शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा बिहीबार बिहान स्वदेश फर्किँने

बुधबार, १७ कात्तिक २०७८, २१ : २३
बुधबार, १७ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्किँदैछन् । 

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १ः ५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहीबार बिहान काठमाडौँ आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किँदैछन् । 

स्वदेश फर्कनुअघि बुधबार प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए । पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो । 

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप