मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा अभावको अनुभव

आइतबार, १० असोज २०७८, १८ : १०
आइतबार, १० असोज २०७८

काममा जान दुई कारणले घरबाट अलि छिटो निस्केँ । एकजना साथीसँग नभेटेको धेरै भएको थियो, सँगै बसेर चिया पिउने र गाडीमा पेट्रोल भर्ने सल्लाह भयो । हिजै घर फर्किंदा तेल सकिएको गाडीले संकेत दिएको थियो ।गत हप्तादेखि बेलायतको अवस्थाबारे एउटा लेख लेख्न पर्यो भनेर केही जानकारी संकलन गर्दै थिएँ । प्रायः घरबाट निस्कँदा बिहान बाटोमा अक्कल–झुक्कल केही गाडी देखिन्थे । तर, आज नजिकैका दुईवटा पेट्रोल पम्पमा लामा लस्कर देखिए ।

सधैं तेल भर्ने ठाउँमा पुग्दा ६ः ३५ बजेको थियो । निस्कँदा सात बजेर सात मिनेट भैसकेको रहेछ । म पूरा ट्यांकी तेल भर्ने गर्छु । तर, आज ३० लिटरमा पुगेर रोकियो । अरूलाई पनि पुर्याउन यो बन्देज  लगाइएको  रहेछ । पैसा तिर्न जाँदा क्यासियरसँग सोधें साँच्चिकै तेल सकिएको हो र ? सकिए त सबैतिर सबै ठप्प नै हुन्छ, दुःख पनि सबैले बाँड्न सकियोस् भनेर बन्देज लगाएको उनले सुनाए ।

काममा आइपुग्दा पन्ध्र मिनेट ढिलो भएछ ।

भेट्न नपाइएला कि भनेको साथी पनि कफी गफ गर्दै एक घण्टाजति नै बस्यो । काममा अलि ढिला भएको जानकारी म्यानेजरलाई गर्नुपर्ला भनेर म्यासेज लेख्न खोजेँ । उसैले ट्वाइलेट पेपरले ढाकिएको ट्वाइलेटको झ्यालबाट पेट्रोलपम्पमा भीड देखिएको र तिनीहरूलाई किन आत्तिएको होला भन्दै गाली गरिरहेको एउटा फोटो पठाएको रहेछ । सारै घत लागेकाले मैले पनि फेसबुक वालमा हाल्दिएँ । अब मेरो ढिलाइको जानकारी गराउन आवश्यक भएन ।

केही हप्तादेखि बेलायती पत्रपत्रिका र सञ्चार माध्यममा विभिन्न कारणले गर्दा अतिआवश्यक सामानहरुको पनि कमी हुँदै गएको जानकारी दिन थालेको थियो । यस्तो जानकारी पाएपछि समस्या झन् बढदै जाने गर्दछ । मानिसहरूले अनावश्यक रूपमा धेरै सामानहरू थुपार्न थाल्ने हुँदा पसलहरु छिट्टै रित्तिन्छन् र पछि आउनेले नपाउने हुन्छ । अहिले ठूला–ठूला पसलमा थुप्रै घर्राहरु खाली देखिन्छन् ।

बेलायतमा बेलाबखत केही कारणले अति आवश्यक सामानको आपूर्तिमा समस्या देखिँदै आएको छ । मेरो बेलायत बसाइको २४ वर्षमा म आफैंले तेल भर्नका लागि यति लामो समय कुर्न परेको अनुभव थिएन । केही वर्षदेखि इन्धनको मूल्य भने बढ्दै गएको थियो । तर, यति लामो लाइन बस्नुपरेको थिएन ।

कोभिडको शुरुआती समयमा मानिसहरूले धेरै अत्तालिएर सामान जम्मा गर्न पुगे । समयको गति सँगसँगै  सामान जम्मा गर्ने बानी हट्दै गयो । त्यतिबेला कुराकानीकै क्रममा मित्र गोविन्द बेलबासेजीसँग रमाइलो वार्तालाप भएको थियो । हामी  नेपालीलाई घरमा चामल र दालको अलि जोहो गर्न सकियो भने अरू सामानको अभावले खासै समस्या हुँदैन भन्ने  निष्कर्षमा पुगेका थियौं ।

अहिले बजारमा अभाव देखिनुको मुख्य कारणचाहिँ देशमा भित्रिएको सामानलाई वितरण गर्न नसक्नु हो भन्ने छ । बन्दरगाहतिर थुप्रिएका सामान लरी ड्राइभरहरू नभएका कारण सरकारले समयमा बजारमा पुर्याउन सकेको छैन ।

अहिले करिब एक लाख लरी ड्राइभर कमी भएको आकलन गरिएको छ । यो समस्या समाधान गर्न ड्राइभर थप्न खोजिएको थियो । तर, कोभिडका कारण लामो समयसम्म ट्रेनिङ गराउन सकिरहेको छैन । करिब ४० हजार परीक्षा रद्द भएका छन् ।  धेरैजसो ड्राइभरहरू अन्य युरोपियन देशको भएका र कोभिडका कारण काम नहुँदा घर गएका छन् ।

एक तथ्याङ्कअनुसार करिब १० हजार ड्राइभरहरु घर गएकोमा ६ सय ड्राइभर मात्रै बेलायत फर्केको देखिन्छ । अध्यागमनको परिवर्तित कानुनअनुसार अब युरोपियनहरु आउने भन्दा  फर्किनेको संख्या बढ्दै गएको देखिन्छ ।

भनिन्छ, बेलायतमा करिब पाँच लाख  १६  हजार ठूला गाडी चलाउने ड्राइभर छन् । अहिले धेरै ड्राइभरको  औसत उमेर ५०–५५ बर्ष  भएकाले अबको ५ वर्षमा झण्डै एक तिहाइले अवकाश लिने अनुमान गरिएको छ । झट्ट हेर्दा ड्राइभरले पाउने तलव धेरै देखिए पनि अन्य धेरै कारणले गर्दा लाइसेन्स लिएर पनि यो कामलाई निरन्तरता नदिनेको संख्या पनि धेरै छ ।

सन् २०२० मा ५ लाख १६ हजारमध्ये २ लाख ७८ हजार ७ सय चालकले मात्रै काम गरेको देखिन्छ । युवाहरूले ड्राइभर बन्न त्यति रुचि राखेको देखिँदैन । त्यसैले विभिन्न ठूला स्टोरहरुले ड्राइभरको आवश्यकता प्रकाशन गर्दा विशेष सुविधासहित राम्रै नगद दिने भनेका हुन्छन् ।

ठूला गाडीहरु कति समय चलाउन पाइने भन्ने छुट्टै कानुनी व्यवस्था पनि छ । दैनिक ९ घण्टा गाडी चलाउन पाइने भए पनि पहिलो साढे चार घण्टामा अनिवार्य ४५ मिनेट आराम गर्नुपर्ने हुन्छ । तर, सरकारले अहिले  अर्को व्यवस्था  नभएसम्म यो समय बढाएर १० घण्टा बनाएर केही हद भए पनि समस्या  कम गर्ने कोशिश गरेको छ ।  तर, यो एक हप्तामा दुई दिनका लागि मात्रै हो । हप्तामा ५६ घण्टा र १५ दिनमा ९० घण्टाभन्दा बढी काम गर्न पाइँदैन ।

अर्को कारण, अहिले बेलायतमा सीओटु ग्यासको आयातमा पनि ठूलो समस्या देखिएकाले विभिन्न क्षेत्रमा समस्या भएको हो । खाना प्याकिङ गर्नेदेखि पशु वधशालासम्म यो ग्यासको कमीका कारण बजारमा धेरै उत्पादन सकिँदै गएको देखिन्छ ।

कुखुराको परिकार पाउने ठूलो रेस्टुरेन्ट नाण्डुजले आफ्ना ५० वटा शाखाहरू बन्द नै गरेको छ । केएफसीमा केही प्रकारहरू मेनुबाट निकालिएको छ । संसारकै ठूलो चेन रेस्टुरेन्ट म्याकडोनाल्डमा मिल्क सेक र बोतलको पेय पदार्थहरू उपलब्ध हुन सकेको छैन । खाना स्टोर गर्ने हरेक प्रकारका उपकरणहरूमा यो ग्यास प्रयोग गरिने हुँदा बिस्तारै धेरै सामानहरू कमी हुँदै जाने देखिएको छ ।

बेलायतका दुई ठूला रासायनिक मल उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदा त्यसले उत्पादन गर्ने झन्डै  ६० प्रतिशत ग्यास कमी हुन गयो । यो समस्या केही वर्षदेखि देखिँदै आएको थियो । बेलायतलाई बार्षिक ३५० मिलियन टन कार्बनडाइअक्साइड चाहिने देखिन्छ । सरकारले यो आपूर्ति  बढाउन विभिन्न उपायहरु खोजी गरिरहेका छन् ।

अहिले स्केनडेभियन देशहरू र हल्याण्डबाट धेरै आयात भैरहेकामा अब अमेरिका रसिया र चाइनाबाट पनि थप मात्रामा ग्यास  ल्याउने तयारी भइरहेको छ । स्वाथ्य सेवामा अति आवश्यक परीक्षण गर्ने रगत राख्ने  ट्यूब  संसारभरि अपुग भएको छ । त्यही कारणले गर्दा बेलायती स्वास्थ्य सेवाले अति आवश्यक अवस्थामा बाहेक अरुलाई यो सेवा दिन बन्द गरेको छ ।

गरीब अविकसित देशहरूमा यस्ता समस्या देखा परिरहने हुँदा गाह्रो भए पनि स्वीकार गर्ने बानी बसाउनुपर्ने हुन्छ नै । तर, विकसित देशहरूमा यस्तो समस्या आउँदा भने अलि धेरै असहज महसुस हुनु स्वाभाविक हो ।

कुनै  एउटा क्षेत्रमा कमी कमजोरी हुन गए सिंगो सिस्टममा नै गडबडी हुने हुँदा त्यस्तो अवस्थामा के गर्ने भन्ने सबैले सोच्न नसक्नु स्वाभाविक नै हो । पटक–पटक यसप्रकारको समस्या देख्न भोग्न पर्ने भएपछि भने बिस्तारै बानी पर्दै जाने नै छ । तर, शुरुको कोभिड कालमा सार्वजनिक भएको एउटा तथ्याङ्कअनुसार संसारभर नै त्यहाँका रैथानेहरु भन्दा आप्रवासीहरुले नै धेरै भागदौड गरेको र अनावश्यक मात्रामा सामान थुपारेको देखियो ।

आज तेल भरेर आई रहँदा मैले यो कुराहरू सम्झिँदै आएको थिएँ । एक्लै भएको हुँदा सबै कुरा सम्झेर मुस्काउँदै पनि थिएँ । हामी मान्छेहरूमा के मानवीयता घट्दै गएको हो त ? जति सभ्य, सुसंस्कृत  देशमा बसेर पनि आफैले मात्रै पाए पुग्ने वा मलाई मात्र भए हुन्छ भन्ने मानसिकता हुने नै रहेछ । सबैतिर अभाव भएर ठूलो समस्या भयो भने थुपारेको सामान प्रयोग गरेर आफू मात्रै कहिलेसम्म बाँच्ने होला ?

अभाव र समस्या पनि सबैले सहज रूपमा स्वीकार गर्न किन नसकिएको होलाजस्तो लाग्यो । कामबाट फर्किँदा अर्को आधा ट्यांकी तेल भर्नुपर्छ होला भनेर घर आउँदा बाटोमा पर्ने पाँचवटा पेट्रोल पम्पमा पसेँ । कहिँ पनि नपाइएपछि घरमा आएर दाल, चामल र गेडागुडीको जोहो गर्नुपर्छ कि भन्ने सल्लाह भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र नेपाल श्रेष्ठ
सुरेन्द्र नेपाल श्रेष्ठ
लेखकबाट थप