शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल पक्षमा गएकालाई मूलधारमा फर्कन एमालेको आह्वान

मङ्गलबार, ०८ भदौ २०७८, १९ : ४७
मङ्गलबार, ०८ भदौ २०७८

नेकपा एमालेले पार्टीबाट अलग भएर फरक पार्टी गठनमा लागेको समूहलाई मूल धारमा फर्कन आव्हान गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा विगतका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकतामा आउन आह्वान गरेको हो । 

‘तसर्थ एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका कमरेडहरूलाई हामी आग्रह गर्छौँ– मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूलधारमा फर्किनुहोस्’, एमालेले भनेको छ । 

त्यस्तै विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरुलाई पार्टीमा हार्दिक स्वागत गरिने पनि एमालेले जनाएको छ ।

एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूको पार्टीलाई आयोगले बुधबार सनाखत गरेपछि मान्यता दिँदैछ । यसैलाई मध्यनजर गर्दै सो पार्टीले यसअघि एमालेमा भएको विवाद र अन्तरविरोधलाई जीवन्त र लोकतान्त्रिक पार्टीमा समस्याहरू उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै भनेको छ । 

एमालेले भनेको छ,–पार्टीका सम्पूर्ण नेता, सदस्य कार्यकर्ता र शुभेच्छुकहरू एवं जनसमुदायलाई पार्टी एकता र अग्रगतिका निम्ति आआफ्नो स्थानबाट अधिकतम योगदान गर्न हार्दिक आव्हान गर्दछौ । असहमति प्रकट गर्दा मर्यादित र राजनीतिक भाषा प्रयोग गर्न गर्दछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप