङ्सिरमा नेपाल विद्या नामको विशेष ग्रन्थ प्रकाशन भएको छ । यसका लेखक हुन्– केदार वाशिष्ठ भट्टराई । २०२६ सालमा भोजपुरमा जन्मेका र नेपाली विषयमा स्नातकोत्तर भट्टराई पेसाले पत्रकार हुन् । उनी गोरखापत्र दैनिकको कार्यरत हुनुका साथै अध्यापन र अनुवादमा पनि समर्पित छन् । उनका नेपाल विद्याका अतिरिक्त नेपाली भाषा, भाषामा प्रविधि, साहित्य, संस्कृति, इतिहास, पत्रकारितालगायतका विविध विषयमा अनुसन्धानात्मक लेख, रचना र अनुवादित गरी विविधतामय सामग्री प्रकाशित छन् ।

विद्यार्थी पुस्तक भण्डार प्रकाशक र वितरक रहेको नेपाल विद्या नेपालबारे लेखिएको हालसम्मकै आधिकारिक दस्तावेज हो । लेखकको कृतज्ञतायुक्त भूमिकामा पुस्तक लेखन र अनुसन्धान गर्दाका कठिनाइ, परिश्रम, शुभचिन्तकहरूको साथ र सहयोगको चर्चा छ । “पूर्वदीप्ति” शीर्षकको पूर्वपीठिकामा हालको नेपालको भूभाग बन्नुअघिको भौगोलिक र जैविक तथ्य केलाइएको छ । एक करोड पचास लाख वर्षपूर्व प्राप्त आदिमानवको जीवाश्म ‘राम नरवानर’ को अवशेषले मानव सभ्यताको खोजी यता गर्नुपर्ने सङ्केत गर्दै उद्गमस्थलको आधिकारिकताको दृष्टान्त छ । यसभित्र नेपालको भूगर्भ, बर्मादेखि अफगानिस्तानसम्मको दुई सय चालिस किमि हिमालय पर्वत शृङ्खला, भारतीय र युरोसियसिक भौगर्भिक प्लेट, तिब्बती प्लेटको निर्माण, नेपालका पर्वतीय ताल रारा, तिलिचो र फोक्सुण्डो तालको निर्माण, नेपाल ठूला हिमनदी कोसी, गण्डकी र कर्णालीको निर्माणको चर्चा छ तर महाभारत र चुरे पर्वत शृङ्खलाको चर्चा छैन ।

नेपाली मानव सभ्यताको बीजारोपणमा सात करोड वर्षभन्दा अघिको अर्धवानर युगसम्मको सङ्केत यसमा गरिएको छ । पुस्तकअनुसार संसारभरकै सभ्यताहरूको सेरोफेरोमा नेपाली समाज, सभ्यता, संस्कृति र सम्पदामा कमी छैन । बरु नेपाली र नेपालभित्रको मानवशास्त्रीय र सांस्कृतिक सौन्दर्यशास्त्रीय चिन्तनको व्याख्या, विश्लेषण र विस्तार हुन नसकेका कारण नेपाल र नेपाली पछाडि परेका हुन् भन्ने लेखकको निष्कर्ष छ ।

पुस्तक डिमाई साइजको नभएर जर्नल आकारमा छ । स्तरीय कागज, शुद्ध छपाइ, आकर्षक आवरणमा लुम्बिनीको अशोकस्तम्भ, उक्त स्तम्भमा उत्कीर्ण ब्राह्मी लिपिको अभिलेख र प्राचीन देवनागिरी लिपिको वर्णमाला छ । नेपाल विद्याको सिद्धान्त खण्डमा छवटा अध्याय छन् । प्रयोगअन्तर्गत १ मा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खननमा अठारवटा उपअध्याय, आठ परिशिष्ट छन् । त्यस्तै प्रयोग २ सिला खोजेको भाषामा एघारवटा उपअध्याय र तेह्रवटा तालिका छन् ।

सम्पूर्ण पुस्तकमा उपशीर्षकहरूको सङ्ख्या भने तीन सय नौ छ । सम्पूर्ण ग्रन्थसूची, मूलशीर्षक, उपशीर्षक, उपअध्याय गरेर सबैलाई जोड्ने हो भने ती सबैको सङ्ख्या तीन सय अठसठ्ठी छ । यो पुस्तक तयार गर्दा पचासी नेपाली, संस्कृत र हिन्दी भाषाका पुस्तक र पत्रपत्रिकाको सहयोग लिइएको छ भने अङ्ग्रेजी भाषाका पुस्तक, जर्नल र पत्रिकाहरूको सङ्ख्या चौरासी रहेको छ । यो पुस्तक तयार गर्नका लागि वेबसाइट र गुगल सामग्रीको सङ्ख्या भने छब्बिस रहेको छ । पुस्तकभित्रका खण्ड र अध्यायभित्रका सामग्रीलाई पुष्टि गर्न एक सय बयानब्बेवटा त सन्दर्भसामग्री भेटिन्छन् । तीमार्फत विद्वान् लेखकले कुनै भावुक टिप्पणी नगरी खास आधिकारिक र सत्य–तथ्यमा आधारित अनुसन्धानमूलक सामग्रीहरूको ओज, अध्ययन र विश्लेषण गरेका छन् । समग्रमा नेपाललाई संसारसमक्ष परिचय गराउने ‘नेपाली इन्साइक्लोपिडिया ग्रन्थ’ का रूपमा यसलाई लिन सकिन्छ ।

नेपाल विद्याको सिद्धान्त

अध्यायगत समीक्षा गर्दा अध्याय एकमा ‘विद्या’ र ‘ओलोजी’ भित्र ‘विद्या’ शब्दको सार्वकालिक र शाश्वत अर्थ प्रवाहित गर्ने भर्तृहरिको नीतिपरक श्लोकको उद्धरण छ । पाद टिप्पणीमा त्यसको सविस्तार व्याख्या छ । सान्दर्भिक भएका कारण मूलश्लोक र भावार्थ यसप्रकार छः

विद्या नाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्

विद्या भोगकरी यशः सुखकरी विद्या गुरुणां गुरुः ।

विद्या बन्धुजनो विदेशगमने विद्या परं दैवतम्

विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ।।

भावार्थ ः विद्या नै मनुष्यको सर्वोत्तम रूप तथा गुप्त धन हो । विद्याले नै भोग्य पदार्थहरू उपलब्ध गराउँछ, यश तथा सुख दिने र गुरुको पनि गुरु विद्या नै हो । विदेश यात्रामा विद्या नै बन्धु–बान्धवजस्तो सुख–दुःखमा साथी हुन्छ र भाग्य पनि यही नै हो । राजाबाट पनि विद्याकै पूजा हुने गर्दछ, धनको होइन । त्यसैले विद्या नभएको मान्छे पशुतुल्य हुन्छ (भर्तृहरि नीतिशतक) । यसरी विषय प्रवेश गर्दै भित्र ‘विद्या’ शब्दको बहुआयामिक विशेषतामाथि प्रकाश पारिएको छ ।

विद्या शब्दको व्युत्पादन र अर्थ केलाउँदै संस्कृत, हिन्दी, चिनियाँ र नेपाली भाषामा त्यसको सान्दर्भिकता खोजिएको छ । पराविद्या र अपराविद्या, विद्या र अविद्या, विद्या र अध्ययन, अङ्ग्रेजीमा विद्याजस्ता उपशीर्षकहरूमा विस्तार व्याख्या गर्दै विद्याको बहुआयामिक सन्दर्भ केलाउनाले पुस्तकको सुरुमा गहन अध्ययनको दृश्य देखिन्छ ।

छब्बिसवटा उपशीर्षक रहेको अध्याय दुई अलबर्ट आन्सटाइनको उक्तिबाट उठान भएको छ । यसमा पूर्व र पाश्चात्य विद्या परम्पराको सन्दर्भ केलाउन प्राच्यविद्या र ओरियाटालिज्म, नेपाल विद्याको औचित्य पुष्टि गर्न भारत विद्या, चीन विद्या, आर्मेनियाली विद्या र इजिप्टविद्या, विकासका लागि जापान विद्याको सम्बन्ध केलाइएको छ । नेपाल विद्याको अन्य विद्यागत सम्बन्ध देखाउन बुद्धविद्या र किरात विद्याको उदाहरण प्रस्तुत गरी विद्यापरक ज्ञान वा शास्त्रको गहन ढङ्गबाट व्याख्या र विवेचनाबाट यसको समापन भएको छ ।

अध्याय तीन सेन्ट अगस्टाइनको उद्धरणयुक्त छ । यसमा नेपाल विद्याको प्रयोजन केलाउन देशगत विद्यामा अन्तर विषयक सम्बन्ध स्थापना गरिएको छ । जसअनुसार नेपाल विद्याको प्रयोजन भाषिक; मानव वा नृवंश; मनोविश्लेषण; सामाजिक; ऐतिहासिक; भौगोलिक; सांस्कृतिक; आर्थिक; व्यापारिक र सामरिक अध्ययनमा नयाँ खोजको विषय बन्नसक्ने पाठगत निष्कर्ष छ । बीसवटा उपशीर्षकहरू हरेकको थप स्पष्टीकरणसाथ १ देखि तीनवटासम्मका थप उदाहरणीय अनुच्छेदहरूमा गरिएको व्यापक विश्लेषण यसको मुख्य आकर्षण हो ।

अध्याय चारमा चौबीसवटा उपशीर्षकमा देशीय विद्याको सैद्धान्तिक आधार स्थापना गरिएको अध्याय चार अस्कर वाइल्डको उक्ति आरम्भमा छ । मानवको यायावरीय विशेषतामा आधारमा यात्रासिद्धान्तको खोजी गर्दै यात्रा वृत्तान्तका आधारमा देशगत अध्ययनको सैद्धान्तिक पक्ष यसमा केलाइएको छ । त्यसक्रममा अध्ययन सिद्धान्तहरूलाई साहसिक यात्राको दृष्टिबाट अध्ययन सिद्धान्त, ज्ञानको सिद्धान्त, सूचना तथा सञ्चार सिद्धान्त, निकटताको सिद्धान्त, मनोरञ्जनको सिद्धान्त, सामाजिक प्रभुत्वको सिद्धान्तका रूपमा परिचर्चा गर्दै औपनिवेशीकरण, नवऔपनिवेशीकरण तथा भाषिक औपनिवेशीकरण पनि यसमा आउन सक्ने विवेचना गरिएको छ ।

अध्याय पाँचमा नेपाल विद्याको स्पष्ट रूप निर्धारण गर्ने अध्याय हो । राष्ट्रकवि माधव घिमिरेको बहुचर्चित कविताको पङ्क्ति “बिम्झौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” भन्ने काव्यपङ्क्तिबाट उठान भएको यस अध्यायमा पूर्णरूपमा नेपालकै विशिष्टतायुक्त सत्रवटा उपशीर्षकहरू छन् । जसमा नेपाल विद्याको परिभाषा, नेपाल विद्याको अध्ययन परम्परा, विदेश खासगरी रुसमा नेपाल विद्याको चर्चा गरिएको छ । अध्ययनका आधारमा नेपाल विद्याको निकटता नेपाल अध्ययनसँग खोज्दै नेपालमा नेपाल विद्या खोजी, विधागत सङ्केत, पत्रपत्रिकाहरूको योगदान र विदेशी अध्ययनमा भएका प्रयासहरू शास्त्रीय र वैदेशिक प्रामाणिक अध्ययन परम्पराको सत्य–तथ्यमा आधारित रहेको देखाइएको छ ।

अध्याय छमा नेपाल विद्याको सैद्धान्तिक आधार स्पष्ट गर्दै सारसङ्क्षेप र निष्कर्षयुक्त छ । सिद्धान्त खण्डका छवटा अध्यायसम्मको सामग्री विवेचनाका निमित्त नेपाली, संस्कृत, हिन्दीका पुस्तक तथा पत्रपत्रिकाहरूको सङ्ख्या सन्ताउन्न छ भने बुक, जर्नल र कार्यपत्र गरी सबैको सङ्ख्या छपन्न छ । त्यसैगरी सन्दर्भकै रूपमा वेबसाइट र इन्टरनेटको प्रयोग सामग्री सङ्ख्या एकासी छ । यसरी यो खण्ड तयार गर्नुमा लेखकले एक सय चौरानब्बेवटा अध्ययन सामग्रीको उपयोग गरेका छन् ।

यसरी नयाँ विधाका रूपमा स्थापना गरेको नेपाल विद्याको सिद्धान्तलाई नेपाल विद्या विधा निर्माता वाशिष्ठ आफैले दुईवटा प्रयोगमार्फत् स्पष्ट गरेका छन् । त्यसो गर्दा उनले नेपाल विद्या अध्ययनको केन्द्र राष्ट्रियता हुनुपर्ने र खोजी अन्तरविषयक तथा बहुविषयक हुनुपर्ने उल्लेख गरेका छन् ।

लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन

सत्रवटा मूल शीर्षकमा विभाजन गरिएको यस प्रयोग खण्डले बुद्ध, लुम्बिनी र कपिलवस्तुलगायत बौद्धस्थलहरूका सम्बन्धमा किन बारम्बार विवाद आइरहन्छ भन्ने स्पष्ट गरेको छ । लुम्बिनी नेपालमा पर्ने प्रमाणका रूपमा रहेको अशोकस्तम्भको खोजीदेखि सन् १८९६ डिसेम्बर १ मा खड्ग शमशेर र एलोइस एन्टोन फुहररले पुनः पत्ता लगाएपछि हालसम्म नै भारत, बेलायत, एसिया र दक्षिण एसियाका अन्य देशहरूमा पनि हुने गरेको बुद्ध रानजीति र बुद्ध व्यापार देखाउनु यस प्रयोगको उद्देश्य रहेको छ ।

त्यसको उठान बुद्ध र लुम्बिनीबारेको जानकारीबाट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक विवादास्पद अभिव्यक्ति दिनुको कारण केलाइएको छ । त्यसै अनुरूप हालको भारतको पूर्ववर्ती बेलायती औपनिवेशिक सरकार तथा तिनका विभिन्न व्यक्तिबाट भएका नियोजित अध्ययन अनुसन्धानका आधारमा भएका र हुँदै आएका राजनीतिक षडयन्त्रको चिरफार गरिएको छ ।

बेलायती औपनिवेशिक भारत र स्वतन्त्र भारतका पनि विभिन्न व्यक्ति र सरकारमा रहेमा मानिसहरूको फरक विचारले लुम्बिनी र कपिलवस्तु तथा बुद्धबारेको अध्ययन जेलिएको प्रमाण उनीहरूकै भनाइ र गराइबाट खुस्काउने काम यस प्रयोगमा छ ।

लुम्बिनीको खोजीमा भएको अस्वस्थ्य प्रतिस्पर्धाको चरम रूप अशोक स्तम्भ पत्ता लागिसकेपछिको फुहररको प्रतिवेदनका सबैप्रति फिर्ता लिइनु, फुहररलाई कारबाही गरिनु र अन्ततः जागिरबाटै बर्खास्त गरिनु त्यसका ज्वलन्त उदाहरण रहेको पुस्तकमा देखाइएको छ ।

नेपालको कपिलवस्तुलाई मान्यता नदिने अभिप्रायले भारतको पिप्रहवामा एक जना बेलायती विलियम पेप्पेको मौजामा रहेको स्तुपलाई प्रस्तुत गरी अहिले पनि त्यसैका नाममा गहनाको व्यापार भइरहेका तथ्य यस प्रयोगमा प्रस्तुत गरिएको छ । त्यहीँबाट पाइएका केही पुरातात्त्विक वस्तुको दक्षिण एसियाली र अरू पनि बौद्ध धर्मावलम्बी मुलुकमा राजनीति गर्ने गरी बाँडफाँट भएको तथ्यले नेपाललाई ओझेलमा पारी भारतको सर्वेसर्वा देखाउने काम विगतमा भएको कुरा स्पष्ट पारेको छ ।

यस प्रयोगको महत्त्वपूर्ण खण्ड परिशिष्ट हो । त्यसअन्तर्गत फुहररको राजनीनामा पत्र, फुहररलाई लगाइएको अभियोग–पत्र, फुहररको विन्ती–पत्र, प्रतिबन्ध लगाएर बजारबाट फिर्ता गरिएको फुहररको प्रतिवेदन, दलाइलामाको हस्ताक्षरसहितको खानाको मिनु, अनुसन्धानकर्तासँग भएका केही इमेलहरू, फुहररले बर्माका भिक्षुलाई लेखेको पत्र, फुहररको व्यक्तिगत विवरणका सामग्री भावी अध्ययनका लागि पनि महत्त्वपूर्ण छन् ।

सिला खोजेको भाषा

नेपाल विद्याको दोस्रो प्रयोग खण्ड नेपाल, नेपाली भाषा, नेपाली भाषाको नामकरण लगायत नेपालका अरू पनि भाषाको इतिवृत्त हो । विषय हेर्दा नयाँ जस्तो नलागे पनि स्रोत र अध्ययनको ढाँचाका आधारमा यो नितान्त फरक प्रयोग हो । त्यसका लागि दुर्लभ बहुस्रोत केलाइएको छ । तिनमा संस्कृत, ल्याटिन, ग्रिसेली, आर्मेनियाली, अरबी फारसी, अङ्ग्रेजी, हिन्दी, नेवारी र अरू पनि भाषाका सामग्री केलाइएको छ । ११ वटा अध्यायमा समेटिएको यस प्रायोगिक अध्ययन भाषा विकासको सैद्धान्तिक पक्षको सामान्य जानकारीबाट थालिएको छ ।

भाषाको विकास अध्ययनका लागि आवश्यक स्रोतहरू केलाउँदै तिनमा श्रुति, स्मृति, पुराण, इतिहास, अद्र्धऐतिहासिक ग्रन्थ, अभिले, वंशावली, ठ्यासफु, लिखित तथा छपाइका सामग्री, व्याकरण महत्त्वका हुने देखाइएको छ । भाषिक अध्ययनको महत्त्व स्थाननाममा रहेको र त्यसैबाट अरू सामाजिक अध्ययनका तन्तु खोलिने तथ्य स्थाननामको खोजीअन्तर्गत प्रस्तुत छ । स्थाननामको संरक्षण र संवद्र्धन नहुँदा भाषा लगायत सामाजिक अध्ययनको बाटो बन्द हुने भएकाले स्थाननाम परिवर्तन गर्न नहुनेप्रति सचेत गराइएको छ ।

स्थाननामकै आधारमा भाषिक अध्ययन गर्नेक्रममा नेपालको खोजी यस प्रयोगमा छ । त्यसका नेपाल नामकरणका जातीय मान्यताहरू केलाउँदै तिनमा अन्य स्रोतहरूबाट पुष्टि गरिएको छ । त्यसका लागि हालसम्म अप्राप्य शिलालेख, ताम्रपत्रहरू र अन्य दस्ताबेजको सहारा लिइएको छ ।

किरातकालदेखिका शब्दको अध्ययन गर्दै त्यसपछि हुनथालेका नेपालका शासकीय परिवर्तनसँगका भाषिक मिश्रणको प्रवाहमा नेपाली भाषाको परीक्षण यस प्रयोगमा गरिएको छ । त्यसो गर्दा बौद्ध, नेवारी परम्परामा, चिनियाँ वृत्तान्तमा नेपाल, विविध स्रोतमा नेपाल र नेपाली भाषाको खोजी गरिएको छ । यी सम्पूर्ण सामग्रीहरूले नेपालको प्राचीनतालाई अद्वितीय रूपमा परिचित गराएको प्रतीत हुन्छ ।

संस्कृतबाट विकास भएको नेपाली भाषाको पनि संस्कृतको कुन कालदेखि स्वरूप देखिन थालेको भन्ने यस प्रयोगमा खुट्याइएको छ । त्यसमा कालिदासको कालदेखि नेपाली भाषाका क्रिया देखिन थालेको उनको महाकाव्य रघुवंशको श्लोकबाट पुष्टि गरिएको छ । त्यससँगै नेपाली भाषाको पूर्वरूप केलाएर पश्चिमी भाषाको मिश्रणको अवस्था उल्लेख छ । मल्लकालमा नेपाली भाषाको वर्तमान स्वरूप निर्धारण भइसकेको अभिलेखहरूका भाषाबाट देखाइएको छ ।

पाश्चात्य स्रोतअनुसार ग्रिसेली अध्ययनलाई नेपालको किराँतकालको अध्ययन गर्ने गरी खोजिएको छ । त्यसै क्रममा लिच्छविको नेपाल प्रवेशको उल्लेख छ । नेपालको भूगोल काठमाडौँ उपत्यका मात्र हो कि बाहिरको विशाल भूभाग हो भन्ने तथ्य केलाउन अरबी सामग्रीमा नेपाल बारे भएको वर्णन यस खोजीको अर्को मुख्य विशषता हो । हुदुद् अल आलम नामक ग्रन्थमा वर्णित नितल अर्थात् नेपाल अहिलेको नेपाल जस्तै विस्तरित रहेको त्यस ऐतिहासिक अध्ययनले पुष्टि गर्दछ ।

सन् १६८२ देखि १६९३ सम्म एक जना आर्मेनियाली व्यापारीले भारत, नेपाल र तिब्बतको त्रिदेशीय व्यापार गर्दाको बहिखातामा उल्लेख भएको विवरणले नेपाली भाषाका अनौपचारिक शब्द सङ्कलन गरेको र व्यापारिक तथा नेपालको सीमा विस्तारित रहेको देखाउने गरी हालको भारतको गाजिपुुर भन्ने स्थानमा नेपालको भन्सार रहेको तथ्य उजागर भएको छ ।

नेपाली भाषाको युरोप यात्राको विशेष सामग्री नेपाल र नेपाली भाषाप्रति नेपाल विद्याको उत्कृष्ट उपहार हो । बेलायती अध्ययन परम्पराअनुसार गरिएका अध्ययनहरूभन्दा धेरै अघि गएर यसले सन् १७१७ मा नै ल्याटिन परम्परामा नेपाली भाषाकै नामबाट अध्ययन भएको नवीनतम तथ्य स्थापना हुनु नेपाली भाषाको नामकरण र अध्ययन परम्परामा ठूलो उपलब्धि हो ।

त्यसका साथै अगस्तियानो जियोर्जीले लेखेर सन् १७५९ मा रोमबाट प्रकाशित अल्फाबेटम तिबेतामनमा नेपाली भाषा देवनागरी लिपिमा नै छपाइको युगमा प्रवेश गरेको तथ्य अर्को महत्त्वपूर्ण उपलब्धि हो । तिब्बत जाने केपुचिन मिसनमा नेपाल आएका कास्सिआन्नो बेलिगात्तीले लेखेको र सन् १७७१ मा नै रोमबाट प्रकाशित अल्फाबेटम ब्रह्मानिकम नेपाली भाषाको व्याकरण परम्पराको हालसम्म प्राप्त पहिलो कृति रहेको तथ्य नेपाली भाषा त्यसबेला नै समुन्नत रहेको देखाउने प्रमाण हो । यी नयाँ तथ्यले सन् १८२१ मा जेए एटनको व्याकरण नेपाली भाषाको पहिलो व्याकरण रहेको भन्ने मतको सप्रमाण खण्डन गर्दछ ।

त्यही मिसनका पादरीहरूले नेवारी भाषाको शब्दकोश तयार पारेको थप जानकारी, मकवानपुरमा नेपाली भाषाकै बेग्लै रूप रहेको तथ्य प्रस्तुति, नेपाली भाषाको लेख्य परम्परा सुरु हुँदादेखिकै लेख्य चिह्नहरूको अध्ययन र तिनको रोमका नमुनासँगको तुलनाले लेख्य नेपाली भाषाको तुलनात्मक ऐतिहासिक सन्दर्भमा कोसेढुङ्गा स्थापना गर्छ ।

निष्कर्ष

समग्रमा भन्नुपर्दा नेपाल विद्यालाई नेपाली अध्ययन परम्परामा एउटा नौलो विधाका रूपमा स्थापना गरेको छ नेपाल विद्या सिद्धान्त र त्यसको प्रयोगले । पहिलो प्रयोग रहेको लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खननले लुम्बिनी र बुद्धका सम्बन्धमा दुख्ने नेपालको राष्ट्रियताको समस्या पहिचान गरेको छ र निराकरणका लागि दरो हुन आफ्नै विद्या परम्पराको जग चाहिने कुरा उजागर गरेको छ । सिलाखोजेको भाषाले नेपाल र नेपाली भाषाको सम्पूर्ण नालीबेली प्रस्तुत गरेको छ नै यसले हालसम्म नेपाली भाषाको एकलकाँटे अध्ययन परम्पराका दस्तावेजमा पूर्ण संशोधनको आवश्यकता औँल्याएको छ । पक्कै पनि यो कार्य नेपाली भाषालाई बेलायती अध्ययन परम्पराका आधारमा मात्र अध्ययनको अन्तिम सीमा निर्धारण गरेर बाटो बन्द गरी आफ्नै अध्ययन ठिक भन्ने मान्यता स्थापित गराउने विद्वान्हरूका लागि प्रियकर लाग्न नसक्ने भए पनि नेपाली भाषाको वैभव बढाउन नेपाल विद्याको विशेष योगदान छ ।

प्रस्तुत ग्रन्थ गहन र बौद्धिक पाठकका लागि हो । सर्वसाधारणका लागि होइन, विद्वान्, बुद्धिजीवी र अनुसन्धाताहरूका लागि भने विशिष्ट खुराक बनेको छ । सम्मान, श्रम र समयको उपयोगबाट यस्तो पुस्तकलेखन असम्भवप्रायः छ । नेपालबारेको यस किसिमको भाषिक सामग्री हालसम्म दुर्लभप्रायः छ । एउटै पुस्तकमा यतिविधि सत्य–तथ्यका सागम्री तयार गर्ने केदार वाशिष्ठ केदारतीर्थ जत्तिकै पवित्र छन् । लेखक, प्रकाशक, नेपाली पाठक, समाज, बुद्धिजीवी सबैले गर्व गर्नु आवश्यक छ । लेखकको लेखनी अझ उन्नतशील बन्न सकोस् हार्दिक शुभकामना छ ।

लेखक वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनका सह–प्राध्यापक हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप