राजधानीको दु:ख

ट्राफिक प्रमुख भन्छन्– काठमाडौँमा जाम अझै बढ्छ, घटाउने मन्त्र छैन

जाम घटाउने एसएसपीको प्रस्ताव : मेट्रो रेल चलाऔँ, गाडी घटाऔँ

person explore access_timeअसोज ८, २०७८ chat_bubble_outline1


लामो समयको लकडाउन र निषेधाज्ञा खुलेसँगै काठमाडौँ उपत्यकामा अत्यधिक ट्राफिक जाम बढ्न थालेको छ । पानी परेको समयमा त झनै अत्यासलाग्दो जाम हुन थालेको छ । महामारीका बेला जामको समस्या भोग्नु नपरेका यात्रुहरू ट्राफिक जामले हैरान बन्न थालेका छन् । बिहान बेलुका कार्यालय समयमा कतै निस्कँदा निर्धारित समयमा गन्तव्यमा पुग्न नसकिने स्थिति बढ्न थालेको छ ।

आखिर किन बढिरहेको छ त काठमाडौँमा जाम ? के काठमाडौँ सहरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ? सवारी साधनको चाप नै बढी भएको हो या प्रहरीले व्यवस्थापन गर्न नसकेर यस्तो समस्या निम्तिएको हो ? अथवा सवारी चालकहरूले नियमहरूको पालना गर्ने कुरामा कमी आएर पो यस्तो भएको हो कि ? आखिर के कारणले बढिरहेको छ काठमाडौँमा जामको समस्या ?    

उपत्यकामा ट्राफिक व्यवस्थापनको मुख्य जिम्मेवारी ट्राफिक प्रहरी महाशाखाले लिएको छ । महाशाखा मातहतबाट झन्डै १५ सय ट्राफिक प्रहरी काठमाडौँ, भक्तपुर र ललितपुरमा खटिन्छन् । यति धेरै ट्राफिक प्रहरी खटिँदा पनि जामको समस्या समाधान हुन सकेको छैन । २०७७ मंसिरदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक महाशाखाको नेतृत्व सम्हालिरहेका छन् । काठमाडौँ उपत्यकामा किन जाम बढिरहेको होला भनेर प्रश्न गर्दा उनले थप निराश बनाए । काठमाडौँ उपत्यकामा जाम अझै बढ्ने उनले बताए ।

काठमाडौँ उपत्यका बढ्दै गएको ट्राफिक जामको कारण र समाधानको उपायमा केन्द्रित रहेर एसएसपी भट्टराईसँग रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

पछिल्लो समय काठमाडौँमा ट्राफिक जाम बढेको देखिन्छ, जनतालाई मात्रै बढेजस्तो लागेको हो कि तपाईहरुले पनि त्यस्तो देख्नुभएको छ ?

जुन लकडाउन थियो, अहिले सबै कुरा खुल्न थाले । सबै नियमित जस्तो भैसकेको छ । अझै स्कुल खुल्न बाँकी छ । हामी लकडाउनभन्दा अगाडिको अवस्थामा पुग्दैछौँ । लकडाउनका बेला थोरै मात्र गाडीहरू गुडेको हुनाले लकडाउनअघिको अवस्था के थियो भनेर हामीले बिर्सेजस्तो लाग्यो । लकडाउन अघि योभन्दा भयावह अवस्था थियो । हामी बिस्तारै त्यो अवस्थामा गइरहेका छौँ ।

जाम त कहिलेकाहीँ झरी परेर पानी जम्मा भएका कारणले पनि हुन्छ । नारा जुलुसका कारणले जाम भएको अवस्था छ । कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने ३–४ दिन छुट्टी भएर खुल्दा पनि जाम हुने रहेछ । तर, अहिले बढिरहेको जामचाहिँ अझै बढ्छ, किनभने कोभिडपछिको चलायमान एकदम बढिरहेको छ । सबै क्षेत्र रात बिरात खुलिरहेका छन् । क्याम्पस शुरु भइसक्यो । कोभिडअघिको हाम्रो स्थिति जे थियो, त्यो स्थितिमा समाज चलायमान भइरहेको छ । त्यसकारणले गर्दा जाम बढेको हो । सडक जामचाहिँ बढ्दो क्रममै छ ।

पानी पर्नासाथ जाम हुनुको कारण के हो ?

पानी परेपछि के हुँदो रहेछ भने हाम्रो सहर देख्नुभएकै छ, बाटोमा, ठाउँ–ठाउँमा पानी जम्मा हुन्छ । दुई लेनको बाटो छ, अलिकति पानी जम्मा भयो भने एक लेनमा गाडी जाँदैन । पानी नभएको ठाउँबाट मात्र गाडी जान थालेपछि एकलेन बाटो त गयो नि अब !

एउटा कुरा, दुई लेनको बाटो एक लेन हुने बित्तिकै जाम स्वाभाविक बढिहाल्छ । दोस्रो कुरा, पानीका कारण गाडीको स्पिड घट्ने रहेछ । स्पिड घटेपछि क्रसिङ कम हुने भयो, त्यसले पनि जाम बढाउँछ । तेस्रो, पानी परेपछि मोटरसाइकल जहाँ पायो, त्यहीँ थुपारेर मान्छे ओत लाग्न जाने गर्छन् । त्यसले पनि अलिकति जाम बढाउँछ । यी साना–साना कुराले पानी पर्दा जाम बढाउँछ ।

अहिले उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न जनशक्तिको अवस्था कस्तो छ ?

हामी १५ सय जना ट्राफिक प्रहरी छौँ । गाडी १६ लाख रेकर्डमा देखिन्छ । स्थिति के भने जनशक्तिको समस्या पनि हो । यद्यपि अहिले मुख्य समस्या भनेको सडकको अवस्था र सडकको क्षमताभन्दा सवारी साधनको सङ्ख्या बढी भयो । अहिले काठमाडौँमा ५ लिटरको भाँडोमा ६ लिटर पानी हाल्देको छ, त्यसलाई कसरी अटाउने भन्ने समस्या भइरहेको छ ।

अब गाडीको सङ्ख्या घटाउनुपर्छ, नभए चलायमान हुन सक्दैन । उपत्यकामा थापाथली र कोटेश्वर बढी जाम हुने ठाउँ हुन् ।  ललितपुर जिल्लाको मुख्य निकास थापाथली हो । रिङरोड हिँडेका गाडीबाहेक सबै गाडी थापाथलीको पुल (बागमती) क्रस नभई ललितपुरबाट काठमाडौँ आउन सक्दैनन् ।

भक्तपुर, बनेपाका गाडीहरू कोटेश्वर चोक क्रस नगरी काठमाडौँ आउन सक्दैन । कोटेश्वर बाहिर पनि ठूलो सहर बनिसकेको छ, निकास एउटै छ । त्यसैले कोटेश्वर र थापाथली ‘क्रोनिक’ छ । अब त्यहाँ कोही बसेर पनि समस्या समाधान हुँदैन । किनभने, गाडीको चाप हरेक मिनेट एकातिरबाट आउँछ, त्यसलाई दिनभर कटाए पनि पालो पाउँदैनन् । त्यहाँ चारतिरको पालो दिनुपर्ने हुन्छ । पालो दिएर व्यवस्थापन गर्दा गाडीको फ्लो बढेपछि स्वाभाविक जाम हुन्छ । त्यसको उपाय भनेको पूर्वाधारमा सरकारले लगानी गर्नुपर्छ ।

करिडोर खुलेपछि केही हदसम्म समस्या समाधान भएको छ । तर, गाडी त थपिइरहेको छ । पानी त माथिबाट हालिरहेका छौँ । अझ करिडोरमा बनाउन बाँकी धेरै छ । तर, करिडोर आएपछि समस्या समाधान हुन्छ भन्ने छैन । अलिकति म्यानेज गर्न सहजचाहिँ भएको छ । गाडी थप्ने क्रम नहटाई समस्याको समाधान हुँदैन ।

कस्तो पूर्वाधार ?

जस्तो– कलङ्कीको उदाहरण दिन्छु, कलङ्कीमा हिजोको दिनमा अहिले कोटेश्वरको अवस्था थियो । अहिले कलङ्कीमा जाम छैन । त्यो सानो पूर्वाधार (अन्डरपास) बन्दा जाम कम भयो । कोटेश्वरमा पनि अन्डरपास नबनाई सम्भावना छैन । थापाथलीमा त्यसै गर्नुपर्ने अवस्था छ ।

कोटेश्वर र थापाथली बाहेक काठमाडौंका अन्यत्र जामको समस्या छैन ?

अहिले क्रोनिक देखिएका यी दुईवटा हुन् । यीबाहेक ग्वार्को क्षेत्रमा जाम हुन्छ । ग्वार्कोभित्र ठूलो सहर बनिसकेको छ, बाटो सानो छ । पुलमा दुईवटा गाडी पनि पास नहुने छ तर, बाटो चार लेनको छ । नयाँ बसपार्कमा त्यही समस्या छ । रिङरोडलाई ६ लेनको बनाएको छ तर, पुलमा दुईवटा गाडी पनि छिर्दैनन् । दुईतिर ६ लेनबाट गाडी आउँछन् अनि पुलमा पस्ने बेलामा दुईवटा भएपछि त स्वाभाविक जाम हुन्छ । त्यसले जाम बढाइरहेको छ । जाम बढाउने एउटै कारण हुँदैन । यसो गर्दा हट्छ भन्ने छैन । जाम बढाउने धेरै कुरा छन् ।

रिङरोड फराकिलो बनाए पनि जाम किन घटेन ? कोटेश्वर–बल्खु–कलंकी रिङरोड ६ लेनको छ, तैपनि ग्वार्कोमा जाम छ....

हैन, यस्तो ‘जङ्कसन’ को समस्या हो । कोटेश्वरमा जति ठूलो बाटो बनाए पनि उताबाट आउने निकास त एउटै छ नि । कोटेश्वरमा दुईतिरको रिङरोड र भक्तपुरबाट आउने गाडीलाई क्रसिङ गराउनुपर्ने चाप छ । दुवैतिरलाई पालो दिनुपर्छ । अब रिङरोड र भक्तपुरको क्रसिङलाई भेट हुन दिनु हुँदैन । तलमाथिबाट पुलमार्फत क्रसिङ गराउनुको विकल्प नै छैन ।

विभिन्न ठाउँमा करिडोरहरु खुलेपछि पनि जामको समस्या समाधान प्रभावकारी भएन नि ?

करिडोर खुलेपछि केही हदसम्म समस्या समाधान भएको छ । तर, गाडी त थपिइरहेको छ । पानी त माथिबाट हालिरहेका छौँ । अझ करिडोरमा बनाउन बाँकी धेरै छ । तर, करिडोर आएपछि समस्या समाधान हुन्छ भन्ने छैन । अलिकति म्यानेज गर्न सहजचाहिँ भएको छ । गाडी थप्ने क्रम नहटाई समस्याको समाधान हुँदैन ।

भनेपछि, पूर्वाधार थपेर र गाडी घटाउने काम भए मात्रै उपत्यकाको जाम घट्छ अरू उपायले घटाउन सकिँदैन भन्न खोज्नुभएको हो ?

हामीले राति ९ बजेअघि टिपर चल्न दिँदैनौँ । अहिले दिउँसै टिपर दौडिन दिए के हुन्छ होला स्थिति ?  दुर्घटनाको स्थिति के होला ? जामको स्थिति के होला ? समयले माग्यो क्या ! त्यसलाई कन्ट्रोल गर्नुपर्छ । अहिले सामान बोक्ने गाडी रिङरोडभित्र पस्न दिँदैनौँ, किनभने भित्र पस्न दिएमा थेग्नै सकिन्न ।

हामीलाई ५ सयदेखि १५ सय जरिवाना गर्ने अधिकार मात्र छ । तर, हामी अरूको भूमिकालाई पनि समन्वय गरिरहेका छौँ । सडक विभाग, महानगर र यातायातलाई झकझक्याउने काम पनि गरिरहेका छौँ, समन्वय गरिरहेका छौँ । कारबाहीको हकमा कडाइपूर्वक काम गर्दैछौं ।

अब, सामान बोक्ने गाडी रिङरोडले पनि थेग्न नसक्ने भइसक्यो । हामीले नागढुंगामा पार्किङ बनाएर दिनभर राख्ने र रातभर गुडाउने प्रस्ताव गरेका छौँ । अहिले त सामान बोक्ने साना गाडीलाई पनि हामीले कार्यालय समयमा हटाएका छौँ । स्कुल बस पिकआवरमा चल्न दिएका छैनौं । गाडीहरू अझै घटाउनुपर्छ । भोलि बैङ्किङ र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय अलग–अलग गर्नुपर्छ, जसले जाम हुने समयमा सवारीको सङ्ख्या घटाउँछ ।

महाशाखाले स्वयंसेवक परिचालन र बेलाबेला अन्य विभिन्न कार्यक्रम पनि ल्याएको छ, ती कार्यक्रमचाहिँ निष्प्रभावी भएका हुन् ?

निष्प्रभावी होइन । एउटै मात्र कुरा छैन, जसले जाम बढाउँछ । एउटै मात्र त्यस्तो कुरा छैन, जसले जाम घटाउन सकिन्छ । यसका लागि सयवटा क्रियाकलाप गर्नुपर्छ, एउटै कुराले घट्ने होइन । जाम १०० वटा कारणले भइरहेको हुन्छ । जथाभावी पार्किङ, पिक एण्ड ड्रप, युटर्न  लगायत  धेरै कुराले जाम बढाएको छ । त्यसैले घटाउन पनि १०० वटा क्रियाकलाप गर्नुपर्छ ।

मान्छेको क्रसिङ हेर्नुस् । जहाँ पायो त्यहीँबाट बाटो काटेर जाम भएको छ, दुर्घटना पनि बढ्छ । हामीले स्वयंसेवक राखेर बत्तीमा बाटो काट्ने र पालो पर्खने कुरा सिकाउन स्वयंसेवक परिचालन गरेका हौँ ।

जथाभावी बाटो काट्नेलाई चकलेट बाँड्ने र जरिवाना तिराउने कार्यक्रम ल्याएर रोक्न खोजियो तर, त्यो सफल भएन नि ?

हामीसँग भौतिक पूर्वाधारको कमी छ । विदेशमा हेर्नुस् त लाइट भएको ठाउँभन्दा बाहेक अन्यत्र बाटो काट्ने ठाउँ नै पाइँदैन । युटर्न गर्न तपाई पाउनुहुन्न । बाटो काट्ने र युटर्न गर्ने निश्चित ठाउँबाट मात्र मिल्नेगरी पूर्वाधार बनाइएको हुन्छ । बीचमा बार हुन्छ । त्यहाँ ट्राफिक किन देखिँदैन भने पूर्वाधार र टेक्नोलोजीले सबै कुरा गाइड गरेको हुन्छ । पूर्वाधारको ठूलो भूमिका हुन्छ । पूर्वाधार विकासमा सडक विभाग, यातायात विभाग र महानगरको त्यतिकै भूमिका छ । त्यसपछि, सडक बनेपछि गाडीले नियम पालना गरे कि गरेनन् भनेर हेर्ने कामचाहिँ ट्राफिकको हो । हाम्रोभन्दा ठूलो भूमिका अरूको छ ।

हामीलाई ५ सयदेखि १५ सय जरिवाना गर्ने अधिकार मात्र छ । तर, हामी अरूको भूमिकालाई पनि समन्वय गरिरहेका छौँ । सडक विभाग, महानगर र यातायातलाई झकझक्याउने काम पनि गरिरहेका छौँ, समन्वय गरिरहेका छौँ । कारबाहीको हकमा कडाइपूर्वक काम गर्दैछौं ।

पछिल्लो दुई वर्षयता ट्राफिक बत्ती पनि कतिपय ठाउँमा बनेका छन्, ट्राफिक बत्ती बनेपछि जाम नियन्त्रणमा केही सहयोग पुग्यो कि छैन ?

बत्तीले जङ्कसनमा पालो मिलाइदिन्छ तर, जङ्कसनमा आउने गाडी त घटाउँदैन नि ! कोटेश्वरमा बत्ती राख्यौँ भने भक्तपुरबाट आउने गाडी कम हुन्छ त ? हुँदैन नि । भक्तपुरको गाडी मात्र दिनभर तान्यो भने पनि त्यो बाटोले थेग्दैन भन्नेमा पुगिसकेका छौँ हामी । अर्को, ३ वटा क्रसिङ छ भने त्यस्तोमा ट्राफिक बत्ती राखेर मात्र जाम हट्ने होइन । बत्तीले त आफ्नो पालो पर्खेर जानुपर्छ भनेर सभ्यता र अनुशासन सिकाउँछ तर, पालो घटाउन त सक्दैन । बरु हाम्रो जनशक्ति घटाइदिन्छ । बत्ती हुँदा अन्यत्र हेर्न भ्याउने हुनाले सहता ल्याउँछ । क्रसिङ भएसम्म जाम त कसरी घट्छ ?

तपाईले भनेजस्तो गाडी घटाउने उपायचाहिँ के छ ?

दुई–चारवटा उपाय हामीले लगाइएरहेका छौ । अब मास ट्रान्सपोर्टेशनमा जानुपर्छ । न्युयोर्क शहरमा जानुभयो भने प्राइभेट गाडी चढ्नु भनेको ठूलो समस्याको विषय हो । त्यहाँ दिनभरि पार्किङ गरेको कर तिर्नुपर्छ । गाडी घटाउन निकालिएका उपाय हुन् यी ।

शहरभित्र पस्दा कर लगाउने एउटा उपाय हुनसक्ला । दोस्रोचाहिँ, मास ट्रान्सपोर्टेशनलाई राम्रो बनाइदियौँ भने मेट्रोरेल चलायौँ भने त्यसमा चढेमा समयमा पुगिन्छ भन्ने भएपछि त मान्छे त्यता जान्छन् । त्यसैले मास टान्सपोर्टेशनमा हामी जानुपर्छ । अनि, प्राइभेट गाडीलाई निरुत्साहित गर्ने पोलिसी ल्याउनुपर्छ ।

विदेशमा चाहिँ सीसीटीभीले गल्ती समाएर जरिवाना गर्न सहयोग गर्छ । हामी त बल्ल बैंकमा जरिवाना तिर्ने र क्यूआर कोडमा गएका छौँ ।

ट्राफिक जनशक्ति कम भएर पनि जाम भएको हो कि ?

ट्राफिकको जनशक्ति कमी छ भन्नेमा दुविधा छैन । किन दुविधा छैन भने हामी पूर्णरुपमा मानवीय शक्तिमा आधारित व्यवस्थापन गरिरहेका छौँ  । बल्ल एक वर्षदेखि धेरै ठाउँमा लाइट बल्न थालेका छन् । अरू केही पनि टेक्नोलोजी छैन । कारबाही गर्नुपर्ने, आँखाले हेर्नुपर्ने, सबै मान्छेले नै गर्नुपर्छ । प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने अवस्था छ । तर, अहिले त हामी म्यानपावरमा निर्भर हुनाले जति मेनपावर थपियो र धेरै भयो भने त्यसले सहजता ल्याउँछ यसमा दुविधा छैन । तर, मेनपावरसँगै हामी अब टेक्नोलोजी, पूर्वाधार र अरू नीतिगत समाधानतिर जानुपर्छ । एकैपटक त जाम घटाउने मन्त्र छैन होला ।

सीसीटीभीले चाहिँ जाम घटाउन कसरी सहयोग गर्छ ?

विदेशमा चाहिँ सीसीटीभीले गल्ती समाएर जरिवाना गर्न सहयोग गर्छ । हामी त बल्ल बैंकमा जरिवाना तिर्ने र क्यूआर कोडमा गएका छौँ । चिट पनि हातले नकाटेर डिजिटल तवरले काट्नेतिर प्रवेश गर्दैछौ ।  भोलि हाइ स्पिड क्याप्चर गर्ने क्यामरा, नम्बर डिटेक्ट गर्ने क्यामरा र सीसीटीभीको प्रयोग गर्न थालेपछि मान्छेहरूमा डर हुन्छ । जरिवाना पनि बढाउनुपर्छ, त्यसो भएमा टेक्नोलोजीले नै गल्ती हेर्न थालेपछि मान्छेले गल्ती नै गर्न छाड्छ ।

ट्राफिक प्रहरीले झोँक चलेका बेला मान्छेलाई अनावश्यक दुःख दिने र कारबाही गर्ने गरेको गुनासो छ । मुस्कानसहितको सेवा नारामा मात्रै भयो भन्ने गुनासो सधैँ सुनिन्छ नि ?

तपाईले भनेको कुरामा हामी सजग छौँ । कारबाही त गर्नुपर्छ, तर कारबाही गर्दा उसको चित्त बुझाउनुपर्छ भनेर हामीले हाम्रा प्रहरीलाई सम्झाइरहेको अवस्था छ । हाम्रो नेपालीको मानसिकता कस्तो छ, त्यो पनि हेर्नुस् । तपाईले गल्ती गर्नुभयो र मैले ५ सयको चिट काटेँ भने तपाईले मलाई जीवनभर नराम्रो भन्नुहुन्छ । किनभने, तपाईले मैले गल्ती गरेँ भन्ने महसुस नै गर्नुहुन्न, मलाई ५ सय काट्यो भन्नुहुन्छ ।

हाम्रो अधिकतम प्रयासचाहिँ चालकलाई चित्त बुझाएर चिट काट्नुपर्छ भन्ने छ । मनमा गल्ती गरे पनि मुखले झगडा गर्ने मानसिकता छ । चित्त बुझाएर चिट काट्न हामीले ट्राफिक प्रहरीलाई दैनिक भनिरहेका छौँ । तर, बुझाइमा समस्या हुँदा यदाकदा विवाद आउने गरेका छन् ।

कमेन्ट

  1. Sept. 24, 2021, 1 p.m. Sk neupane
    Koteshor Ko jam minimise garna tinkune lai oneway banauda 2 traffic lights and 6 manpower kam hunxa and 10percent jam kam hunxa
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।