ad
x

बेचिएको मातृत्व

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

आज छोराको न्वारान गर्ने दिन । धार्मिक परम्पराअनुसार होमादि पूजासँगै चरेसको थालमा एक माना चामल र एक सय रूपैयाँ दक्षिणा राखिएको छ । सय रूपैयाँको नोटमाथि चाँदीको एउटा ढ्याक छ । पुरोहितले रातो चन्दनले पीपलको पातमा नाम लेख्ने तयारी गर्दै छन् । पुरोहितले पातमा केके लेख्दै बाबुलाई सोधे, “तपाईंको नाम ?”


बाबुले उत्तर दिए, “डा. रोचक ।”



पुरोहितले अर्को प्रश्न गरे, “अनि श्रीमतीको नाम नि ?”



“रचना ।”



पुरोहितले पात्रो पल्टाए । अर्को कागजमा केके लेखे र निष्कर्ष सुनाउँदै भने, “छोरा कुम्भ राशि, शतभिषा नक्षत्रमा जन्मिएकाले नाम सबाट राख्नुपर्ने देखियो ।”



अर्को कोठामा रहेकी रचनाले यो संवाद सुनिरहेकी थिई । उसले उतैबाट फ्याट्ट बोली, “त्यसो हो भने, छोराको नाम समिम हुने रहेछ ।”



बाबु रोचक र पुरोहितलाई पनि रचनाले सुझाएको नाम ठीकै लाग्यो । “नाम मन नपरेपछि अर्को नाम आफैं पनि राखिहाल्छन् के रे” भन्दै पुरोहितले पीपलको पातमा त्यही नाम लेखे अनि रचनालाई छोरा लिएर आउन आदेश दिए ।



दुई हातले शिशु च्यापेर रचना पूजा भइरहेको ठाउँ पुगी । तर उसको चालढालले ऊ आफैंलाई गिज्याइरहेको थियो । पुरोहितले नाम लेखेको पीपलको पातले नवजात शिशुको दाहिने कानमा छुँदै चाँदीको ढ्याकले चरेसको थालमा ट्याङट्याङ बजाउँदै नाम सुनाउँदै तीन पटक फुके । रचनाले “मेरो छोरो समिम” भन्दै छोरालाई चुप्पा खाई । 

म भने आमा बनेर नाम आफैं तोक्दै रचनाले हातमा लिँदा दुई कोठा पर बसेर टुलुटुलु हेर्न विवश भएँ । मन भक्कानियो । तर केही बोल्न सकिनँ । गहभरि आँसु आयो, ममता छचल्कियो । तर केही गर्न सक्ने अवस्थामा थिइनँ । एक मन त लाग्यो, “रचना ! यो छोरा तिम्रो हैन, मेरो हो” भनेर खोसेरै लिऊँ । तर त्यो सम्भव थिएन ।

हुन त छोरा जन्मिएकै दिन मैले त्यो छोरा जिम्मा लगाएर अस्पतालबाटै बाटो लाग्नुपर्ने थियो । सम्झौता पनि त्यस्तै थियो । तर सुत्केरीको पोषणयुक्त खुराककै लागि मलाई १५ दिन घरमै राखेर स्याहार गर्ने डा. रोचकको सदाशयले म फेरि यो घरमा फर्किएकी हँु । यो घर मेरा लागि नौलो पनि त होइन ।

१० महिनादेखि म यही घरमा छु । चार दिनपछि आफैंले जन्माएको छोरो सुम्पिएर आफ्नै घर जानुपर्नेछ । हुन त यो छोरो मेरो भन्ने अब मेरो मनमा मात्र छ । जन्मनुअघि र जन्मपछिका पनि सबै कागजमा उसकी आमाको नाममा रचना नै लेखिएको छ । अस्पतालले दिएको जन्म प्रमाणपत्रमा बाबुको डा. रोचक र आमाको नाम रचना नै लेखिएको छ ।

न्वारान सकियो । पुरोहित गए । आगन्तुक–आफन्त सबैका दृष्टिमा रचना आमा बनी । कानुनी रूपमा ऊ गर्भवती, सुत्केरी सबै भई । अस्पतालबाट छोरा घर ल्याउँदा पनि उसैले टाउकामा फेटा गुथेर र सुत्केरी हुँदाकी आमाले जस्तै कृत्रिम पाइला चाल्दै आफैं बच्चा च्यापेर आएकी हो । म भने डा. रोचकसँग सुटुक्क घरमा आएँ । उसले मलाई कोठाभित्र लुकाएर राख्यो । मैले मेरो वाचा पूरा गरेँ ।

म सुत्केरी भएको आज चौधौं दिन हो । रोचकका परिवारले दिएको माया, ममता र स्याहारबाट बिस्तारै तङ्गिँ्रदै छु म । यस घरमा आज मेरो अन्तिम रात हुनेछ । छोरालाई सदाका लागि रचनालाई नै जिम्मा लगाएर भोलिबाट यो घर छाडेर जानुपर्नेछ । आफूले नौ महिनासम्म पेटमा हुर्काएको सन्तान छाडेर जान मेरो मनले पनि सहजै कहाँ मानेको छ र ! तर छाड्नैपर्ने बाध्यता छ । सबै कुरा विस्मृतिमा राख्न खोज्छु । तर पनि एकपछि अर्का पत्र स्मृतिमा सलबलाउँछन् ।

मेरो पनि आफ्नै परिवार छ । श्रीमान्को शिक्षण पेसा । अस्थायी नै भए पनि जीविकोपार्जनको एउटा विकल्प थियो । जसोतसो घर चलेकै थियो । नजिकका छिमेकी हामी कलेज पनि सँगै पढ्यौं । एकले अर्कालाई मन पराउने अनि सामाजिक स्तर र जातसमेत मिल्ने भएपछि पारिवारिक सहमतिमै हामी वैवाहिक बन्धनमा बाँधियौं ।

घरमा वृद्ध सासूससुरा अनि हामी दुईको परिवार खुसी नै थियो । गरिब नियति नै भए पनि त्यति क्रूर थिएन । पढाइ सकेसँगै उनले जागिर पाएका थिए । उनको जागिर र म खाली भएपछि सन्तान प्राप्तिको योजना बनायौं ।

यस्तै अवस्थामा हाम्रो परिवारमाथि ठूलो वज्रपात भयो । अचानक उनी बिमारी परे । एकदुई दिन हल्का ज्वरो आयो । त्यसको केही दिनपछि पूरै शरीर सुन्निन थाल्यो । हतारहतार नजिकको अस्पताल पु¥याइयो ।

बिरामीहरूको अत्यासलाग्दो भीडबीच घण्टौंको लाममा बसेपछि मात्र बल्लतल्ल टिकट काटियो । एक जना डाक्टरले सयौं बिरामीलाई हेर्नुपर्ने । कहिले सुध्रिएला, स्वास्थ्य क्षेत्रको अवस्था ? मन आत्तिएको थियो । उता बिरामीको पीडा उस्तै ।

डाक्टरले जाँचे । अनि प्रेस्क्रिप्सनमा रगत परीक्षणदेखि एक्सरे, भिडियो एक्सरे आदि सबै लेखे । डाक्टरको सल्लाहअनुसार सबै जाँच भयो । रिपोर्ट देखाउन म डाक्टरकहाँ पुगेँ । रिपोर्ट हेरेरपछि डाक्टरले भने, “हेर्नुस् ! तपाईंका श्रीमान्को मिर्गाैलाले काम गरेको छैन । दुवै मिर्गाैला आउट अफ वर्क भइसके । फेर्नुको विकल्प छैन ।”

चिकित्सकका कुराले म छाँगाबाट खसे झैं भएँ । हातखुट्टा लर्बराए । आँखा तिर्मिराए । टेकेको जमिन भास्सिए जस्तो भयो । के गरौं, कसो गरौं भएँ । थचक्क भुइँमा बसेँ । म बेहोस भएछु । होसमा आउँदा मैले आफूलाई डाक्टरकै बिरामी हेर्ने कोठामा लडिरहेको पाएँ ।

घरको कमजोर आर्थिक अवस्था, त्यसमाथि वृद्ध सासूससुराको जिम्मेवारी अनि बिरामीको उपचार खर्च अब कसरी थेग्ने ? बिरामी भएपछि जागिरको पनि के ठेगान भयो र ! अस्थायी न हो । अब केले फेर्नु मिर्गौला ? सम्पूर्ण जिम्मेवारी मेरै काँधमा आयो । म साह्रै द्विविधामा परेँ । उपचार नगरौं, भरखरकै उमेरमा आँखैअगाडि यो दुर्दशा कसरी टुलुटुलु हेरेर बस्नु ! उपचार गर्न पैसाले धान्दैन । यत्रो खर्च कहाँबाट जुटाउनु र मैले ?

तत्काल उनलाई डायालसिस गरेर घर लगेँ । यसले केही दिन त ठीक बनायो । सामान्य समस्या बताएकी थिएँ । मैले सबै कुरा बताएर उनलाई थप दुःखको रोगी बनाउन चाहिनँ । बूढा भएका बाबुआमालाई बताएर पीडा किन दिनु, जे छ आफैं सहन्छु भन्ठानेँ ।

आफ्नो मिर्गौला मिले त हुन्थ्यो । नमिले फेरि कहाँ खोज्ने ? त्यति मात्र भएर कहाँ भयो र ! प्रत्यारोपणको खर्च कसरी जोहो गर्ने ? ममा बेचैनी बढ्यो । तर उनलाई जसरी पनि बचाउने अठोट गरेँ । त्यो कसरी गर्ने भन्नेमा मेरो दिमागमा केही कुरा सुझेको थिएन ।

श्रीमान्को उपचार खर्च जोहो गर्न धेरै आफन्त गुहारेँ । तर कसैबाट सहयोग पाउन सकिनँ । सम्पत्ति भएकै कति साथीभाइसँग अनुनयविनय गरेँ, सुनेनन् । हार खाएर घर फर्किएँ ।

एकातिर श्रीमान् मृत्युश®यामा छटपटिरहेका छन्, अर्कातिर वृद्ध सासूससुरा पाल्नुपर्ने अवस्था छ । धेरै पीडा भयो मलाई । आफूलाई यति कमजोर यसअघि कहिल्यै पाएकी थिइनँ ।

“कस्तो छ हाम्रो समाज ? के गरिबले आफ्नो जीवन बाँच्न नपाउने ?” यस्तैयस्तै धेरै प्रश्न उठे मनमा । र अनुत्तरित हुँदै त्यसै हराउँदै पनि गएँ ।

...

एक दिन एक्लै शिक्षण अस्पताल पुगेँ । श्रीमान्को मिर्गाैला कसरी फेर्न सकिन्छ भनेर चिकित्सकसँग सल्लाह गर्नु थियो । आफू मिर्गौला दान गर्न तयार भए पनि प्रत्यारोपण गराउने खर्च नभएको बताएँ । उनले प्रत्यारोपण गराउन कम्तीमा पनि १० लाख रूपैयाँ लाग्ने बताए । त्यति रकम जुटाउनु मबाट तत्काल सम्भव थिएन ।

“तपाईं श्रीमान्लाई साँच्चै बचाउन चाहनुहुन्छ ?” चिकित्सकले सोधे ।

मैले दृढ हुँदै भने, “हजुर डाक्साब ।”

“एउटा काम गर्नुभयो भने त्यो सम्भव देख्छु म ।”

“के डाक्साब ?” उत्साहसाथ सोधेँ ।

उनले अलि अप्ठ्यारो मान्दै भने, “तपाईंले आफ्नो कोख भाडामा लगाउनुपर्छ ।”

डाक्टरका कुरा मैले तत्काल बुझिनँ । “कोख भाडामा लाउनुपर्ने ! के हो यो भनेको ?” मेरो मनमा अनेक जिज्ञासा उठे । श्रीमान्को उपचार हुनेमा केही खुसी जागेको मन डाक्टरको प्रश्नले फेरि निराश बन्यो ।

मैले फेरि सोधेँ, “डाक्साब, कोख भाडामा लाउने भनेको के हो ?”

उनले सम्झाउँदै भने, “हेर्नुस् यो हाम्रो देशमा मात्र नौलो हो । अरू देशमा निकै प्रचलनमा छ । हाम्रोमा नभएर मात्रै नौलो लागेको हो । त्यो हो, अरूकै गर्भ बोकेर बच्चा जन्माएर उसैलाई छाडिदिने । चिकित्सकीय भाषामा यसलाई ‘सरोगेट मदर’ अर्थात् ‘भाडाकी आमा’ भनिन्छ । यसो ग¥यो भने तपाईंको समस्या सुल्झिन्छ !”

मलाई त्यो डाक्टरदेखि रिस उठ्यो । कति सजिला कुरा ! कुनै नारी आफ्नो अस्मिता त्यति सजिलै कसैलाई सुम्पन तयार कसरी हुन सक्छे ? कुरा ठाडै अस्वीकार गरेँ । हुन त अस्वीकृति मेरो समस्याको समाधान थिएन । डाक्टर अलिकति हच्किए पनि । वातावरणलाई सहज बनाउने प्रयास गर्दै उनले भने, “तपाईंको समस्याका लागि एक उपाय बताएको मात्र ।”

मलार्ई केही जवाफ आएन । म बाहिरिएँ । घर कसरी आइपुगेँ, पत्तो भएन । सोचेँ, श्रीमान्लाई बचाउने उपाय के त ? तत्कालै यति ठूलो रकम कसरी जुटाउने ? कुनै उपाय पनि त छैन ।

साँझ खाना खाई सुत्ने बेलामा फेरि सोचेँ— हाम्रो समाजमा चिकित्सकले भने जस्तै अर्कैको गर्भ बोकेर सन्तान दिने काम सम्भव छ र ? मेरो परिवारले यो कुरा सुन्यो भने ? एक स्वाभिमानी श्रीमान्ले यस्तो कुरा कसरी स्विकार्न सक्लान् ?

बिछ्यौनामा पल्टिएँ । अर्को बिछ्यौनामा श्रीमान् सुतिरहेका थिए । निरीह प्राणी जस्तै लाचार थिए उनी ! युद्ध हारेर पराइको छाउनीमा बन्धक सिपाही जस्तै देखिएका थिए । औषधि र पेनकिलरले कतिन्जेल धान्न सक्थ्यो र उनलाई । पूरै शरीर सुन्निएको थियो ।

कति मायालु छन् उनी । अबोधपन डुलिरहेको छ उनको अनुहारमा केटाकेटीको जस्तै । मलाई उनको सबैभन्दा मनपर्ने विषय नै त्यही स्वाभिमान हो । तर आज उनको त्यही स्वाभिमानले किन उनलाई नै गिज्याइरहेको छ । त्यो पनि पराजयको अन्तिम बिन्दुबाट ।

“अहँ, म उनको हारको कारक बन्न चाहन्नँ । बरू मृत्यु स्वीकार गर्छु । के यसबाट उनले जित्लान् ! कदापि जित्दैनन् । बरू बेच एक गर्भ । गर्भ बेचेर उनको जीवन रक्षा हुन्छ भने । खनौंला नयाँ बाटा । पदयात्राका लागि उनी सबल बन्छन् भने बाटोको के फिक्री रह्यो र !”

म अन्तद्र्वन्द्वमा पिरोलिइरहेँ ।

रक्तअल्पताले सिकिस्त हुँदा रगत दिएर बचाउने पनि त उनी नै हुन् । आखिर हाम्रो सामीप्यताको क्षण पनि यही हो । उनको अनुहारले यति बेला जीवनरक्षाको याचना गरिरहेको छ । मैले अठोट गरेँ— मैले मेरो सिन्दूरको रक्षाका लागि एउटा युद्ध हारेर भए पनि अर्को युद्ध जित्नुपर्छ ।

जुनसुकै अवस्था सहेर भए पनि मेरो श्रीमान्को जीवनरक्षा गर्ने निधो मैले गरेँ । डाक्टर आफ्नै चेम्बरमा बसिरहेका थिए । उनलाई भेट्न म त्यहीँ पुगेँ ।

डा. श्रीवका कुरा केही नसुनी मैले नै पहिला भने, “डाक्साब, तपाईंले भनेको प्रस्ताव एउटा सर्तमा स्वीकार्य छ ।”

“के सर्त ?”

मैले आँखा चिम्लिएर सुनाएँ, “पहिला उपचार अनि मात्र मेरो कोख बन्धकी !”

डाक्टरले निर्णय सुनाएनन्, आश्वासन दिए, “ए ! ल म कुरा गरेर तपाईंलाई खबर गरूँला ।”

अर्को दिन डा. श्रीवको फोन आयो । उनले भेट्न बोलाए । म उनको क्लिनिकमा गएँ । उनले कोख भाडामा लिने पुरूषबारे पनि बताए । उनी डा. रोचक रहेछन् । उनी शिक्षण अस्पतालका स्त्रीरोग विशेषज्ञ रहेछन् ।

डा. रोचकको परिवारमा सबै सुख रहेछ । कैयौं निःसन्तान दम्पतीलाई सन्तानको सुख प्राप्तिका लागि उनको उपचार विधि सफल बनेको रहेछ । तर आफ्नै दाम्पत्य जीवनमा उनले सन्तान सुख दिन सकेका रहेनछन् । उनी आफूले सिके–जानेका सबै विधि र पद्धति अपनाए पनि सफल भएका रहेनछन् ।

कुनै उपाय बाँकी नरहेपछि कोख भाडामा लिन उनीहरू अघि बढेका रहेछन् ।

डा. श्रीवले मलाई आश्वासन दिलाउँदै भने, “तपाईंको सानो सहयोगले उहाँको पनि सन्तानको रहर पूरा हुने अनि बाबु बन्ने सपना साकार बन्न सक्छ । तपाईंको उपचार खर्चको पनि तपाईंले केही चिन्ता लिनुपर्दैन ।”

डाक्टर श्रीवको कुरा सुनेपछि केही नबोले पनि मैले नचाहेरै ओठे हाँसो हाँसिदिएँ । त्यो म अहिले पनि सम्झिरहेकी छु ।

त्यसपछि डा. श्रीवले मेरो भेट डा. रोचकसँग गराए । डा. रोचकले कोख भाडामा दिने दुई तरिका बताए । उनले भने, “पहिलो फिजिकल रिलेसनबाटै, दोस्रो चिकित्सकीय विज्ञानबाट । त्यो कुन प्रक्रिया अपनाउने, त्यो हामी आपसी समझदारीबाट अपनाउन सक्छौं ।”

मैले केही भन्न नपाउँदै उनले थपे, “तर पनि पहिलो विधि नै सजिलो र दुवैका लागि उपयुक्त हुन्छ । त्यसका लागि जसको बच्चा जन्माउने हो, उसैसँग बस्नुपर्छ ।”

चिकित्सकहरूसँगको यो संवादपछि पहिला श्रीमान्को मिर्गाैला प्रत्यारोपण गराउन आवश्यक सबै आर्थिक सहयोग गर्न डा. रोचक तयार भएको जनाउ दिए । म पनि मिर्गाैला प्रत्यारोपणको एक महिनापछि उनैको घरमा बसेर उनको सन्तान जन्माउन तयार भएँ ।

श्रीमान्को मिर्गाैला प्रत्यारोपण पूरा भयो । खर्चको कुनै चिन्ता भएन । डा. रोचकले सर्तअनुसारै गरे । मिर्गौला मेरी नन्दले दिइन् । यसमा म धेरै खुसी भएँ । हर्षका आँसु बगे ।

मलाई भने कुन बहाना बनाएर घरबाट एक वर्षका लागि बाहिर बस्ने हो भन्ने कुराले सतायो । मैले श्रीमान्लाई भने, “तपाईंको मिर्गाैला फेर्दा धेरै खर्च भएको छ । डेढदुई वर्षका लागि विदेश जान्छु ।”

सुरुमा त उनले मानेनन् । नमान्नुमा उनको कुनै स्वार्थ थिएन, थियो त केवल मप्रतिको माया । सधैं माया कहाँ टिकिरहन सक्छ र ? बाध्यता अनि जीवन भोगाइका अनगन्ती पीडाले मानवलाई लखेटिरहेका हुन्छन् । अझ निम्नमध्यमवर्गीय जीवन भोगाइमा पाइने दुःखको हिसाब गरीसाध्य नै कहाँ छ र ! परिवारको ऋण, जीविकोपार्जनका भावी दिन, बाध्यताले नै जन्माएका मेरा कर र उपचारको कहरले उनको अडानलाई लामो समय टिक्न दिएन । विदेश जाने बहानामा म घर छाडेर डा. रोचककहाँ पुगेँ । उनले आफ्नो श्रीमती रचनासँग परिचय गराए । 

आफैं डाक्टर भएकाले पनि मेरो महिनावारीदेखि सबै विषय उनले बुझेका थिए । महिनावारीको १०औं दिन थियो । नियमित महिनावारी भएको १०औं दिनदेखि २१औं दिनभित्रको सहवासले नै गर्भ रहने बढी सम्भावना रहने विश्वास गरिन्छ ।

साँझको खाना खाएपछि हामी सुत्ने तयारी गर्दै थियौं । रोचकको घरमा बेडरूम सजिसजाउ थियो । विदेशी अत्तरहरूले कोठा मगमगाएको थियो । कोठाको सजिसजाउ भन्नै परेन । तर मलाई यो सबै फिक्का लागिरहेको थियो ।

“नारीहरू आफ्नो अस्मितामाथि कहिल्यै जोखिम उठाउन चाहन्नन् । आखिर म पनि त एक नारी नै हुँ । नेपाली समुदायमा परपुरूषसँग एउटै ओछ्यान बाँड्नु हरेक पतिमाथिको धोका हो । म आफ्नै पतिलाई धोका त दिँदै छैन ? तर यहाँ अस्तित्वको विषय मात्र थिएन, पतिको जीवनरक्षाका लागि म यो सब गरिरहेकी थिएँ । अनि कसरी धोका हुन सक्छ ?” त्यस समय यी सब कुरा मेरो मनमा खेलेकै हुन् ।

रोचककी पत्नी रचना आफ्नो कोठमा छाडेर अर्कोमा गई । त्यहाँ डा. रोचक र म मात्रै बाँकी रह्यौं । अरुलाई सन्तान दिने नाममा मैले आफ्नै अस्मिताको बली दिँदै थिएँ ।

सम्झिएँ, आफ्ना श्रीमान्सँग बिहे गरेर आएको सुहागरात । त्यसपछिका सहवास गर्दाका दिन कति रमाइला थिए । यो हजारौं मूल्य पर्ने पफ्र्युमभन्दा कति गुणा बढी सुगन्ध थियो, त्यो पलमा । उनीप्रति मेरो विश्वास र भरोसा थियो । माया थियो । तर यो सम्बन्धमा कुनै रस थिएन । पीडा थियो । तर बाध्य थिएँ म । यही पीडाबीच हाम्रो सम्बन्ध एक सातासम्म चलिरह्यो । 

रुटिनमै सहवास भएका कारण होला, सजिलै मेरो गर्भ रह्यो । मेरो खिन्नताकै बीच त्यो परिवारमा खुसी छायो । गर्भवती भएर बस्दा पनि मलाई त्यो घरमा खाने कुराको केही अभाव थिएन । सोधेरै मन लागेको खाने कुरा खान दिइरहन्थे । फलफूल, माछामासु, अन्डा नियमित थिए । तर त्यहाँ खाएको चौरासी व्यञ्जनभन्दा मलाई खुसीसाथ श्रीमान्सँग खाएको ढिँडो र गुन्दु्रक नै मीठो लाग्थ्यो । निःस्वार्थ माया थियो त्यहाँ ।

गर्भमास पुग्यो । छोरो जन्मियो । परिवारमा खुसी छायो । म पनि आमा बनेँ । असली आमा ! तर सबका अगाडि सक्कली आमाको कुनै मूल्य थिएन । मेरो मातृत्वको यहाँ कुनै अर्थ थिएन । बाँचेर पनि मेरो मातृवात्सल्य मेरै सामुन्ने मृत घोषित हुँदै गरेको म राम्ररी बुझ्थेँ ।

कोठाको ढोका घरक्क उघारियो । म झसङ्ग भएँ । रातको साढे नौ बजेको रहेछ । रचनाले हातमा दूध लिएर आएकी रहिछ । उसले मलाई गर्भवती भएदेखि नै स्याहार गर्दै आएकी छे । उसको पनि बाध्यता छ, अरुले देख्ने गरी आफू नै सुत्केरी हुँ भन्ने देखाउनु छ । अरु बेला मसँगै हुन्छे । मेरो स्याहारमै दिन कटाउँछे । अहिले त झन् छोरा जन्मिएपछि उसैको स्याहारसुसार अनि दूध खुवाउनेमै फुर्सद छैन उसको ।

ऊ कोठाबाट निस्किएपछि म दूध खाएर कोठामै पल्टिएँ । अनि भोलि त यो घर अनि आफैंले जन्माएको छोरो छाडेर जानु छ भन्ने सम्झिएर मन नमीठोसँग पिरोलियो । अनि श्रीमान्, सासूससुराको अवस्था कस्तो होला ? विभिन्न कल्पनामा पिल्सिएँ । 

हुन त उनीहरूसँग पनि कहिलेकाहीँ फेसबुक म्यासेन्जरबाट कुरा भइरहेकै हो । फोनबाट पो गर्न नमिलेको त । उनीहरूका लागि त म वैदेशिक रोजगारीमा छु । भोलि त भेट भइहाल्छ । अरुभन्दा पनि मैले नौ महिना गर्भमा बोकेर जन्माएको मेरै मुटुको टुक्रालाई कसरी छाडेर जान सकुँला, यही सोचेर भक्कानिएँ ।

आमाको ममता न हो । आँसुले सिरानी भिज्यो । तैपनि सत्य कुरा आफ्नै छोरा छाडेर जान बाध्य थिएँ । अमिलो मन हुँदै गर्दा, भोलि छोरा छाडेर जानुपर्ने पीडाले छटपटाउँदा छटपटाउँदै राति कतिखेर निदाएछु, मलाई नै थाहा भएन । 

सपना देखेँ, आफ्नै श्रीमान् घरमा आफूलाई कुरेर बसिरहेका । भन्दै थिए, “तिमी आउँछ्यौ अनि छोराछोरी जन्माउँला । बाआमा पनि तिम्रै प्रतीक्षामा हुनुहुन्छ । आऊ छिटो आऊ ।” उनले यस्तो भन्दाभन्दै म झल्याँस्स ब्यँुझिएछु । भित्ताको घडी हेर्दा बिहानको सात बजिसकेको रहेछ ।

डा. रोचक गाडीको हर्न बजाउँदै भन्दै थिए, “छिटो गर, म तिमीलाई छाडिदिएर क्लिनिक जान्छु ।”

(पराजुलीको मोम्चो कथा सङ्ग्रहबाट ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X