ब्लग

न्यूयोर्कमा डाक्टर गोविन्द केसीसँग ७ दिन

person explore access_timeअसोज २३, २०७८ chat_bubble_outline0

उन्नाइसौँ पटकसम्म नेपाली जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यको हुनुपर्छ भन्दै २५१ दिनसम्म ज्यानको बाजी लगाई आमरण अनसन बसेर सरकार र सरोकारवालालाई झुकाए डा. गोविन्द केसीले । दृढ निश्चयी प्रोफेसर डा. केसीले आफ्नो अभियानलाई केही फरक ढंगले उठान गर्ने सोच राखेको केही महिना भए पनि के गर्ने र कसरी गर्ने भन्ने टुंगो लागेको थिएन । यही क्रममा उनी अमेरिका आए ।

‘सत्याग्रही’, ‘अनसन डाक्टर’ भनेर चिनिएका डा. केसीले अमेरिकाको न्युयोर्कमै आएर विश्वमा बढ्दै गइरहेको जलवायु प्रदूषण, युद्ध, भोकमरी तथा भ्रष्टाचार, साना राष्ट्रहरुको कोभिड–१९ विरुद्धको भ्याक्सिनमा पहुँच र शिक्षा स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्ने माग लिएर आमरण अनसन नै बस्ने सोच पनि नबनाएका होइनन् । तर, नेपालमा जस्तो अमेरिकामा अनसन बस्न सहज नहुने देखेपछि उनले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभास्थल वरिपरि अनसनको सट्टा शान्तिपूर्ण प्रदर्शन गर्ने सोच बनाए ।

डाक्टर केसीको अभियानमा सुरुदेखि नै अनवरत साथ दिँदै आएका लेखक शिवप्रकाश केही दिनअघि मात्रै घरायसी कामले नेपाल गएका थिए । तर, डा. केसीको ईच्छाअनुसार नेपालबाट आफ्नो ब्यस्ततालाई थाती राखेर उनको होस्टेमा हैँसे मिलाउँदै बोस्टन हुँदै केसीसँगै शिवप्रकाश पनि न्युयोर्क आए ।

डाक्टर केसीको दृढ़निश्चय र निष्ठाका बारेमा पटक–पटक लेखिरहेको ब्यक्ति हुनाले उनको त्यो सपना पूरा गर्न म पनि होमिनै पर्थ्यो । मेरो आग्रहलाई मेरा दुई मित्र रुद्र केसी र शंकर पौडेलले हर प्रयत्नमा साथ दिए । सेप्टेम्बर २० मा न्युयोर्कमा आएलगत्तै त्यही दिन र सेप्टेम्बर २१ मा हामीले संयुक्त राष्ट्र संघको भवन नजिकै विभिन्न प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्यौं ।

संसारकै आर्थिक राजधानी न्युयोर्क, त्यसमाथि पनि संयुक्त राष्ट्र संघकै महासभास्थल अगाडि नेपाली राष्ट्रिय ध्वजा फहराएर सुशासन, शान्ति र सद्भावनाका लागि उभिँदा डा. केसीको अनुहारमा एउटा पूर्णचन्द्रजस्तो चमक देखिन्थ्यो । हामी थियौँ त्यो चमकका साक्षी ।

कार्यक्रमबारे त्यति धेरै तयारी थिएन । त्यसमाथि महासभास्थल वरिपरि अत्यन्तै कड़ा सुरक्षा ब्यवस्था भएकाले ठूलो प्रदर्शन सम्भव भएन । तर, डा. केसीको अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न यसले ठूलो बल प्रदान गर्यो । विभिन्न देशबाट आएका प्रतिनिधि, पर्यवेक्षक र अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले हामीलाई चनाखो गरी हेरे, लेखे र प्रसारण गरे । यसले नेपाल र नेपाली झण्डा चिनाउन ठूलो मद्दत गर्यो । प्रो. डा. गोविन्द केसीबारे संसारले फेरि एकपटक सोधखोज गर्यो ।

प्रदर्शनी लगत्तै विभिन्न राज्यहरुमा डा. केसीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्न विभिन्न संघ संस्थाहरु इच्छुक देखिए । तर, सीमित समयसीमाले गर्दा सबै ठाउँमा सम्भव भएन । अन्तरक्रियाको सिलसिलामा डा. केसी क्यालिफोर्निया, एरिजाेना र टेक्ससमा पुगे । आफ्नो अनसन केका लागि थियो र के–के उपलब्धि भए भन्ने कुरा सहभागीलाई सुनाए । सहभागीका प्रश्नहरुका उत्तर दिए । जीवनको अन्तिम सास रहुञ्जेल माफियासँग लडिरहने केसीले दृढ निश्चय गरे । वीच–वीचमा ठट्यौली पाराले आफू बूढो भएको कुरा गरेर सहभागीहरुमा हाँसोको फोहरा छुटाउन पनि भ्याए ।

न्युयोर्कका सडकहरुमा हामीसँग हिँडेका डा. केसीलाई मान्छेहरुले मास्क बाहिरबाटै चिने, आफ्ना अगाडि आफ्नो आदर्श पुरुष देख्दा धेरैले सपना ठाने । केही उनलाई देखेर हर्षका आँशु झार्दै भन्थे, ‘मेरो जीन्दगीमा हजुरलाई यसरी भेट्छु भन्ने लागेको थिएन ।’

त्यही भीडमा कसैले भन्दै थिए, ‘भ्रष्टाचारीहरुले भरिएको देशमा देशका लागि यति सोच्ने मानिस पनि हुँदा रहेछन्, आफ्नो तलबले दूरदराजमा औषधि बोकेर गरीब दुःखीहरुको उपचार गर्न कुदिरहने यस्ता देवताजस्ता मान्छेसँग परदेशमा भेट्न पाउनु जीवनको सबैभन्दा खुशीको क्षण हो ।’

न्युयोर्कको अपस्टेटको एउटा पसलमा भेटिएका दुई नेपाली युवाले डाक्टर केसीलाई एकोहोरो हेरिरहे । एकैछिन हेरेपछि वहाँ डाक्टर गोविन्द केसी होइन ? भनेर मसँग प्रश्न गरे । मैले हो त भनेर उत्तर के दिएको थिएँ, उनीहरु भक्कानिए । आँखाभरी टिलपिल आँशु झारेका उनीहरु डाक्टर केसीसँग लुटपुटिए । प्रणाम गरे । त्यो दृश्य हेर्दा म पनि भक्कानिएँ । जिन्दगीमा कोही बाँचोस् त यसरी बाँचोस् भन्ने लागिरह्यो ।

दुईजना भाइमध्ये एकजना एकछिन है भन्दै हामीबाट ओझेल परे । एकैछिनमा डाक्टर केसीका हातमा श्रद्धास्वरुप दुई–दुईसय डलर थमाउन के खोजेका थिए, डा. केसीले तत्कालै भने, यो नगरौँ ! यो नगरौँ ! भाइहरूले जब अलि जिद्धी गर्न थाले, डा. साहेबले कड्किएर भने, ‘नो ! नो ! नो ! आई सेड नो ! आई सेड नो ।’

कसैबाट केही लिनु उनको जीवन पद्दति विपरीत हुन्थ्यो, त्यसैले अमेरिकामा हुने सबै अन्तरक्रियाको फ्लायरमै उनले ‘नन च्यारिटेबल प्रोग्राम’ भनेर लेख्न लगाएका थिए ।

धेरै नेपालीहरुका मनमा श्रद्धाको फराकिलो ठाउँ बनाएका डा. केसी न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टर अब्जरभेटरीदेखि अपस्टेटसम्म, अनि सेन्ट्रल पार्कदेखि ज्याक्सन हाइटसम्म भेटिएका नेपालीहरुका मोबाइलमा अटाए ।

शुद्ध साकाहारी भोजन गर्ने डा. केसीको पहिरन त झन् सामान्य लाग्थ्यो । नयाँ लुगा लगाउन मन नपराउने उनी भन्थे, ‘मैले लगाएको यो पाइन्ट आठ बर्ष पुरानो हो, अझै २ बर्ष त मजाले चल्छ । अझै धेरै नेपाली जनताले एकसरो गतिलो लुगा लगाउन नपाउने देशको मान्छेले छानी–छानी लुगा फेर्नु मेरो धर्म विपरीत हुन्छ ।’

बिहानको नास्तामा दूध र पाउरोटी अनि खानामा पालक पनिर र ब्राउन राइस मन पराउने डा. केसीको दही र मिठाइ मन पर्ने डेजÞर्ट हो । मन पर्ने ड्रिंक चाहिँ डाइट कोक ।

१६ दिनको अमेरिका बसाइमा उनी झण्डै सात दिन सँगै बस्दा उनीसँग हामी यति नजिक भएका थियौँ कि उनलाई एक छिन नदेख्दा नरमाइलो लाग्थ्यो । झट्ट हेर्दा कडा मिजासका लाग्ने डा. केसी साँच्चैका महापुरुष रहेछन् । हरेक कुरालाई सकारात्मक लिने, हरेक क्षण हाँसिरहने र रमाइलो छेडछाड गर्न रुचाउने रहेछन् ।

हामीले उनलाई माया र श्रद्धाले ‘डाक्टर बा’ भनेर बोलाउँथ्यौँ । राति अबेरसम्म जीवन, जगत, समाजसेवा र राजनीतिबारे कुरा गरिरहन्थ्यौँ । कहिले जिस्किएर मैले सोध्थेँ, बा, हजुर यति हँसिलो मान्छे, जवानीमा कति केटीहरु पछि लागे होलान् ? बिहे गर्ने सोच आएन ? यसो भन्दा अविवाहित डा. केसीले प्रश्नको सामना पनि रमाइलो पाराले गर्थे । रसिक प्रश्न गरेपछि ‘दुईपटक हल्का खोक्दै’ उनको पहिलो प्रतिक्रिया हुन्थ्यो, ‘मसँग चकलेट भएको भए एउटा चकलेट दिन्थेँ।’

यति भएपछि मलाई के चाहिन्थ्यो र ! मौका मिल्नासाथ ‘बा’ भन्दै लुटपुटिन्थेँ । अब सधैंभरि अनसन बसेर हुँदैन, वैकल्पिक तरिका अपनाउनुपर्छ भन्थेँ । तपाईँ हाम्रा लागि धेरै बाँच्नुपर्छ भन्थेँ । उनी ‘बढिया बढिया’ भनेर समर्थनको टाउको हल्लाउँथे ।

डा. केसीको नेपाल फर्कने फ्लाइट न्युयोर्कबाट भएकाले यसपटकको अन्तिम अन्तरक्रिया पनि हामीले न्युयोर्कमै राख्यौँ । एनआरएनएको ब्यानरमा कार्यक्रम गर्दा संस्थाको इज्जत बढ्ने सुझावसहित मैले कार्यक्रमको खाका स्थानीय एनआरएनए च्याप्टरलाई दिएँ ।

अन्तरक्रियाको दिन नजिकिँदै गर्दा पनि एनआरएनहरु तातेनन् । जम्मा चार दिन बाँकी हुँदा समय छ नि भनेर पन्छिरहेका थिए । एनआरएनए अभियन्ता टकरुवाली र स्थानीय च्याप्टर सभापति आङछिरिङ शेर्पासँग सल्लाह गरेर कार्यक्रमको सम्पूर्ण जिम्मा हामीले लियौँ ।

फ्लायरमा सम्पर्क व्यक्तिका रुपमा म लगायत सक्रिय साथीहरु मोहन श्रेष्ठ, रुद्र केसी र शंकर पौडेलको नाम थियो । त्यो नाम एनआरएनएकै एक पदाधिकारीलाई मन नपरेर हो या के हो, फ्लायरलाई नै मधुरो पारेर सामाजिक सञ्जालमा पोस्ट गरेको पाइयो ।

सामाजिक सञ्जालमा ‘आईएम विथ डाक्टर केसी’ भनेर अपार सद्भाव देखाउनेहरू निष्ठाका प्रतीक डाक्टर आफ्नै सहरमा आउँदा खचाखच हलमा भरिनुपर्ने हो, हलमा नअट्ने गरी मान्छे आएनन् । कार्यक्रममा मुस्किलले सयजनाले स–शरीर उपस्थिति जनाए । नेपालका राजनीतिक पार्टीका नेताहरु आउँदा ठूलो भीडभाड गर्ने कार्यकर्ताहरु डा. केसीको नजिक परेनन्, पर्न चाहेनन् । कसैले स्वास्थ्यको समस्या देखाएर आएनन् भने कसैले पार्टीको निर्देशन छैनसम्म भन्न भ्याए । कोही–कोही यसो देखिएर कुलेलम ठोके । कोही आफ्नो संस्थाको ब्यानरमा कार्यक्रम गर्न नपाएर आएनन् । यहाँसम्म कि एनआरएनएकै तथाकथित धेरै अभियन्ताहरुले डाक्टर केसीलाई भेट्न आवश्यक ठानेनन् ।

तर, यसबीचमा छोटो समयका बावजुद अक्टोबर ३ को साँझ समाजसेवी सोमनाथ घिमिरेले संयुक्त राष्ट्रसंघीय ग्लोबल पिस एम्बास्डर डा. सीमा करेटनायासँग भेटवार्ता गर्ने अवसर जुटाइदिए, जसले गर्दा डा. केसीका मागहरु थप अन्तर्राष्ट्रियकरण भए । दुवैबीच झण्डै ४५ मिनेट भेटवार्ता भयो ।

अक्टोबर ४ मा बिहान ११ बजे डा. साहेबको नेपाल फर्कने फ्लाइट थियो । हामीलाई भने कता–कता धेरै नरमाइलो लागिरहेको थियो । आफ्नो आदर्श, जनताका डाक्टर, जिउँदो सहिद डा. केसीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८ बजे विदा गर्दा टिल्पिलाएका आँशुलाई नक्कली हाँसोले विस्थापन गर्दै हामीले वहाँलाई देखिउञ्जेल हेरिरह्यौं, फेरि छिट्टै भेट्ने आशाका साथ ।-न्युयोर्क 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।