शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गगन थापाको चुनाव : भोटमा कठिन, व्यक्तित्वमा सहज

मङ्गलबार, २१ कात्तिक २०७४, १४ : ४६
मङ्गलबार, २१ कात्तिक २०७४

काठमाडौं–युवापुुस्ताका दुई उम्मेदवार एक अर्काका प्रतिस्पर्धी भएका कारणले काठमाडौं ४ नम्बर क्षेत्रले धेरैको ध्यान खिचेको छ । दुई दलका वजनदार उम्मेदवार भिड्न लागेकोले चुनावी रौनक थपिएको हो ।

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाको चुनावी क्षेत्रमा उनलाई रोक्न वामगठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई अगाडी सरेका छन् । २०७० को संविधान सभामा एमालेका प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पारेका थापाका लागि यसपटकको निर्वाचन भने सहज देखिएको छैन । 

नयाँ संरचना अनुसारका स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ४ का अधिकांश स्थानमा एमालेको पक्षमा मत देखिएकोले गगनलाई जित निकाल्न अघिल्लो पटक भन्दा कठिन हुने आंकलन गरिएको छ । दोश्रो संविधान सभामा थापाले  २२ हजार ३३६ मत ल्याई विजयी भएका थिए । थापाका प्रतिस्पर्धी एमालेका  निर्मल कुईंकेलले नौ हजार १३५ ल्याएका थिए भने माओवादी केन्द्रबाट वर्तमान  उपराष्ट्रपति नन्दकिशोर पुनले छ हजार ४४२ मत प्राप्त गरेका थिए । एमाले र माओवादी केन्द्रको कुल मत जोड्दा पनि थापा अघि थिए । 

संघीय संरचना अनुसार बाँडिएका स्थानीय तहको आधारमा क्षेत्र नम्वर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्वर १,७,८ र ३० रहेका छन् भने बुढानिलकण्ठ नगरपालिकाका १, २ ,८ ,९ १० ,११ ,१२ र १३ वडाहरु क्षेत्र नम्वर ४ मा परेका छन् । स्थानीय तहको निर्वाचनको आधारमा विश्लेषण गर्दा गगन थापालाई दलगत मत कम पर्ने देखिन्छ । काठमाडौं महानगरपालिकाका चार वडा र बुढानिलकण्ठ नगरपालिकाका आंठ वडा रहेको काठमाडौं क्षेत्र ४ मा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दुई वडामा मात्रै जित निकाल्न सकेको थियो । प्रतिनिधी सभा सदस्य अन्तर्गतको ४ नम्वर क्षेत्रमा कांग्रेसले काठमाडौं महानगरपालिकाको ८ र ३० मा मात्रै विजयी भएको थियो । 

काठमाडौं ४ नम्वर क्षेत्रमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १४ हजार ७६ मत प्राप्त गरेको छ । एमालेले १७ हजार २३९ मत ल्याई कांग्रेसलाई पछि पारेको छ । त्यस्तै तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले  तीन हजार ९०९ ल्याएको छ । एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बनेकोले ति दुई दलको कुल मत २१ हजार १४८ हुन्छ । स्थानीय तहको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस वाम गठवन्धन भन्दा सात हजार ७२ मतले पछि परेको छ । 
दुई स्थानीय तहका १२ वडाहरु मध्यमा  दुइ वडामा मात्रै  नेपाली कांग्रेसले जित निकाल्नु, वाम गठबन्धनले ‘हेभिवेट’ उम्मेदवारलाई टिकट दिनु जस्ता कारणले गर्दा थापालाई जित निकाल्न कठिन देखिएको हो । 

गत शनिवार देखि चुनावी अभियान शुरु गरेका थापाले चुनावी सभामा आफ्नो कार्यकालमा सोंचे मुताविकको विकास गर्न नसकिएको स्विकार गरेका छन् । थापाले व्यक्तिगत इच्छाले मात्रै विकास नहुने वताए । सरकारी नितीगत झन्झट र मापदण्डका कारण ठेकेदारहरुलाई कस्न नसकिएकोले सडक  सुधार गर्न नसकिएको औंल्याए । 

वामगठवन्धनले एमालेबाट प्रवुद्ध व्यक्तिलाई थापाको चुनावी प्रतिद्धन्द्धी बनाएकोले थापालाई यसपटकको चुनाव चुनौतीपूर्ण हुने देखिएको छ । कुटनितीक क्षेत्रमा रहेका राजन भट्टराई नेपाल –भारत प्रवुद्ध समुहका सदस्य पनि हुन् । विदेश मामलाका जानकार भट्टराई एमाले विदेश विभागका सचिव हुन् भने एमाले नेता माधव नेपाल प्रधानमन्त्री भएको समयमा विदेश मामलाका सल्लाहकार थिए । 

निर्वाचनमा व्यक्तिगत प्रभाव र विगतको कार्यशैली पनि जनताले मुल्यांकन गर्ने हुनाले पुर्व स्वास्थ्य मन्त्री थापाले व्यक्तिगत मत र तटस्थ मत आफ्नो पक्षमा पार्न सक्नेछन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस क्षेत्र नम्वर ४ मा पछि परेपनि सरकारमा हुदाँ स्वास्थ्य क्षेत्रमा गरेका सुधारका कार्यले मतदाताको मन उनि तिर फर्कन पनि सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप