संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
सारांश
- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताएका छन् ।
- उनले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्दै संसदीय अभ्यासलाई परिणाममुखी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
- संविधान संशोधन गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता साझा धरोहरलाई थप संस्थागत गर्न हुनुपर्ने र यसलाई कुनै दल वा समुदायको स्वार्थमा केन्द्रित गरिनु नहुने उनको भनाइ थियो ।
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताएका छन् । ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गरे । अध्यक्ष दाहालले संसदीय अभ्यासलाई परिणाममुखी र प्रविधिमैत्री बनाउनुपर्ने पनि बताए ।
अध्यक्ष दाहालले संसद्को वर्तमान कार्यशैलीप्रति निर्मम समीक्षा गर्नुपर्ने बताए । ‘हामीले आफैँलाई प्रश्न सोध्नुपर्छ– के संसदबाट समयमै आवश्यक ऐन–कानुन निर्माण हुन सकेका छन् ? के कार्यपालिका संसदप्रति उत्तरदायी भएको छ ?,’ दाहालले भने । संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र रचनात्मक बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको उनको तर्क थियो।
संविधान संशोधनका बारेमा चल्दै गरेको बहसप्रति सङ्केत गर्दै अध्यक्ष दाहालले संविधान जड नभई समय र जनआकांक्षा अनुसार परिमार्जन हुने ‘जीवित दस्तावेज’ भएको बताए । तर, उनले चेतावनी दिँदै भने, ‘संविधान संशोधनको उद्देश्य विगतका उपलब्धिहरूबाट पछाडि फर्किने होइन, अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने हुनुपर्छ। यसलाई कुनै दल वा समुदायको स्वार्थमा केन्द्रित गरिनु हुँदैन।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता राष्ट्रका साझा धरोहर भएकोले यिनलाई थप संस्थागत गर्न मात्र संशोधन हुनुपर्ने उनले बताए ।
२१औँ शताब्दी विज्ञान र प्रविधिको युग भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदलाई ‘डिजिटल संसद्’ को अवधारणातर्फ लैजानुपर्ने बताए । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण विश्वमा आएको परिवर्तनलाई आत्मसात् गर्दै त्यसको जिम्मेवार र मानवीय उपयोगका लागि कानुनी ढाँचा निर्माण गर्न ढिला गर्न नहुने उनको भनाइ थियो।
नेपालको युवा जनसंख्यालाई राष्ट्रिय विकासको सक्रिय साझेदार बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले युवाहरूका लागि रोजगारी, उद्यमशीलता र डिजिटल अवसर सिर्जना गर्ने नीति निर्माण गर्नु संसदको प्रमुख दायित्व भएको बताए । ‘युवाहरूको विश्वास जित्न सके मात्र लोकतन्त्रप्रतिको जनभरोसा बलियो हुन्छ,’ उनले भने ।
जटिल बन्दै गएको क्षेत्रीय तथा विश्वव्यापी शक्ति सन्तुलन र नेपालको संवेदनशील भूराजनीतिक अवस्थितिलाई दृष्टिगत गर्दै उनले राष्ट्रिय हित र परराष्ट्र नीतिका सवालमा सबै दलहरूबिच न्यूनतम सहमति र स्थिरता आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले अन्तमा संवादलाई विभाजनको नभई सहकार्यको माध्यम बनाउन अपिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई अक्षुण्ण राख्दै समृद्ध नेपाल निर्माणको यात्रामा एकजुट हुन सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण