शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ २ को मुद्दामा एमालेभित्र फेरि खटपट : तेस्रो धारलाई थाहै नदिई पीपीएलएको भेला

ओली अतिथि बन्ने कार्यक्रममा नजान पीपीएलए अध्यक्षको आह्वान
बिहीबार, १७ भदौ २०७८, २२ : २७
बिहीबार, १७ भदौ २०७८

नेकपा एमालेले जेठ २ मा फर्कने निर्णय गरेको एकसाता नबित्दै सो पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल छोडेर ओलीतिर लागेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुबीच ‘खटपट’ सुरु भएको छ । गत भदौ ९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओली एकलौटी अघि बढ्न खोजेपछि एमालेमा विवाद र खटपट सुरु भएको हो ।

यसको उदाहरणका रुपमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) लाई लिन सकिन्छ । पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाल हुन् । तर, अध्यक्ष नेपाललाई थाहा नै नदिई अध्यक्ष ओली पक्षले भदौ १८ गते पीपीएलएको नाममा केन्द्रीय समितिको भेला बोलाएको छ ।

तुल्सीलाल प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रुपमा अध्यक्ष ओली सहभागी भएर सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ । तर, ओली पक्षले यसरी भेला बोलाएपछि पीपीएलएका अध्यक्ष नेपालले उक्त भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलका सदस्यहरुलाई सहभागी नहुन सूचना नै जारी गरेका छन् ।

‘सामाजिक सञ्जालमा भोलि अर्थात भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले उक्त भेलाबारे पीपीएलएलाई संस्थागत रुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ’, अध्यक्ष नेपालले बिहीबार एक अपिल जारी गर्दै भनेका छन्, ‘पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु ।’

उता पीपीएलएका अध्यक्ष नेपालले भेलाबारे जानकारी नै छैन भनिरहँदा संगठनकै नामबाट भेलाको निम्तो गरिएको छ । संगठनको आधिकारिक फेसबुकमा भनिएको छ, ‘यस संगठनको सचिवालयको बैठक तथा केन्द्रीय समितिको भर्चुअल बैठकमा छलफल भई भाद्र १८ गते २ बजे पुनर्जागरण भेला राखिएको हुँदा भोलिको भेला यथावतरुपमा सञ्चालन हुने व्यहोरा सबैमा अनुरोध गर्दै भोलि शुक्रबार २ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा हुने भेलामा सहभागी भै दिनुहुन विनम्र अनुरोध गर्दछौं ।

भदौ १० मा बसेको एमाले केन्द्रीय समिति बैठकले कार्यदलको १० बुँदे प्रस्तावका आधारमा पार्टीका सवै संरचना जेठ २ अघिको अवस्थामा फर्काएर पार्टी संरचना क्रियाशील गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने क्रममा कुनै विवाद भएमा त्यसको समाधान गर्न कार्यदलसमेत गठन भैसकेको छ ।

एमालेले सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ । तर, उनीहरुलाई समेत थाहा नै नदिई ओली पक्षले भेला राखेको स्रोतको भनाइ छ ।

कार्यदलका सदस्यसमेत रहेका सचिव गोकर्ण विष्टले पीपीएलएको शुक्रबार राखिएको भेलाबारे आफूले सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको बताए । ‘अलिअलि सुनेको छु, तर वास्तविकता के हो भन्ने म बुझ्छु’, सचिव विष्टले रातोपाटीसँग भने ।

यता पीपीएलका  इञ्चार्ज रघुपन्तलाई समेत भेलाबारे कुनै जानकारी नभएको बताइएको छ । पन्तले एकतर्फी भेला रोक्न आग्रह गर्दा समेत ओली पक्षले नमानेको स्रोतले रातोपाटीलाई बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप