शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरमा एमाले नेतृत्वका लागि तीन गुटका आकांक्षी

मङ्गलबार, ०९ कात्तिक २०७८, १३ : ३३
मङ्गलबार, ०९ कात्तिक २०७८

नेकपा एमालेले देशभरका पालिकामा मंगलबार अधिवेशन गर्दैछ । यसै क्रममा पोखरा महानगरपालिकासहित कास्कीका पाँचवटै पालिकामा पनि एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशव्यापीरुपमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि पोखरा महानगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको छ ।

पोखरा महानगरमा पार्टी नेतृत्वका लागि एमालेका प्रभावशाली नेता खगराज अधिकारी, पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले आफू निकटका उमेदवारलाई अघि सारेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिएको हो । पोखरा महानगर कमिटीको अध्यक्षमा दिलिप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल र सञ्जीवबहादुर कोइराला आकांक्षी देखिएका छन् । दिलिप एमाले नेता खगराज निकट मानिन्छन् भने तेजनारायण र दिपक पृथ्वी सुब्बा निकट हुन् । त्यसैगरी सञ्जीव नेता किरण गुरुङको समर्थनमा अध्यक्षमा उम्मेदवार बन्ने चर्चा छ । पोखरा महानगर कमिटीका वर्तमान अध्यक्ष दीपक पौडेल आफै पुनः अध्यक्ष बन्न चाहेका छन् । तर, उनले अन्तिममा आएर खगराज गुट छाडेको र पृथ्वीसुब्बाले तेजनारायणलाई अगाडि बढाएका कारण उनको सम्भावना कम देखिएको बताइन्छ ।

त्यसैगरी पोखरा महानगर समिटीको सचिव भएर काम गरिसकेका कारण दिलिप न्यौपाने अध्यक्षको आकांक्षीका रुपमा देखिएका छन् । तेजनारायण अधिकारीले महानगर कमिटी संयोजक भइसकेकाले अब आफू महानगरको नेतृत्वका लागि अगाडि बढ्ने बताएका छन् ।

न्यौपानेलाई एमाले नेता खगराज अधिकारी समूहको सहयोग र अधिकारीलाई एमाले सचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको बताइएको छ । त्यस्तै कोइरालालाई एमाले नेता किरण गुरुङको समर्थनमा उम्मेदवार बनेको बताइएको छ ।

त्यसैगरी रुपा गाउँपालिकामा सहबक्स मियाँ र मादी गाउँपालिकामा बालकृष्ण गुरुङ दोहोरिने सम्भावना छ । मादीमा पसबहादुर बास्तोला र हरिबोल गौतमले पनि अध्यक्षको दाबी गरेका छन् । रुपामा अध्यक्षको आकांक्षी देखिएका मियाँ गण्डकीमा मुस्लिम समुदायबाट अध्यक्ष बन्ने एकमात्र आकांक्षी भएकाले उनलाई नै दोहो¥याउने पक्षमा पार्टी नेतृत्व सहमत देखिएको छ । तर, यहाँ एमाले विभाजनको बेला एकीकृत समाजवादीमा लागिसकेपछि अध्यक्ष दिने प्रलोभनमा एमालेमा फर्काइएका दामोदर घिमिरेले समेत अध्यक्षमा दाबी गरेका छन् ।

माछापुच्छ्रेमा विक्रम गुरुङ र महेश्वर दवाडीले अध्यक्षमा दाबी गरेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकामा वर्तमान उपाध्यक्ष सगुन गुरुङसहित चन्द्रबहादुर गुरुङ, गौरी सुवेदी, सुरेन्द्र गुरुङ, विवेक देवकोटा, सोम पौडेल लगायतले अध्यक्षमा दाबी गरिरहेका छन् ।

एमालेको वडा अधिवेशनमा अधिकांश युवा नेतृत्व चयन भएकाले कास्कीका पालिकाको निर्वाचनमा समेत युवा नेतृत्व छनोट हुने सम्भावना देखिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप